बार्सिलोनाको अपराजित यात्रा कायमै



 

बार्सिलोना, (एजेन्सी)
सेभियालाई हराउँदै बार्सिलोनाले जारी सिजनको ला लिगामा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।

शनिबार राति भएको खेलमा सेभियालाई २–१ ले हराउँदै बार्सिलोनाले अंक तालिकाको अग्रस्थानको निरन्तरतालाई जारी नै राखेको छ। बार्सिलोनाको जितमा फरवार्ड पाको अल्कासेरले दुवै गोल आफ्नो नाममा लेखाएका थिए। जारी सिजनमा बार्सिलोनाका लागि अल्कासेरेको यो तेस्रो गोल हो।

लुइज स्वारेजको लामो पासलाई नियन्त्रणमा लिँदै अल्कासेरले खेलको २३औं मिनेटमा गोल गरेपछि घरेलु टोली बार्सिलोनाले शुरूआती अग्रता लिएको थियो।

पहिलो हाफसम्म १–० ले अघि रहेको बार्सिलोनाविरुद्ध खेलको ५९औं मिनेटमा सेभियाले बराबरी गोल फर्कायो। एभर बानेगाको कर्नरमा गुइडो पिजारोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। तर, बराबरी गोल भएको ६ मिनेट नबित्दै बार्सिलोनाले पुनः खेलमा अग्रता लिन सफल भयो।

खेलको ६५औं मिनेटमा इभान राकिटिचको पासमा अल्कासेरले गोल गर्दै बार्सिलोनालाई २–१ ले अगाडि पारे। उक्त गोल नै खेलको निर्णायक सावित बनेपछि बार्सिलोनाले आफ्नो पोल्टामा ३ अंक पार्न सफल भयो।

उक्त खेलमा बार्सिलोनाका लागि खेलेको आफ्नो ६००औं म्याचमा मेसीले भने कुनै गोल गर्न सकेनन्। जितसँगै बार्सिलोनाले लिग तालिकाको अग्रता फराकिलो पारेको छ। ११ खेलबाट बार्सिलोनाको ३१ अंक भएको छ। दोस्रो स्थानको भ्यालेन्सियाको २७ अंक छ भने २३ अंकका साथ एथ्लेटिको मेड्रिड तेस्रो स्थानमा छ।

एक खेल कम खेलेको रियल मेड्रिड भने चौथो स्थानमा छ। ला लिगाअन्तर्गत शनिबार राति भएका अन्य खेलमा भ्यालेन्सिया, एथ्लेटिको मेड्रिड र आलाभेस विजयी भएका छन्। भ्यालेन्सियाले लेगानेजलाई ३–० ले हराउँदा एथ्लेटिको मेड्रिडले डेपोर्टिभो ला कोरुनालाई तथा आलाभेसले इस्पानियोललाई समान १–० ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्