बालबालिकाका लागि कचहरी नाटक



शैली थिएटरले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न २५ विद्यालय र खुला सार्वजनिक स्थानमा कचहरी नाटक सपना खाने किरो मञ्चन गरेको छ। नाटकले हरेक बालबालिकालाई अभिभावकको साथमा बसी पौष्टिक खाना, सुरक्षा र गुणस्तरीय शिक्षा हुनुपर्छ र कुनै पनि किसिमका श्रममा प्रयोग गर्नु हुँदैन भन्ने सन्देश बोकेको थियो।

भविष्य निर्माणका लागि बालबालिका समस्या होइनन् बरु समाधान हुन् । त्यसैले राज्यले बालबालिकामा लगानी गरे खेर नजाने वकालत नाटकले गरेको थियो। गत १४ गते मंगलबारबाट शुरू गरिएको नाटक आइतबार हेम्स स्कुल रातो पुलमा मञ्चन गरी समापन गरिएको हो। सीबिस नेपाल र इन्टरपेडियाको आयोजनामा शैली थिएटरले प्रस्तुत गरेको नाटकले एक गरिब बालिका सिवानीको कथा बोल्छ। सिवानी पढ्नमा तेज छिन्, तर उसलाई कक्षामा केही साथीले गिज्याँउछन्। पर्याप्त पुस्तक सामग्री, राम्रो कपडा लगाउने र मीठो खाना खाने हैसियत नभएको कारण उनी लज्जित हुनुपर्छ। तर पनि उनी आफ्नो लक्ष्यमा अडिग भएकाले विद्यालय जान्छिन्। गरिबीको नाम दिँदै सिवानीको बबाले एसएलसी दिनु केही महिनाअगावै उनको बिहे गरिदिन्छन्। उनलाई पढाइ छोड्न परेकाले पीर पर्छ, जुन उनी कविता र गीतमार्फत पोख्छिन्। बालविवाहको शिकार भएकी सिवानी केही समयपछि आफ्ना श्रीमान्सँग काठमाडौं जान्छिन्। बिहेअघि पढाउने वाचा गरेका उनका श्रीमान्ले अब उनलाई घरेलु कामदारकारूपमा एक धनी मानिसको घरमा पठाउँछ। वाध्यतावश उनी केही समय काम गर्छिन्। उनले धेरै समय निकै कठिन र जोखिमपूर्ण काम गर्नुपर्छ। उनले आराम गर्न र स्वअध्ययन गर्ने मौका पनि पाउँदिनन्। एक दिन धैर्यताको बाँध भत्किन्छ र उनले कामबाट निस्कन खोज्छिन्। घर मालिकले पैसा तिरेकाले बीचैमा काम छोड्न नपाउने भनी आक्रमण गर्न खोज्छ। यही बेला, नाटकमा सुत्रधारको भूमिकामा रहेका कलाकारले नाटक रोक्छन् र दर्शकसँग वार्तालाप गर्छन्।

आर्यन न्यौपानेको लेखन एवं निर्देशनमा तयार भएको नाटकमा पीडककारूपमा सुवास सुवेदी एवं पीडितको भूमिकामा अमिसा अधिकारीले जिम्मेवारीपूर्ण अभिनय गरे। अन्य भूमिकामा सपना सञ्जीवनी, अभय देवकोटा, मनीष लामा, रविन तामाङ, सञ्जय पौडेल, शिशिर अर्याल, आस्मा दाहाल, विजय अधिकारी, नारायण न्यौपाने र सदिन लुईंटेल प्रस्तुत भएका थिए। सौरभ ढकालले सुत्रधारको भूमिका निर्वाह गर्नुका साथै केही अवस्थामा अभिनय पनि गरे।

ललितपुरस्थित आदर्श कन्या माध्यमिक विद्यालयमा नाटक देखाएपछि प्रधानाध्यापक मोहन प्रधानले यस्तो चेतनामूलक अभियानको प्रभाव मजबुत हुने बताए। ६ महिनाअघि आफ्नो विद्यालयमा पढ्ने एक विद्यार्थी घरेलु कामदारकारूपमा बस्दा यौन दुव्र्यवहार भएको तर आफ्ना साथीहरू र शिक्षकलाई भनेका कारण उनलाई उद्धार गरिएको प्रधानले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्