बैतडीमा तात्यो चुनावी माहोल, उम्मेदवार भोट माग्न गाउँ पसे



विनोदसिंह विष्ट, बैतडी ।
निर्वाचनको मिति नजिकिएसंगै बैतडीमा चुनावी माहोल तात्दै गएको छ । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा बैतडीमा निर्वाचन गतिविधि पनि बढको छ ।
उम्मेदवार भोट माग्न गाउँ पसेका छन । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि सम्बद्ध उम्मेदवार भोट माग्ने कार्यमा व्यस्त भएका हुन । चुनावलाई लक्षित गरेर जिल्लामा सबै राजनीतिक दलले चुनावी अभियानलाई पनि तीव्रता दिनुका साथै भोट माग्न गाउँकेन्द्रित भएका छन् । मतदातालाई कामको चटारो भइरहेको बेला उम्मेदवारलाई पनि मत माग्न त्यत्तिकै हतारो देखिन्छ ।

लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र अन्य साना दलले पनि चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । गाउँघरमा कामको चटारो भएको भए पनि काम गर्ने ठाउँमै गएर भोट माग्ने काम भइरहेको नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिनुभयो ।

जिल्लाको पुरचौडी नगरपालिका र सिगास गाउँपालिकामा चुनावीसभा गरेको वाम गठबन्धनले अन्य ठाउँमा पनि चुनावी कार्यक्रम गरेर मत माग्ने काम भइरहेको जनाएको छ । यस्तै विवेकशील साझा पार्टीका उम्मेदवार नारायणदत्त अवस्थीले घरदैलो अभियान सञ्चालन गरिएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनसमाजवादी पार्टी नेपाल लगायतका दलले पनि चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको जनाएका छन् । लोकतान्त्रिक गठबन्धनकातर्फबाट प्रतिनिधिसभा सदस्यका लागि काँग्रेस नेता तथा वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द उम्मेदवार बन्नुभएको छ भने प्रदेशसभा सदस्यका लागि बैतडी (क) बाट नेपाली काँग्रेसका हरिमोहन भण्डारी र बैतडी (ख) मा राप्रपाका गणेश चन्द चुनावी मैदानमा उत्रिनुभएको छ । उता वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि एमालेका नेता पूर्वअर्थराज्यमन्त्री दामोदर भण्डारीलाई अघि सारिएस्को छ भने प्रदेशसभाका लागि (क) बाट माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट र (ख) बाट एमालेका लीलाधर भट्ट उम्मेदवार बनाइएको छ । यस्तै प्रतिनिधिसभाका लागि विवेकशील साझाबाट नारायणदत्त अवस्थी र राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी चुनावी मैदानमा लड्ने हुनुभएको छ । प्रदेशसभातर्फ क्षेत्र नं १ राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगीरथसिंह कुँवर, राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलीपराज पाण्डे प्रतिस्पर्धामा उत्रिनुभएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने भएको छ ।

आन्तरिक तयारी तीव्र
जिल्ला निर्वाचन कार्यालय बैतडीले पनि आन्तरिक तयारी तीव्र बनाएको छ । निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारीका लागि सरकारी कार्यालय, संस्थान, संस्था र सामुदायिक विद्यालयका शिक्षकको नाम संकलन गर्न शुरु गरिएको निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले बताउनुभयो । गत असारमा प्रयोग भएका मतपेटिका, स्वस्तिक छापलगायतका निर्वाचन सामग्रीलाई पनि तयारी अवस्थामा राख्न थालिएको र मतदानस्थल अनुगमनको कार्य भइरहेको छ । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाकालागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा एक लाख ३१ हजार ३१९ मतदाताका लागि १२० मतदानस्थल तथा १८२ मतदान केन्द्र तोकिएका छन् । मंसिर १० गतेको निर्वाचनलाई सभ्य, भव्यताका साथ सम्पन्न गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह पनि गरिएको छ । निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न जिल्लाका तीन मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको छ भने ३८ मतदान केन्द्रलाई संवेदनशीलको सूचीमा राखिएको र त्यहीअनुसार सुरक्षा व्यवस्था पनि मिलाइने बताइएको छ । निर्वाचन अबधिभर इजाजतप्राप्त हातहतियार पनि संकलन भइरहेका छन् । बदर मत घटाउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले कात्तिक २६ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।
मतदान केन्द्र अनुगमन
आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन तयारीस्वरूप बैतडीका विभिन्न स्थानमा रहेका मतदानस्थल र मतदान केन्द्रमा अनुगमन गर्न थालिएको छ । मतदान स्थल र मतदान केन्द्रको सुरक्षाका विषयमा जानकारी लिनका लागि जिल्लाको मेलौली नगरपालिकाअन्तर्गतका विभिन्न मतदान स्थल र मतदान केन्द्रको अनुगमन गरिएको उहाँले बताउनुभयो । अनुगमनमा प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत, प्रहरी नायब उपरीक्षक लगायतको सहभागिता थियो । मतदान स्थलको अनुगमनबाट सुरक्षा अवस्थाको रणनीति बनाउन सजिलो हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।
आचारसंहिता पालना गर्ने प्रतिबद्धता,
जिल्ला निर्वाचन कार्यालयको आयोजनामा जिल्लाको मेलौली नगरपालिकामा आयोजना गरिएको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा आगामी चुनावका लागि उम्मेदवारी दिएका नेताले निर्वाचन आचारसंहिता पूर्णरूपमा परिपालना गर्ने प्रतिबद्धता जनाएका निर्वाचन अधिकारी फुँयालले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचनको प्रचारप्रसारको सिलसिलामा नागरिकसँग झुठो आश्वासनसमेत नबाँड्ने उनीहरू प्रतिबद्ध भएका छन् । मेलौली भगवती जात्राको अवसर पारेर जिल्ला सदरमुकाम बाहिर आयोजना गरिएको सर्वपक्षीय बैठकमा सबै दलका नेता, कार्यकर्ता र उम्मेदवारले निर्वाचन आचारसंहिता पालना गर्न र गराउन पहल गर्ने प्रतिबद्धतासमेत जनाएको जिल्ला निर्वाचन अधिकारी फुयाँलले बताउनुुभयो ।

प्रतिक्रिया दिनुहोस्