बाजी मार्ने दौड



 

कुमार श्रेष्ठ, बाँके

निर्वाचन सर्छ कि भन्ने थोरै आशंकामा रहेका दलहरू उम्मेदवारी दर्तापछि ढुक्क छन्। १६ गते तामझामका साथ उम्मेदवारी दर्ता गरेपछि पार्टी तथा उम्मेदवारहरू बाजी मार्न अगाडि बढेका छन्। यतिबेला चुनावी रणनीति बनाउन नेताहरू व्यस्त छन्।

पार्टीगत रूपमा चुनाव लड्दै आएका नेताहरू यसपटक गठबन्धन बनाएर अगाडि बढ्दा भिडन्त अझ रोचक बनेको छ। एमाले र माओवादी केन्द्रको वाम गठबन्धन मात्रै होइन, बाँकेका कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धन पनि बनेको छ। गठबन्धनहरूले आ–आफ्नो दाबी गरिरहँदा नेपालगन्ज क्षेत्रमा संघीय समाजवादी फोरमको उपस्थिति पनि कमजोर छैन।

बाँकेमा तीन वटा निर्वाचन क्षेत्र छन्। एउटा क्षेत्रमा दुई गरी प्रदेशसभामा ६ वटा सिट छन्। नौ सिटका लागि १ सय १२ जनाले आँखा लगाएका छन्। पार्टीका आधिकारिक उम्मेदवार त हुने नै भए, वागीले समेत माननीय र विधेयकको सपना देखेका छन्।
बाँकेको कुन क्षेत्रमा को बलियो छ त ? २०७० या २०७४ असारको स्थानीय निकायको मतलाई नियाल्नु जरुरी हुन्छ। २०७० मा पुग्दा तीन क्षेत्र एमाले र एउटा क्षेत्र कांग्रेसले जितेको थियो। स्थानीय निकायको चुनावमा आइपुग्दा जिल्लामा आठ तह बने। त्यसमा चार वटा एमाले, दुई वटा कांग्रेस र एक⁄एक वटा राप्रपा र संघीय समाजवादी फोरमले जिते। अझ मसिनो तरिकाले हेर्ने हो भने गाउँपालिका जितेको भन्दा पनि मत कति आयो भन्ने हेर्नुपर्ने हुन्छ। क्षेत्रगत रूपमा मतको अवस्था हेर्दा वाम र लोकतान्त्रिक गठबन्धनका बीचमा नै प्रतिस्पर्धा देखिन्छ। क्षेत्र नं. २ मा फोरमको उपस्थिति पनि राम्रै देखिएको छ।

क्षेत्र नं. १ मा वाम गठबन्धन र कांग्रेसका बीचमा मुख्य रूपमा प्रतिस्पर्धा रहेको छ। कोहलपुर नगरपालिका, राप्तीसोनारी र नरैनापुर गाउँपालिका यो क्षेत्रमा पर्छन्। ९८ हजार ३ सय २० जना मतदाता रहेको यहाँ दुवैका बीचमा प्रतिस्पर्धा नै रहेको छ। पहाडी, थारु र मधेसी–मुस्लिमको बसोबास रहेको क्षेत्र नं. १ मा दुवै उम्मेदवार पहाडी समुदायका छन्।

वाम गठबन्धनबाट महेश्वर गहतराज ‘अथक’ र कांग्रेसले माधवराम खत्रीलाई अगाडि सारेको छ। दुवै जना कोहलपुर आसपासमा बसोबास गर्छन्। स्थानीय निकायमा कोहलपुर नगरपालिका एमाले, राप्तीसोनारी गाउँपालिका कांग्रेस र नरैनापुरमा फोरमले जितेको थियो। समग्र मतमा वामगठबन्धन अलिकति अघि देखिए पनि वागी उम्मेदवार, टिकट नपाएर पदबाट राजीनामा दिएका नेतालाई दुवै उम्मेदवारले कसरी समेट्छन् त्यो चासोको विषय बनेको छ। वाम गठबन्धनमा फत्तेपुरका अमर खड्काले वागी उम्मेदवारी दिंदा कांग्रेसका कोहलपुर नगर सभापतिले असन्तुष्ट हुँदै पदबाट राजीनामा दिएका छन्।

यो क्षेत्रमा थारुको बाहुल्य अलि बढी छ। बैजापुर, विनौना, फत्तेपुर र कोहलपुर केही ठाउँमा थारुको बसोबास बाक्लो रहेको छ। थारु उम्मेदवार दुवैतिर प्रदेशमा समेत छैनन्। दलहरूले यो समुदायलाई विश्वासमा लिन जरुरी देखिन्छ। वाम गठबन्धनबाट यो क्षेत्रको प्रदेश ‘क’ मा कृष्णा केसी ‘नमूना’ र प्रदेश ‘ख’ मा आरती पौडेल उम्मेदवार छन्। कांग्रेसबाट ‘क’ मा शरदचन्द्र बर्मा र ‘ख’ मा नारायण गौडेल रहेका छन्। नरैनापुर गाउँपालिकाको मतले यहाँको परिणाममा हेरफेर गर्न सक्छ। जहाँ फोरम बलियो रहेको छ।

क्षेत्र नं. २ मा देशभरकै नजर रहेको छ। बाचुञ्जेल कांग्रेसका नेता सुशील कोइरालाले चुनाव लडेको यो क्षेत्र अहिले कांग्रेस–राप्रपाको गठबन्धन बन्दा राप्रपाको भागमा परेको छ। कांग्रेस–राप्रपाबाट ओमप्रकाश आजादले उम्मेदवारी दर्ता गराएका छन्। वाम गठबन्धनबाट पशुपतिदयाल मिश्र र फोरमबाट इस्तियाक राई मुख्य प्रतिस्पर्धामा रहेका छन्। कांग्रेसको राम्रो पकड भनिए पनि स्थानीय निकायको चुनावमा नेपालगन्जमा राप्रपाले मेयर जितेको छ। उम्मेदवार छनोटमा भएका तिक्तताले मत परिणाममा असर पार्ने गर्दछ।

नेपालगन्ज बजार समेटिएको क्षेत्र नं. २ मा ८२ हजार ९ सय ४९ मतदाता रहेका छन्। नेपालगन्ज उपमहानगरपालिकाका २३ मध्ये २१ वडा र डुडुवा गाउँपालिका यो क्षेत्रमा पर्दछ। २०७० को चुनावमा नेपालगन्जबाट कांग्रेसका सभापति सुशील कोइरालाले चुनाव जितेका थिए। त्यतिबेला निकटतम प्रतिद्वन्द्वी रहेका राप्रपाका धवल शमशेर राणा यति मेयर बनेका छन्। डुडुवा गाउँपालिका कांग्रेसले जितेको छ।

स्थानीय निकायको मत परिणामलाई हेर्दा यहाँ कांग्रेस–राप्रपाको गठबन्धन अलिकति बलियो देखिन्छ। एमाले र माओवादीको वाम गठबन्धन र फोरम पनि यहाँ कमजोर छैन। पार्टीको विश्वासिलो र जनताको माझमा भिजेका उम्मेदवारको प्रभावले यहाँ काम गर्ने विश्लेषण गरिएको छ। यो क्षेत्रमा मधेसी–मुस्लिमको बलियो उपस्थिति रहेको छ। पहाडी समुदायको बसोबास पनि रहेको छ।

कोइरालाकै पहिचान मेटिने गरी राप्रपालाई ठाउँ छोडिएको केही कांग्रेसको आक्रोश रहेको छ। यसलाई मिलाउनु गठबन्धनलाई चुनौती रहेको छ।वाम गठबन्धनमा माओवादीका केही नेताले मिश्रप्रति दयाभाव देखाएका छैनन्। पूर्वमन्त्री राई आफ्नै हिसाबले अघि बढेका छन्। राजपासँग गठबन्धन हुन नसक्नु उनका लागि चुनौती रहेको छ। राजपाबाट उम्मेदवारी दिएका पूर्व मेयर एवं वरिष्ठ अधिवक्ता विजय गुप्तले पनि बजार क्षेत्रमा केही प्रभाव पार्ने छन्।

क्षेत्र नं. २ को प्रदेशसभाका लागि कांग्रेसले ‘क’ मा निरञ्जन सिजापति र ‘ख’ मा सुरेन्द्र हमाल, वाम गठबन्धनबाट ‘क’ मा कामताप्रसाद खटिक र ‘ख’ मा विजय गुप्ता, फोरमबाट ‘क’ मा विजयबहादुर यादव, ‘ख’ बाट दुर्गेश गुप्ताको उम्मेदवारी रहेको छ। मधेसी समुदायको बाहुल्य रहेको ठाउँमा भएकाले उम्मेदवारी त्यस्तै परेको छ।

क्षेत्र नं. ३ मा पनि वाम गठबन्धन र कांग्रेसका बीचमा प्रतिस्पर्धा रहेको छ। वाम गठबन्धनका तर्फबाट एमालेका पुराना नेता नन्दलाल रोकाय र कांग्रेसबाट निवर्तमान सांसद बादसाह कुर्मीको उम्मेदवारी परेको छ। ९५ हजार ४ सय ४९ जना मतदाता रहेको यो क्षेत्रमा बैजनाथ, खजुरा, जानकी र नेपालगन्जका १६ र १७ नम्बर वडा पर्छन्। स्थानीय निकायको चुनावमा तिनै वटा गाउँपालिका एमाले जितेको थियो। २०७० को चुनावमा पनि एमालेले यो ठाउँमा जितेको थियो। जिल्लामा एमालेको राम्रो पकड भएको ठाउँ यसैलाई मानिन्छ।

यो क्षेत्रमा वाम गठबन्धनको राम्रो पकड हुँदाहुँदै पनि साविकका आधा दर्जनबढी गाविसमा मधेसी समुदायको राम्रो उपस्थिति रहेको छ। ती ठाउँमा कुर्मीले राम्रो मत ल्याउने आकलन गरिएको छ।
सांसद हुँदा कुर्मीले आफ्नो ठाउँमा राम्रै गरेको स्थानीयहरू बताउँछन्। वाम गठबन्धनमा भने पार्टीलाई वार्षिक लेबी तिर्ने सदस्य नै बढी रहेकाले यो ठाउँ सुरक्षित रहेको आकलन रहेको छ।

यो क्षेत्रको प्रदेशमा वाम गठबन्धनबाट ‘क’ मा इन्द्रप्रसाद खरेल (आईपी) र ‘ख’ मा पुराना वामपन्थी नेता बाबुराम गौतम, कांग्रेसबाट ‘क’ मा चन्तराम थारु र ‘ख’ बाट लक्ष्मीनारायण शाहले उम्मेदवारी दर्ता गरेका छन्।

बाँकेमा थोरै–थोरै मतमा प्रभाव पार्न सक्ने थुप्रै साना पार्टी तथा उम्मेदवारहरू रहेका छन्। प्रतिस्पर्धी पार्टीहरूले उनीहरूलाई कसरी लिन्छन्, त्यसले पनि केही प्रभाव पार्ने देखिन्छ। उम्मेदवारी दर्ता पछि चुनावी योजना बनाउने अभियानमा लागेका दलहरू गठबन्धनमा एक अर्काप्रति विश्वासिलो हुने प्रयासमा छन्। संयुक्त चुनावी सभादेखि असन्तुष्ट रहेका नेता तथा कार्यकर्तालाई फकाउने काम शुरु भइसकेको छ।

गठबन्धनमा उम्मेदवार बनेका भन्दा फरक पार्टीका नेतालाई चुनावी कमान्डर बनाएर अघि बढ्ने कोसिस भइरहेको छ। वाम गठबन्धनमात्रै होइन, लोकतान्त्रिक गठबन्धनमा पनि त्यसको गृहकार्य भएको छ। झुन्ड–झुन्डदेखि गाउँघरमा प्रभाव पार्ने व्यक्तिहरू सबै उम्मेदवारको टारगेटमा रहेका छन्। प्रत्यक्षमात्रै होइन, समानुपातिकको लिस्टमा परेका उम्मेदवारको रौनक आफ्नै किसिमको रहेको छ।

अनौठा उम्मेदवार
‘भोट देऊ वा नदेऊ तुहार मर्जी, हमार नाम हो– लिलौं दर्जी’ यो नारा २०५१ को संसदीय चुनावमा खुब चर्चामा रह्यो। अहिले पनि लिलौं दर्जी भन्ने बित्तिकै नेपालगन्जका अधबैंसेदेखि बूढापाकाले त्यही नारा सम्झिन्छन्।

नेपालगन्ज–४, सल्यानीबागका ६८ वर्षीय लिलौं दर्जीले क्षेत्र नं. २ को प्रदेश ‘ख’ अर्थात नेपालगन्ज बजार क्षेत्रबाट उम्मेदवारी दर्ता गरेपछि पुरानो नारा फेरि ताजा भएको छ। साढे १० बजे नै निर्वाचन अधिकृतको कार्यालय पुगेर दोस्रो नम्बरमा उम्मेदवारी दर्ता गरेका दर्जीको विश्वास छ, ‘२२⁄२३ वर्ष अघिको मेरो नारा कण्ठ गरेका नेपालगन्जवासीले यसपाली मलाई भोट दिन्छन्।’

२०५१ र २०५६ सालमा दर्जीले नेपालगन्जबाट उम्मेदवारी दर्ता गराएका थिए। दुवै पटक स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता थियो। संविधानसभा र स्थानीय निकायको निर्वाचनलाई छोडेका दर्जीले फेरि माननीयको चुनावमा उम्मेदवारी दिएका छन्। दर्जीको यसपालिको उम्मेदवारी भने स्वतन्त्र छैन। सुभाषराज काफ्लेले नेतृत्व गरेको जनसमाजवादी पार्टीबाट दर्जीको उम्मेदवारी परेको छ। ‘यसपालि पनि स्वतन्त्रबाटै उम्मेदवारी दिने सोचेका थिएँ, जनसमाजवादी पार्टीबाट देऊ भनेपछि त्यहीबाट दिएँ’ –दर्जीले भन्नुभयो।

दर्जीले यसअघिका दुई निर्वाचनमा तराजु र रिक्सा चुनाव पाएका थिए। झन्डै २० वर्षपछि फेरि चुनावी मैदानमा आएका दर्जीलाई यसपालि भने रामै्र मत पाउने आशा छ। ‘बजारका सबै मान्छेले मलाई चिन्छन्, ठूला पार्टीको तानातानमा मैले जितिहाल्छु कि ?, दर्जीले भन्नुभयो।
हुन त दर्जीलाई यसअघिका निर्वाचनमा कति मत आयो भन्ने नै यकिन छैन। ‘उम्मेदवारी दिएँ, को–कोले कति मत दिए थाहा छैन, मत गणना हुँदा म घरमै बसेको थिएँ’, दर्जीले थप्नुभयो– ‘जित्ने अवस्था थिएन। त्यही भएर मत सुन्न गइनँ।’

बाँकेको साविकको बेलहरी गाविसमासमेत घर रहेका दर्जीलाई चुनावमा उम्मेदवारी बन्ने इच्छा त्यसै पलाएको होइन। ठूला भनाउँदा र २२⁄२३ वर्षअघि चुनाव जितेका नेताहरूले गर्दा नै दर्जीलाई जोस पलाएको हो। बाँकेका ठूल्ठूला नेताहरू बेलहरीतिर चुनाव प्रचारप्रसारमा जाँदा दर्जीकै घरमा खाना खान्थे। ४०⁄५० जनासम्मलाई दर्जीका परिवारले खाना खुवाए। दर्जीका जेठा छोराले +२ पास गरेपछि शिक्षकका जागिर लगाइदिन खुब अनुरोध गरियो। एक दिन नेताहरूले शिक्षा कार्यालयमा दर्जीलाई बोलाए। त्यहाँ आधा दर्जन नेता तथा कार्यकर्ता थिए। छोराले जागिर पाउने आशामा दर्जीले सबैलाई जेलेबी र चिया नास्ता खुवाए। अन्त्यमा १ जना नेताले ४ हजार रुपियाँ दिएपछि तपाईंको छोराले जागिर पाउँछ भने। नेताहरूलाई त्यत्रो सहयोग गर्दा ४ हजार रुपियाँ दिएपछि दर्जीलाई रिस उठ्यो, विचार गर्छु भनेर त्यहाँबाट हिँडे। चुनावकै साल परेको थियो। दर्जीलाई रिस उठ्यो, ४ हजार नै धरौटी राखेर दर्जी चुनावमा होमिए।

दर्जीले अहिलेसम्म चुनाव लड्दा कसैसँग आर्थिक सहयोग मागेका छैनन्। जडीबुटीका औषधि बनाउने दर्जीलाई खाना लाउनको लागि ठूलो समस्या छैन। विगतमा चुनावमा १०⁄१५ हजार खर्च गरेका दर्जीको यसपालि उम्मेदवारी दर्ता गर्दा नै १० हजार गइसकेको छ। ‘कसैले सहयोग गरेको होइन, मैले नै घरबाट हालेको हुँ’ –दर्जीले भन्नुभयो। फेरि उम्मेदवारी दर्ता गरेकोमा छरछिमेकी, चिनेका व्यक्तिहरूले दर्जीलाई जिस्क्याउन थालेका छन्। जिस्क्याए पनि भोट दिनेमा दर्जी विश्वस्त छन्। ‘जित–हार फरक कुरा हो, कम्तीमा बजारमा मेरो बारेमा चर्चा त भएको छ’, दर्जीले भन्नुभयो– ‘दैवको भरोसा जित्न पनि सक्छु।’
मुस्लिम भए पनि हिन्दुका चार वेदका ज्ञाता रहेका दर्जीले क्यान्सरसम्म ठीक पारेको दाबी गर्नुभयो। ‘मैले जडीबुटीबाट औषधि बनाएर धेरैको क्यान्सरसम्म ठीक पारेको छु, अरु साना रोगहरू त त्यसै निको पारिदिन्छु, ठूल्ठूला पदमा रहेका व्यक्तिहरू मकहाँ औषधि गर्न आउँछन्’, दर्जीले भन्नुभयो– ‘सेवा लिएका सबैले मत दिए धेरै हुन्छ।’

असारमा स्थानीय निकायको चुनाव भयो, त्यसमा चाहिँ किन लड्नु भएन भन्ने प्रश्नमा दर्जीले भन्नुभयो– ‘म अरु दलका नेताजस्तो होइन, माथि पनि लड्ने, तल पनि लड्ने। म विगतदेखि माननीयमा लड्दै आएको छु। फेरि पनि माननीयमै लड्छु।’

संवाददाता सल्यानीबागस्थित घरमा पुग्दा दर्जी घरमा थिएनन्। छोराले पत्रकार आएका छन् भने पछि ५ मिनेटमा आउँछु भनेर कुर्न भने। बजारतिरबाट केही मिनेटमै आएका दर्जीको छुट्टै सम्मान थियो। फरासिला दर्जीलाई मधेसी नेताहरू फकाउन नगएका पनि होइनन्। ‘मलाई कुनै पनि दल मन पर्दैन’, दर्जीले भन्नुभयो– ‘पार्टीमा लागेपछि उसले यसो गर, उसो गर भन्छ। त्योभन्दा स्वतन्त्र बस्यो, आफ्नै मर्जीमा अगाडि बढिन्छ। घरको खानापानी चलाउँछु, माननीयको चुनाव आएपछि उम्मेदवारी दिन्छु।’

नेपालगन्ज बजारमा लिलौं दर्जीको नाम भन्नेबित्तिकै ‘ए, त्यो त सधैं माननीयमा चुनाव लड्छ’ भन्ने प्रतिक्रिया आउँछ। तामझाम नगरीकन सुटुक्क मनोनयन दर्ता गरेका दर्जीलाई यसपालि नेपालगन्जबासीले भोट दिएर न्याय गर्ने आशा रहेको छ।

प्रतिक्रिया दिनुहोस्