डीएसपीसहित ५ जनाविरुद्ध मुद्दा



नेपाल समाचारपत्र
काठमाडौं
महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीनकृष्ण भण्डारीसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बालाजु वृत्तका डीएसपी भण्डारीसहित ५ जनालाई ५ लाख बिगो जरिवाना र कैद सजाय दाबी गर्दै मुद्दा दायर गरिएको हो।

बालाजु वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) चन्द्रसिंह भाटलगायतले विनता देवानका श्रीमान्लाई गैरकानुनीरूपमा पक्राउ गरेर थुनामुक्त गरिदिने भन्दै डर त्रास देखाई विभिन्न बहानामा घूस मागेको उजुरीको आधारमा अख्तियारको टोलीले ५ लाख घूस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा बालाजु वृत्तका प्रमुख डीएसपी भण्डारीको प्रत्यक्ष निर्देशन र संलग्नता रहेको अख्तियारले जनाएको छ। अख्तियारले बालाजु वृत्तका असई भाट, प्रहरी वृत्त फर्पिङमा कार्यरत प्रहरी हवल्दार मनोजकुमार यादव, महानगरीय प्रहरी प्रभाग, बाल सुधार गृह, ठिमी, भक्तपुरमा कार्यरत प्रहरी जवान पुष्करबहादुर शाह तथा आफूलाई प्रहरी कर्मचारी भएको बताउने बिन्दवासिनी बालुवा डिपो सञ्चालक विनोद थापा बगालेलाई मुद्दा दायर गरिएको हो।

उनीहरूले भारतीय सेनामा भर्ती गराउन भनी फारम संकलन र रकम असुल गरेको भन्ने गलत आरोप लगाई देवानका श्रीमान्लाई गैरकानुनीरूपमा पक्राउ गरी शुरूमा मनमैजुस्थित बिन्दवासिनी बालुवा डिपोमा नियन्त्रण र कब्जामा राखेपश्चात् बालाजु वृत्तमा थुनामा राखी, डर त्रास देखाएर घूस मागेको अनुसन्धानपछि पुष्टि भएको छ।

उनीहरूले भ्रष्टाचार गर्ने मनशायले ५ लाख घूस लिएको पुष्टि हुन आएकाले निजहरूमध्ये राष्ट्रसेवकहरू डिएसपी भण्डारी, असई भाट, हवल्दार यादव र जवान शाहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिमको कसुर गरेको देखिएको हुँदा जनही बिगो ५ लाख रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजायको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

साथै आफूलाई प्रहरी कर्मचारी भएको बताउने डिपो सञ्चालक बगालेलाई प्रहरीहरूसँग प्रत्यक्ष संलग्न भई घूस माग्न सहयोग गरेको पुष्टि हुन आएकाले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा २ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकाले डिपो सञ्चालक बगालेलाई बिगो ५ लाख रुपियाँ ऐनको दफा ३(१) र दफा ३(१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस्