आइबा अध्यक्ष निलम्बित



 

दुबई, (एजेन्सी)
अन्तर्राष्ट्रिय बक्सिङ एसोसिएसन (आइबा) का अध्यक्ष चिङ कुओ वु निलम्बित भएका छन्।

शनिबार दुबईमा भएको आइबाको कार्यकारी समिटीले मतदानको आधारमा अध्यक्ष वुलाई निलम्बन गरेको जनाइएको छ। आर्थिक अनिमियतताको आरोप लागेका उनीविरुद्ध भएको मतदानको क्रममा अध्यक्ष वुको विपक्षमा १४–० मत खसेपछि आइबाको अनुशासन आयोगले उनलाई पदबाट निलम्बन गरेको हो।

यसअघि गत अक्टोबर ९ मा वुले पदको दुरुपयोग गर्दै एकपक्षीयरूपमा आइबा केन्द्रीय कार्यकारिणी कमिटीका ६ जना तथा कार्यकारी कमिटी ब्युरोका ३ जनालाई बर्खास्त गर्ने प्रयास गरेको भन्दै अनुशासन आयोगले उनीविरुद्ध कारबाही अघि बढाएका थियो। आइबाका कार्यकारी अध्यक्ष फ्रान्को फाल्सेल्नेलीले वुविरुद्धको कारबाही जायज भएको बताए।

उनले भने– ‘बक्सिङ इतिहासमा अहिलेसम्म यस्तो घटना कहिल्यै घटेको थिएन। वुविरुद्धको कारबाहीले बक्सिङलाई बचाउने काम गरेको छ।’ यसै गरी केन्द्रीय कार्यसमितिका सदस्य पाट फियाक्कोले पनि वुले आइबालाई आफ्नो निजी सम्पत्तिसरह प्रयोग गर्न खोजेको आरोप लागाए।

आगामी जनवरीमा आइबाको कंग्रेस बैठक दुबईमा बस्दै छ। उक्त बैठकले नै वुविरुद्ध थप निर्णय लिनेछ। उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि करिब ८० देशका राष्ट्रिय बक्सिङ संघले समर्थन गर्ने सम्भावना रहेको जनाइएको छ। जसमा अमेरिका, रसिया, क्यानाडा, ब्राजिल, क्युबालगायतका राष्ट्र सामेल छन्।

प्रतिक्रिया दिनुहोस्