प्रहरीलाई हेप्दै बालुवाको अवैध उत्खनन्



 

नेपाल समाचारपत्र
हेटौंडा
मकवानपुर जिल्लाको मनहरी नदीबाट दैनिक ६ सय वटा ट्याक्टरले नियमविपरीत प्रहरी प्रशासनकै अघिबाट नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवा उत्खनन् गरिरहेका छन्। नदी किनारमा एक प्रकारको ट्याक्टरहरूको मेला नै लाग्ने गरेको देखिन्छ।

जिल्ला समन्वय समिति मकवानपुरले असोज १ गतेबाट घरायसी प्रयोजनका लागि मात्र नदीजन्य पदार्थ निकाल्न अनुमति दिएको थियो। तर, दैनिक करिब ६ सय ट्याक्टरले ती सामग्री स्थानीय क्रसरमा लगेर बेच्ने गरेको स्थानीयको भनाइ छ। स्थानीय प्रशासनले यस सम्बन्धमा कुनै कारबाही गर्न सकेको छैन।

मनहरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जनशक्ति अभावले केही गर्न नसकेको स्वीकार गर्नुभयो।‘इप्रकामा ३० जना पनि प्रहरी छन्, ६ सय ट्याक्टर खोलामा जान्छ,’ उहाँले भन्नुभयो–‘कतिलाई समाउने, कति लखट्ने ? स्थानीय ट्याक्टर व्यवसायी २⁄४ जना प्रहरीलाई हेपेरै नदीजन्य सामग्रीको निरन्तर दोहन गरिरहेका छन्। प्रहरी निरीह भएर मुकदर्शक बनेको छ।

वातावरणीय हिसाबले एउटा नदीबाट कति परिमाणमा नदीजन्यप दार्थ उत्खनन् गर्ने भन्ने वातावरणीय प्रभाव मूल्यांकन नियम हुन्छ। तर, त्यो नियम जिल्ला समन्वय समितिको कुनै दराजमा थन्किएर बसेको छ। मकवानपुरमा क्रसर उद्योगहको नवीकरणसमेत रोकिएको अवस्थामा नदीजन्य पदार्थ संकलन भने गरिरहेका छन्।

जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीले उक्त क्षेत्रमा जिल्ला समन्वय समितिले उत्खनन् अनुमतिन दिएको बताउनुभयो। तर, जिल्ला अनुगमन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले हातले नदीजन्य पदार्थ उत्खनन् गर्न रोक नलगाइएको बताउनुभयो। ‘तर सयौंको संख्यामा ट्याक्टर प्रयोग गरी जथाभावी उत्खनन् गर्न स्वीकृति दिएका होइनौं, यसबारेमा नियमन गर्छौं,’ उहाँले भन्नुभयो।

मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले नियामक निकायसँग कुरा भइरहेको बताउँछन्। जनताको अर्बौ लगानी परेको ट्याक्टर खोलामा नगएर अन्यत्र जाने कुरै आउँदैन,’ उहाँले भन्नुभयो–‘तर व्यवस्थित ढंगबाट उत्खनन् हुनुपर्छ भन्ने मान्यता हो। उहाँका अनुसार नदीजन्य सामग्री व्यवस्थित गर्न सकिने तर बन्द गर्न भने सकिने अवस्था छैन। यता, मनहरी खोला तथा आसपास क्रसरहरूमा पत्रकारलाई फोटो खिच्न स्थानीय ट्याक्टर तथा क्रसर उद्योगीले प्रतिबन्ध लगाएका छन्।
६ सय ट्याक्टरको भीडमा प्रहरी छिर्न सक्दैनन्, मनहरी पुलमा बसेर सिठ्ठी बजाएर फर्कनुपर्ने प्रहरीको बाध्यता छ। ती ट्याक्टरले ओसारेको नदीजन्य पदार्थ मनहरीस्थित विभिन्न क्रसर उद्योगले खरिद गर्ने गरेका छन्। क्रसर उद्योगहरूले मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गर्न नपाएपछि ट्याक्टरको प्रयोग गरी अवैध ढंगले धमाधम नदीजन्य पदार्थ उत्खनन् गरिरहेको स्थानीयको आरोप छ।

ट्याक्टर व्यवसायी संघ अध्यक्ष ठाकुर तितुङले प्रत्येक स्थानीयसँग ट्याक्टर भएकाले संघले चाहेर पनि नियन्त्रण गर्न नसकेको स्वीकार गर्नुभयो। ‘हामीले निश्चित क्षेत्रमा उत्खनन् गर्ने भनेका छौं। तर, काम गर्न सकेका छैनौं,’ उहाँले भन्नुभयो। उहाँका अनुसार संघमा ६ सय बढी ट्याक्टर आबद्ध छन्। उत्खनन् कार्यलाई व्यवस्थित गर्न जिल्ला समन्वय समितिले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन कार्यान्वय भएको छैन।

नियमअनुसार पुलभन्दा पाँचसय मिटर तलमाथि उत्खनन् गर्न पाइँदैन। खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गर्दा नै राजस्व तिनुपर्ने भए पनि क्रसर उद्योगबाट प्रशोधन गरी निर्यात हुँदा मात्र सरकारले राजस्व पाउने छ।यसले गर्दा राज्यलाई लाखौं रुपियाँ नोक्सान हुने गरेको स्थानीय बुद्ध तामाङले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्