बल्ल पुग्यो निर्वाचन सामग्री



रविन भट्टराई, ताप्लेजुङ
आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने मतदाता शिक्षा सामग्री सोमबारमात्र ताप्लेजुङ आइपुगेको छ।
मदतान गर्ने समय नजिकिई सक्दा हिमाली जिल्ला ताप्लेजुङमा सोमबार मात्र मतदाता शिक्षा सामग्री आइपुगेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ।

जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले मतदाता शिक्षामा प्रयोग हुने सामग्री आइपुगेकाले अब मंगलबारबाट नै मतदाता शिक्षा अभियान शुरू हुने जानकारी दिनुभयो। ठाकुरका अनुसार तत्कालका लागि फुङ्लिङ नगरपालिकामा मतदाता शिक्षा कार्यक्रम शुरू हुनेछ।

ढिला गरी मात्र मतदाता शिक्षा सामग्री आइपुगेकाले अबको १७⁄१८ दिनमा ताप्लेजुङको गाउँ–गाउँसम्म पुगेर मतदाता शिक्षा दिन समस्या हुने देखिएको उहाँले बताउनुभयो। १ सय १४ मतदान केन्द्र रहेको ताप्लेजुङमा मतदान केन्द्रबराबर नै मतादाता शिक्षा कार्यकर्ता परिचालन गरिने भएको छ। ठाकुरका अनुसार मतदाता शिक्षा कार्यकर्ताले खटिएका मतदान केन्द्रभरिका मतदाताकहाँ पुगेर मतदान गर्ने तरिकाबारे जानकारी गराउने छन्। ती कार्यकर्ताले मतदानका लागि मतदातालाई उत्प्रेरितसमेत गर्ने जिम्मेवारी पाएका छन्।

जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकामा कार्यरत सामाजिक परिचालक, कम्तीमा एसएलसी वा एसईई तह उत्तीर्ण महिला स्वास्थ्य स्वयंसेविका र सामुदायिक विद्यालयमा कार्यरत ४५ वर्ष ननाघेका शिक्षक⁄शिक्षिकालाई मतदाता शिक्षा कार्यकर्ताकारूपमाा परिचालन गर्ने निर्वाचन कार्यालयको तयारी रहेको छ। नगरपालिकासहित ९ स्थानीय तह रहेको ताप्लेजुङमा ७८ हजार ३९७ मतदाता रहेका छन्। यो गत असार १४ गते सम्पन्न स्थानीय तहमा कायम रहेको मतदाता संख्याभन्दा ७ हजार ६१९ ले बढी हो।

स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षाका लागि १ सय ९ जनशक्ति परिचालित थिए। २०५८ को जनगणना अनुसार यहाँको जनसंख्या १ लाख २७ हजार ४६१ रहेको छ। गएको स्थानीय तहको निर्वाचनमा औठा छाप लगाइएको, मतपत्र खाली भएको, आवश्यकताभन्दा बढी चिह्नमा स्वस्तिक छाप लगाएको, मतपत्रमा बढी मसी भई लत्पत्तिएर स्वस्तिक छाप नबुझिएको, कुनै मत पत्रमा मसी कम भई स्वस्तिक छाप नचिनिएको, मतपत्र पट्याउँदा अर्को चिह्नमा स्वस्तिक छाप पर्न गई दोहोरो चिह्नमा स्वस्तिक छाप लाग्न पुगेको तथा मतपत्रमा भएका चिह्नभन्दा फरक ठाउँमा स्वस्तिक छाप लागेका कारण मत बदर भएको तथ्य निर्वाचन कार्यालयले औंल्याएको थियो। जिल्ला निर्वाचन अधिकारी ठाकुरले अघिल्लो निर्वाचनबाट पाएको अनुभव समेतलाई आधार मानेर मतदाता शिक्षा प्रभावकारी बनाउने कार्यालयको तयारी सुनाए।

मतदाता शिक्षा प्रभावकारी बनाउने हो भने मतदाताले दिएको मतको सही सदुपयोग हुने तथा मतदानका लागि मतदाता उत्प्रेरित भई मतदानमा सक्रिय सहभागी हुने भएकाले मतदाता शिक्षालाई निर्वाचन कार्यालयले सबैभन्दा उच्च कोटीको क्रियाकलापभित्र समेटेको छ।

प्रतिक्रिया दिनुहोस्