बैंकहरूको नाफाको वृद्धिदर खुम्चियो



 

नेपाल समाचारपत्र
काठमाडौं
चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा वाणिज्य बैंकहरूको नाफाको वृद्धिदर खुम्चिएको छ। बैंकहरूले प्रकाशित गरेको पहिलो त्रैमासिक अवधिको वित्तीय विवरणअनुसार गत वर्षको तुलनामा अधिकांश बैंकको नाफा बढेको भए पनि वृद्धिदर भने घटेको देखिएको हो।

नेपालमा सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये हालसम्म १७ बैंकले पहिलो ३ महिनाको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। तीमध्ये १० बैंकले नाफा बढाएका छन् भने ७ बैंकको नाफामा गिरावट आएको छ।

यसरी नाफा खुम्चिनुमा ऋण र निक्षेपको ब्याज दर बढाए पनि त्यसको स्प्रेड दर घटाउनु रहेको जानकारहरूले बताएका छन्। महँगोमा उठाएको निक्षेपका कारण ऋणको ब्याज बढेकाले ५ प्रतिशतको स्प्रेड राख्दा ब्याज थप महँगो हुने भएकाले बैंकहरूले स्प्रेड घटाएका थिए।

गत वर्ष ६ महिनासम्म झेलिएको तरलता अभावले ब्याजदर बढेको बैंकहरूको भनाइ छ। तरलता अभाव भएको ६ महिनाको ब्याजदर, दशैं तिहारमा ऋण असुलीमा ढिलाइले पहिलो त्रैमासिकमा नाफा घटेको उनीहरूको दाबी छ। बैंकहरूले पुँजी वृद्धिकै मात्रामा बजार बढाउन लगानीका नयाँ स्रोतको व्यापक खोजी गरिरहेका बैंकहरूको स्थिति थप मजबुत बनाउने उनीहरू बताउँछन्।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणमा नाफा वृद्धि भएको देखिने १० वाणिज्य बैंकमध्ये प्राइम कमर्सियल बैंकको मात्र नाफा वृद्धि दर बढेको छ। बैंकको गत वर्षको नाफा वृद्धिदर १३ दशमलव ८१ प्रतिशत रहेकोमा यस वर्ष सो ३६ दशमलव १२ रहेको छ।

वित्तीय विवरण प्रकाशित गर्नेमध्ये नाफा घट्नेमा हिमालयन बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक र मेगा बैंक रहेका छन्। जसमध्ये सबैभन्दा बढी मेगा बैंकको नाफामा गिरावट आएको छ। बैंकले गत आवको पहिलो ३ महिनामा १४ करोड ६९ लाख नाफा कमाएकोमा यसवर्ष नाफा ४४ दशमलव ७४ प्रतिशतले घटेर ८ करोड ११ लाख रुपियाँमा खुम्चिएको छ। त्यस्तै सिद्धार्थ बैंकको नाफा ३९ दशमलव ८२ प्रतिशतले घटेको छ। गत वर्षको सोही अवधिमा करिब ३५ करोड ९६ लाख रुपियाँ नाफा कमाएको बैंकले यो वर्ष २१ करोड ६४ लाख नाफा रहेको छ।

त्यस्तै सनराइज बैंकको नाफा १९ दशमलव ५२ प्रतिशतले र बैंक अफ काठमान्डुको नाफा १६ दशमलव ८१ प्रतिशतले घटेको हो। चालू आवको पहिलो ३ महिनामा ती बैंकहरूको नाफा क्रमशः २२ करोड ४० लाख, २० करोड ३७ लाख रहेका छन्। ग्लोबल आईएमई बैंकको नाफा १६ दशमलव शून्य ९ प्रतिशतले, सिटिजन्स बैंकको ७ दशमलव ५४ प्रतिशतले र हिमालयन बैंकको नाफा पनि ६ दशमलव ४६ प्रतिशतले घटेको हो। ती बैंकहरूले पनि तीन महिनामा क्रमशः ३५ करोड ३२ लाख, ३१ करोड ९० लाख र ४१ करोड १ लाख रुपियाँ नाफा कमाएका छन्।
नाफा बढाउने १० बैंकमध्ये ९ वटा बैंकको नाफा वृद्धिदर घटेको छ।

तीमध्ये राष्ट्रिय वाणिज्य बैंकको नाफा सबैभन्दा धेरै बढेको छ। बैंकको नाफा ४१ दशमलव ८ प्रतिशतले बढ्दा प्राइम कमर्सियल बैंकको नाफा पनि ३६ दशमलव १२ प्रतिशतले बढेको हो। नाफा बढाउने अन्य बैंकमा एनएमबी बैंक (२७ दशमलव ६१ प्रतिशत), सानिमा बैंक (२६ दशमलव ८१ प्रतिशत), नेपाल एसबीआई बैंक (२३ दशमलव ९१ प्रतिशत), नेपाल इन्भेस्टमेन्ट बैंक (२० दशमलव ८१ प्रतिशत), एनआईसी एसिया (६ दशमलव ७५ प्रतिशत), नबिल बैंक (६ दशमलव ६४ प्रतिशत), एभरेस्ट बैंक (३ दशमलव ५१ प्रतिशत) र जनता बैंक (१ दशमलव ३१ प्रतिशत) रहेका छन्।

पहिलो ३ महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा बढी नाफा कमाएको छ। बैंकले यस अवधिमा ८९ करोड ४९ लाख रुपियाँ नाफा गरेको हो। त्यस्तै नबिल बैंकले ८५ करोड १४ लाख रुपियाँ, राष्ट्रिय वाणिज्य बैंकले ७० करोड ९५ लाख रुपियाँ नाफा कमाएका छन्।

प्रतिक्रिया दिनुहोस्