ढुंगाना र बस्नेतको रसाकस्सी



 

नेपाल समाचारपत्र
भक्तपुर
निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार हुनुभएका दमननाथ ढुंगानाले आफूलाई पर्यटक उम्मेदवार भनेर प्रचार नगरिदिन सञ्चारकर्मी माझ आग्रह गर्नुभएको छ। सोमबार रफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको उम्मेदवार अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफू भक्तपुर हुर्केबढेको, पढेको ठाउँ भन्दै नारायणमान बिजुक्छे आफ्नो साथी र आफ्नो जग्गा जमिन भक्तपुरमै भएकाले आफू पर्यटक वा पाहुना उम्मेदवार नभएको बताउनुभयो।

पूर्वसभामुखसमेत रहेका ढुंगानाले भक्तपुरमा आफ्नो राजनीतिक लगानी भएको स्पष्ट पार्नुभएको थियो। उहाँले भन्नुभयो– ‘मैले कुचो लिई राजनीति कुचिकार बनेर भक्तपुरमा उम्मेदवारी दिएकाले यहाँबाट निर्वाचन जितेर राष्ट्रिय राजनीतिलाई नै सफा पार्नेछु।’ विशिष्ट परिस्थितिलाई ध्यानमा राखेर पार्टीले आफूलाई उम्मेदवारी दिएको उहाँले बताउनुभयो।
प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले काठमाडौं क्षेत्र नं. २ बाट उम्मेदवार बन्न आग्रह गरे तापनि आफूले नै भक्तपुर क्षेत्र नं. २ रोजेर आएको उहाँले बताउनुभयो। करिब २३ वर्षपछि राजनीतिमा आउनुका कारण देशमा अहिले देखिएको राजनीतिक फोहोर सफा गर्नु नै रहेको उहाँले बताउनुभयो।

नेमकिपाको समर्थनमा उम्मेदवारी दिएको भन्ने सञ्चारकर्मीको जिज्ञाशामा ढुंगानाले भन्नुभयो– ‘आफ्नै उम्मेदवार उठाएको नेमकिपाले कांग्रेसलाई किन मतदान गर्छ।’ नारायणमानजी मेरो साथी मात्र हो’, ढुंगानाले भन्नुभयो– ‘राजनीतिक हिसाबमा हामी फरक छौं।’

देशभर वाम गठबन्धन बनेको बेलामा भक्तपुरमा यो गठबन्धनसँग लड्न सक्ने मान्छेको खोजी गर्दा आफू उम्मेदवार बन्नुपरेको बताउँदै ढुंगानाले भन्नुभयो– ‘वाम गठबन्धनसँग लड्न सक्ने व्यक्ति म मात्रै हो भन्ने पार्टीले मूल्यांकन गरेकाले मलाई पार्टीले उम्मेदवार बनाएर पठायो, उम्मेदवार बन्न भक्तपुरकै बासिन्दा हुनुपर्छ भन्ने छैन।’

नारायणमान बिजुक्छे साथी भएकाले यहाँ टिकट लिएर आउँदा उहाँसँग सल्लाह गरेको बताउँदै उहाँले भन्नुभयो– ‘बिजुक्छेसँग मैले सल्लाह गरेको हुँ, तर उहाँले मलाई सहयोग गर्छु भन्नुभएको छैन, उहाँको पार्टीको विचार र हाम्रो पार्टीको विचार फरक भएकाले नेमकिपाको समर्थन र सहयोग मलाई हुँदैन।’

भक्तपुरको निर्माण र विकासमा नेमकिपा र बिजुक्छेको मात्रै योगदान रहेको चर्चा गर्दै ढुंगानाले अहिले भक्तपुरको भविश्यसँग जोडिएर आफ्नो उम्मेदवारी आएको बताउनुभयो।

कार्यक्रममा वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका एमालेका युवा नेता महेश बस्नेतले लोकतन्त्रमा जित–हारको कुराभन्दा पनि स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिँदै आफ्ना पिता उमेरका ढुंगानासँग प्रतिस्पर्धा गर्न पाउनु सौभाग्य भएको प्रतिक्रिया दिनुभयो। स्थिर सरकार र मुलुकको सम्वृद्धि एवं भक्तपुरको समग्र विकासका लागि आफ्नो उम्मेदवारी परेको बताउँदै उहाँले २०७० सालमा संसद्को निर्वाचनमा आफूले पराजय भोगेपछि भक्तपुरको सेवामा समर्पित भएकाले त्यसको मूल्यांकन हुने बताउनुभयो।

बस्नेतले भन्नुभयो– ‘यसअघिका सांसदले भक्तपुरको मुहार फेर्न सकेनन्, अब त्यसको जिम्मेवारी मैले लिएर आएको छु, भक्तपुरको विकास र गौरवलाई उचाइमा पुर्याउन मेरो उम्मेदवारी हो।’ आफू उद्योगमन्त्री र केपी ओली प्रधानमन्त्री हुँदा आफ्नै पहलमा भक्तपुरमा ४ अर्बको विकास बजेट ल्याएर विकासका काम तीव्र पारेको दाबी गर्दै उहाँले भक्तपुरको विकास आफ्नो मूल एजेन्डा रहेको बताउनुभयो।

एमालेका उम्मेदवार महेश बस्नेतले भक्तपुर राजधानीनजिकैको जिल्ला भएर पनि विकास निर्माणमा बत्तीमुनिको अँध्यारो जस्तै भएको बताउनुभयो। भक्तपुरको समग्र विकासका लागि एमाले नै सक्रिय भइरहेकाले आगामी निर्वाचनमा पनि एमालेलाई विजयी गराउन मतदाताहरुलाई उहाँले अनुरोधसमेत गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्