माझीहरूले घर पाउने भाका फेरि सर्यो, बस्ती निर्माण सम्झौतामा शौचालय र पानी नै छुट्यो



 

सिर्जना पन्त, बागलुङ
बागलुङका माझीहरूले घर पाउने समय फेरि पनि सरेको छ। विसं २०४६ मा बागलुङ–पोखरा सडक निर्माणका क्रममा घरबास गुमाएर माझीहरू बागलुङ नगरपालिका–१ स्थित बाँगेचौर खेल मैदानको किनारमा अस्थायी घरटहरामा बस्दै आएको २८ वर्ष बितिसक्यो तर सरोकारवालाहरूले बाँडेको व्यवस्थित घरबास आश्वासनको मिति सरेको सरै छ।

गतवर्ष बागलुङ नगरपालिकाले नगरविकास कोष र माझी बस्ती व्यवस्थापन समितिबीच बस्ती सार्नका लागि घर बनाउने सम्झौता भएको थियो। सम्झौतामा २०७४ सालको दशैंअगाडि नै नयाँ घरमा दशैं मनाउने सपनासमेत बाँडिएको थियो तर माझीहरूले तिहार सकिँदा पनि नयाँ घर पाउन सकेका छैनन्। माझीहरूका लागि निर्माण हुँदैं गरेको बस्तीको सम्झौतामा शौचालय, खानेपानी र विद्युत् जडानजस्ता महत्त्वपूर्ण संरचना नै छुटेपछि माझीहरू फेरि निराश बनेका छन्। बागलुङ नगरपालिकाले माझीहरूका लागि घर निर्माण भइसकेको भए पनि बस्ती व्यवस्थापनका लागि सरकारी प्रक्रियामा ढिलाई भएको कारणले सम्झौता भएको समयभित्र बस्ती हस्तानरण गर्न नसकिएको बताएको छ।

माझीहरूको लामो संघर्ष र प्रयासले बस्ती निर्माणका लागि आवश्यक बजेट र जग्गाको व्यवस्थापन भएपछि गत पुसमा बागलुङ नगरपालिका र मुक्तिनाथ बीएन्डबी त्रिशक्ति निर्माण कम्पनी काठमाडौंबीच १ वर्षमा १४ घर निर्माण गर्ने गरी सम्झौता भएको थियो। कम्पनीले सम्झौताअनुसारका १२ घर निर्माण गरिसकेको छ, २ घर निर्माण हुँदै छन्। घर निर्माण कार्य अन्तिम चरणमा पुगेको भए पनि सरकारी कार्य र प्रक्रिया झन्झटिलो भएको कारणले बस्ती व्यवस्थापनका कार्यमा ढिलाई भएको स्थानीय माझी बस्ती व्यवस्थापन समन्वय समितिका अध्यक्ष केबी रानामगरले बताउनुभयो। ‘सरकारी कामको के–के प्रक्रिया हो, निकै ढिलो र झन्झटिलो हुँदो रहेछ’, रानाले भन्नुभयो– ‘ठेकेदार कम्पनी र नगरपालिकाको सम्झौताअनुसार काम नहुँदा बस्ती निर्माणमा ढिलाई भएको छ’। कामको गति यही र ठेकेदारले कामदार नथप्ने हो भने यो वर्ष पनि बस्ती हस्तान्तरण गर्न सकिने देखिदैंन। टेन्डर गर्ने बेलामै ढिलाई भएपछि काम ढिला भएको उहाँको भनाइ छ।

बस्ती निर्माणको सम्झौता गर्दा कमी कमजोरी भएका कारणले समयमै घरहरू निर्माण भएको भए पनि हस्तानतरण गर्न नसकिएको बागलुङ नगरपालिकाका प्रमुख जनकाराज पौडेलले बताउनुभयो। पौडेलले भन्नुभयो– ‘बस्ती निर्माण गर्ने सम्झौतामा फिनिसिङ, खानेपानी र विद्युत् जडान, ट्वाइलेट निर्माणजस्ता महत्त्वपूर्ण संरचनाहरू छुटेका रहेछन्, हामीले त्यसको लागि बजेट थप गरेर काम पुरा गर्ने छौं।’ उहाँले बस्ती निर्माणको पुरानो सम्झौतामा कमजोरी भएकाले नगरविकास कोषमा सम्झौता सच्याएर पठाएको भन्दैं निर्णय आउनासाथ काम शुरू गर्ने बताउनुभयो। लामो समयसम्म आफ्नो घरको सपना देखेका माझीहरूलाई आधा अपूरो संरचना हस्तानरण गर्नुभन्दा पूरा गरेरै दिन खोज्दा केही ढिलाई भएको भन्दैं नयाँ वर्षसम्म सम्पूर्ण काम सकेर बस्ती हस्तान्तरण गरिने पौडेलले बताउनुभएको छ।

करिब रु ८२ लाखको लागतमा ‘ब्लक’ र जस्तापाताको प्रयोग गरी माझीहरूका लागि बानपा—१ का खनियाघाटमा घर बनाइएको छ। १ करोड १३ लाख रुपियाँको लागत अनुमान गरिए पनि ठेकेदार कम्पनीले ८२ लाख ३० हजारमा बनाउने जिम्मा लिएको थियो। नगर विकास कोषको ८० प्रतिशत अनुदान, १० प्रतिशत ऋण र १० प्रतिशत स्थानीय श्रमदानमा बस्ती निर्माण भइरहेको छ। सम्झौताअनुसारका १२ वटा घरहरू निर्माण भइसकेका छन् भने २ वटा घर निर्माण हुँदै छन्। निर्माण सम्पन्न भएका घरहरूमा फिनिसिङ, विद्युत् र पानीको काम बाँकी छ। बस्तीमा १ सामुदायिक भवन पनि बनाइने नगरपालिकाले बताएको छ।

प्रतिक्रिया दिनुहोस्