मधेसवादीको साथ खोज्दै कांग्रेस



बीपी साह, काठमाडौं
प्रदेश नम्बर दुईमा मधेसवादी दलसँग सहकार्य गर्न नेपाली कांग्रेस र वाम गठबन्धन प्रतिस्पर्धामा उत्रिएका छन्। मधेसवादी दलसँग बारम्बार वार्ता गरेर पनि सहकार्य गर्न नसकेको नेपाली कांग्रेसले मनोनयन दर्तापछि एकतर्फी मधेसवादीलाई सघाउन खोजेको छ।

कांग्रेसले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई महोत्तरी ३मा सघाउने निर्णय गरेको छ भने सप्तरी दुईमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने जनाएको छ। त्यस्तै, अप्रत्यक्षरूपमा राजपाका अध्यक्ष मण्डलका सदस्य शरद्सिंह भण्डारीलाई महोत्तरी दुईमा सघाउने काम कांग्रेसले गरेको छ।

यता वाम गठबन्धनले पनि शीर्ष मधेसी नेताहरू उठेको स्थानमा स्वतन्त्रको नाममा छोडेको छ भने कतिपय स्थानमा कमजोर उम्मेदवार खडा गरेको छ। दुई नम्बर प्रदेशको भावी राजधानी जनकपुरमा पूर्वसांसद सञ्जय साह ‘टक्ला’की श्रीमती रंगिलादेवी साहका लागि सिट छोडे पनि साहले उम्मेदवारी नदिएपछि राजपाका नेता राजेन्द्र महतोलाई सघाउने देखिन्छ।

त्यस्तै, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको क्षेत्रमा पनि वाम गठबन्धनको कमजोर उम्मेदवार दिएको छ भने महन्थ ठाकुरको क्षेत्रमा पनि वाम गठबन्धनले कमजोर उम्मेदवार खडा गरेको छ। राजपाका नेता अनिलकुमार झाका लागि एमाले नेता माधव नेपालले रौतहट छोडेर काठमाडौं रोजेका छन्।

भावनात्मक रूपमा मधेसवादी दलका कार्यकर्तालाई तान्न र मधेसवादी निकट देखिन कांग्रेसले एकतर्फी रूपमा सहयोग गर्न खोजेको राजपाका सहमहासचिव सुरिता साहले नेपाल समाचारपत्रलाई बताउनुभयो। साहले आफूहरू कांग्रेससँग कुनै सहयोग माग्न नगएको बताउँदै कांग्रेसले आफ्नो फाइदाका लागि राजपा नेताहरूलाई सहयोग गर्न खोजको बताउनुभयो।

कांग्रेस नेता विमलेन्द्र निधिले लोकतान्त्रिक शक्तिहरू मिलेर जानुको विकल्प नरहेकाले मधेसवादी दललाई सघाएको बताउनुभयो। निधिले कांग्रेसले मधेसवादी दलसँग गठबन्धन गर्ने प्रयास असफल भए पनि मधेसवादी दलका शर्षि नेतालाई सघाउने बताउनुभयो।

यता वाम गठबन्धनका नेता मातृकाप्रसाद यादवले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामी मधेस विरोधी होइनौं। मधेसवादी दललाई पनि हाम्रो साथ चाहिन्छ र हामीलाई पनि मधेसवादीको साथ चाहिन्छ। त्यसकारण हामीले औपचारिक अनौपचारिक रूपमा मधेसवादी दललाई सघाउँदै छौं।’

यादवले मधेसवादी दलको ठूलो विरोधी कांग्रेस भएकाले वाम गठबन्धनसँग सहकार्य भए दुई पक्षलाई फाइदा हुने दाबी गर्नुभयो।

दुई नम्बर प्रदेशको स्थानीय निकायको निर्वाचनमा मधेसवादी दल राजपा र फोरम नेपालले बहुमत हासिल गरेको छ। प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा राजपा र फोरम नेपालबीच तालमेल भएको छ। यस कारण दुई नम्बर प्रदेशमा सम्मानजनक मत आउने विश्वास फोरम नेपालका महासचिव रामसहायप्रसाद यादवको रहेको छ।

यादवले राजपा र फोरम चुनावी तालमेल गरेकाले दुई नम्बर प्रदेशमा दुई तिहाइ ल्याउने दाबी गर्नुभयो। उहाँले कांग्रेस र वाम गठबन्धनले आफू अनुकूल मधेसवादीलाई सहयोग गरेको प्रचार गर्न खोजेको आरोप लगाउनुभयो।

प्रतिक्रिया दिनुहोस्