लोकतन्त्र रक्षाका लागि स्वच्छ प्रतिस्पर्धा

शंकरनाथ काफ्ले

नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनी संविधानलाई स्वीकार गर्ने सम्पूर्ण राजनीतिक दलहरू अलोकतान्त्रिक, अधिनायकवादी तथा प्रतिगमनकारी हुन सक्दैनन्। नेकपा एमाले र माओवादी केन्द्रबीच आगामी प्रतिनिधिसभा र संघीय निर्वाचनमा गठबन्धन गरी अघि बढ्ने भन्ने निर्णय भएपछि नेपालको राजनीति तरंगित मात्र भएको छैन राजनीतिक दलहरूको चरित्र, व्यवहार र नामलाई समेत अपव्याख्या गरी विश्लेषण गर्ने गरिएको छ। हुन त निर्वाचनको संघारमा अस्वस्थ आलोचना र टिकाटिप्पणी हुनुलाई सामान्य नै मान्ने गरिन्छ। नेपाली कांग्रेसलगायतका आफूलाई लोकतान्त्रिक शक्ति भन्ने दलहरूले नेकपा एमाले र माओवादी केन्द्रलगायतका कम्युनिस्ट शक्तिहरूको एकता प्रक्रिया र गठबन्धनलाई गैरलोकतान्त्रिक र अधिनायकवादीको आरम्भ भन्नेसम्मका संज्ञा दिन थालेका छन्। उता नेपाली कांग्रेस र नेपाली कांग्रेससँग गठबन्धन र सहकार्य गर्ने दलहरूको समूह जे–जस्तो आचारण र आवरणका भए पनि लोकतान्त्रिक भन्न थालिएको छ। के–कति कारणले कम्युनिस्टहरूको एकता र गठबन्धनलाई गैरलोकतान्त्रिक र नेपाली कांग्रेसलगायतका दलहरूको एकतालाई लोकतान्त्रिक भनिन थालिएको हो, स्पष्ट हुन सकिरहेको छैन। यद्यपि सबै स्पष्ट हुनै पर्दछ कि नेपालको संविधान २०७२ का निर्माता दलहरू र यसलाई स्वीकार गर्ने शक्तिहरू कुनै पनि गैरलोकतान्त्रिक पार्टी हुन सक्दैनन्, यो स्पष्ट हुनु आवश्यक छ।

नेपालको संविधानको धारा ४ ले नेपाल राज्यको परिभाषा दिने क्रममा ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक समाजवाद उन्मुख, संघीय लोकतान्त्तिक गणतन्त्रात्मक राज्य हो’ भनी स्पष्ट पारेको छ। यो संविधानअनुसार दर्ता भएका दलहरू, दर्ता भई संविधान कार्यान्वयनको चरणमा आफूलाई सक्रिय बनाएका र संविधानको मूल्य मान्यतालाई आत्मासात् गर्दै आएका कारण कुनै पनि अलोकतान्त्रिक हुन सक्दैनन्। उनीहरूलाई अलोकतान्त्रिकको संज्ञा दिन पनि मिल्दैन। यदि कुनै दल यो संविधानअनुसार दर्ता भएर पनि संविधान कार्यान्वयनको अभ्यासमा आफूलाई क्रियाशील नगरी संविधानले निर्धारित गरेका कार्यहरू गर्न विभिन्न बहानामा अवरोध गर्ने गरेको छ भने एकपटक सोच्नुपर्ने पनि हुनसक्छ। तर, जसले यो संविधानको कार्यान्वयनको लागि संवैधानिक मूल्य मान्यताअनुसार कार्य व्यवहार गर्दछ, त्यसलाई अलोकतान्त्रिक शक्ति भनेर अपव्याख्या गरिन्छ भने त्यसले लोकतन्त्र नै नबुझेको भनी आरोपित गर्न सकिन्छ। उता वाम गठबन्धनले पनि नेपाली कांग्रेसलाई प्रतिगमनको संज्ञा दिनु कुनै पनि अवस्थामा युक्तिसंगत हुँदैन। निर्वाचन स्वच्छ प्रतिस्पर्धाबाट हुनुपर्दछ। आफ्नो विचार लिएर जनतामा जाने र जनतालाई प्रभावित पारेर निर्वाचित हुन प्रयास गर्नुपर्ने हो तर एकले अर्कोलाई गाली गरेर निर्वाचनमा जाँदा भोलि स्वस्थ राजनीतिको विकास हुन सक्दैन।

नेकपा एमाले र माओवादी केन्द्र दुवै शक्तिले वर्तमान संविधानलाई पूर्णरूपमा पालना मात्र गरिरहेका छैनन्, यसको कार्यान्वयन र संरक्षणको लागि विशेष भूमिकासमेत निर्वाह गरिरहेका छन्। दुवै राजनीतिक शक्तिहरूले जनमतको सम्मान गर्दै लोकतान्त्रिक संस्कार प्रदर्शन गरेका नै थिए। आज संघ तथा प्रतिनितिसभाको निर्वाचनमा स्वच्छ प्रतिपर्धा गर्ने उद्देश्यका साथ पहिलो चरणको निर्वाचनमा लोकतान्त्रिक ढंगबाट अघि बढिरहेका छन् भने दोस्रो चरणको निर्वाचनमा पनि आफ्नो लोकतान्त्रिक चरित्रलाई प्रदर्शन गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन्। मुलुकमा राजनीतिक स्थिरताको लागि साना र थुप्रा दलहरूको अब आवश्यकता छैन भन्ने जनताको अभिमतलाई स्वीकार गर्दै विषम अवस्थामा समेत कम्युनिस्टहरू गठबन्धित भएका छन् र एकता र एकीकरणको प्रक्रियामा अघि बढिरहेका छन्। यो भन्दा लोकतान्त्रिक चरित्र नेपालका कम्युनिस्टहरूले देखाइरहनुपर्लाजस्तो लाग्दैन। नेकपा एमाले तथा माओवादी केन्द्रलाई अब पनि लोकतन्त्रको अग्निपरीक्षामा जाँच्नु आवश्यक छैन।

अघिल्लो संविधानसभाको निर्वाचनको अवस्थालाई विश्लेषण गर्दा नेकपा एमाले दोस्रो ठूलो दल र माओवादी केन्द्र तेस्रो ठूलो दलको रूपमा आफूलाई स्थापित गर्न सफल भएका थिए भने आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो ठूलो दल र माओवादी केन्द्र तेस्रो ठूलो दलको रूपमा आफूलाई स्थापित गर्न सफल भएको परिप्रेक्ष्यमा दुई दलको गठबन्धन र एकताले गणितीय हिसाबमा स्पष्ट बहुमत प्राप्त गर्न सफल हुने आँकलन गरी थप उपलव्धि रक्षाको लागि दुई तिहाइको लक्ष्य राख्नु कुनै अलोकतान्त्रिक र अधिनायकवादी चरित्र हुन सक्दैन। मुलुकको आवश्यकताले नेपाली कांग्रेसको गठबन्धनलाई बहुमत प्रदान गर्नुपर्दछ भन्ने लाग्यो भने उसले पनि आफ्नो ढंगको लोकतन्त्र रक्षाको लागि दुई तिहाइको आशा गर्नु कुनै अन्यथा हुनेछैन। लोकतन्त्र नामले होइन, चरित्रले देखाउने कुरा हो।

एउटै संविधानअनुसार गठन भएको एउटै संविधानको कार्यान्वयको लागि अघि बढिरहेको संविधानको मूल्य र मान्यतालाई उत्तिकै आत्मसात् गरेका दललाई कसैले अलोकतान्त्रिकको संज्ञा दिन्छ भने उल्टो उसको लोकतन्त्रमाथि प्रश्न उठाउनुपर्ने हुनसक्छ। जसले अरूको महत्व बुझ्दैन, जसले अरूको अस्तित्व स्वीकार गर्दैन, त्यो नै अलोकतान्त्रिक शक्ति हुन पुग्दछ। तसर्थ आफूलाई मात्र लोकतान्त्रिक शक्ति ठान्ने नेपाली कांग्रेसले आफ्नो वास्तविक लोकतान्त्रिक संस्कार देखाउनु आवश्यक भएको छ। नेपाली कांग्रेसलाई पनि प्रतिगमनकारी वा यथास्थितिवादीको संज्ञा दिनु उपयुक्त हुँदैन। नेपाली कांग्रेसले प्रस्तुत गरेको घोषणापत्रमार्फत उसले आफूलाई प्रगतिशिल बनाएको छ। जसले परिवर्तनको लागि लामो इतिहास बोकेको छ, जो गणतन्त्रलाई स्थापित गराउन अग्रणी बन्न सफल भएको छ, त्यसको कार्यव्यवहारलाई सधैँ टिप्पणी गरिरहनु पनि उपयुक्त हुँदैन। यसो गर्दै रह्यौं भने हामीले हाम्रा प्राप्त उपलब्धिहरू गुमाउनुपर्ने अवस्थामा पुग्नसमेत बाध्य हुनुपर्नेछ, तसर्थ स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो।

हिजो हामीले परिभाषा गर्ने गरिएको कम्युनिस्ट र आजको कम्युनिस्ट आचरणमा धेरै भिन्नता आएको छ। युगले ल्याएका भिन्नतालाई भिन्न व्याख्या पनि गर्न मिल्दैन। कम्युनिस्टहरूको चरित्र अग्रगमन प्रकृतिको हुन्छ। ५० वर्षअघि हाम्रो भान्सामा दाउरा र गुइँठाहरू मात्र हुन्थे। क्रमशः हामी गोलेचुल्हो र भुसेचुल्होमा परिवर्तन भयौं। भुसेचुल्होबाट हामी फित्तावाला स्टोप हुँदै दम दिने स्टोपमा रूपान्तरित भयौं। आज हामी ग्यासेचुल्हो हुँदै, हिटर, इन्डक्सनलगायतका आधुनिक चुल्होको युगमा परिवर्तित भइसकेका छौं। आज चुल्होको परिभाषामा ५० वर्षअघिको दाउरा र गुइँठा मात्र आउँदैन। यस्तै प्रगतिशील चिन्तन बोकेको कम्युनिस्ट ५० वर्षअघिको सोचमा पक्कै रहँदैन। ऊ समयअनुसार परिमार्जित हुँदै पूर्ण लोकतान्त्रिक शक्ति बनिसकेको छ।

आज नेपाली कांग्रेस नेपाली कम्युनिस्टहरूलाई अधिनायकवादी भन्दै हिजोका सहकार्यहरूलाई असंवैधानिक प्रमाणित गर्न खोजिरहेको छ भने नेकपा एमाले तथा माओवादी केन्द्रहरू नेपाली कांग्रेसविरुद्ध कुनै त्यस्तो अलोकतान्त्रिक शव्द खर्चिरहेका छैनन्। यद्यपि वाम गठबन्धनले आफ्नो मुख्य सत्रु नेपाली कांग्रेसलाई भनेको छ। मुलुक निर्माण अभियानमा काँधमा काँध मिलाएर अघि बढेको दललाई उसले पनि सत्रुको संज्ञा दिनु कमजोर पक्ष हो। कांग्रेस विपक्षी होला तर सत्रु होइन। यो सन्देश दिन सक्नुपर्दछ। यस्ता दिग्भ्रमित पार्ने अभ्यासलाई हाम्रा दलहरूले सच्याउन सकेनन् भने बिस्तारै हाम्रा लोकतन्त्रका आवरणहरू फुत्किएर मुलुकको लोकतन्त्रमै खिया नलाग्ला भन्न सकिन्न। इतिहास साक्षी छ, नेपाली कांग्रेस मुलुकको जेठो र अभिभावक पार्टी हो भनेर। राजनीतिमा सही संस्कारको जगेर्ना कांग्रेसले गर्नुपर्दछ र समयको आवश्यकतालाई पनि सम्मान गर्न सक्नुपर्दछ।

नेकपा एमाले तथा माओवादी केन्द्रले आफ्नो लोकतान्त्रिक चरित्रलाई प्रमाणित गर्नको लागि उसले आफ्नो घोषणापत्रमा सामाजिक न्याय र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको छ भने नेपालको संविधानले नै व्यवस्था गरेको समाजवादको कार्यान्वयनका लागि दिशानिर्देश गर्नेसमेत संकल्प बोकेको छ। मुलुकलाई परनिर्भरताबाट क्रमशः आत्मानिर्भरतातर्फ डोर्याउन स्वाभिमानलाई राष्ट्रिय एजेन्डा बनाउँदै आर्थिक समृद्धिको आधार कृषि, पर्यटन, जलविद्युत्, जडीबुटी तथा जनशक्तिको उचित व्यवस्थापन गर्ने लक्ष्य लिएको पार्टी कुनै पनि हालतमा अलोकतान्त्रिक र अधिनायकवादी हुन सक्दैन। मुलुक र जनताको चाहना एवं आवश्यकताअनुसार कार्य गर्दै समुन्नत मुलुकको निर्माण गर्ने संकल्प बोकेको पार्टी जसले जनमत र जनादेशलाई नै मुख्य आधार मान्दछ र जनमत प्राप्तिकै लागि आफूलाई जनताको अदालतमा प्रस्तुत गर्दछ भने त्यस्ता कुनै पनि पार्टी अलोकतान्त्रिक हुन सक्दैनन्।

पछिल्लो समय राजनीतिमा धु्रवीकरणको शुरूवात भएको छ। प्रगतिशीलहरू एउटा कित्तामा उभिएका छन् भने नेपाली कांग्रेसलगायतका दलहरू अर्को कित्तामा उभिन पुगेका छन्। थ्रेसहोल्ड प्रणालीका कारण साना दलहरूको हराएर जाने अवस्था सृजना भएको छ। उनीहरू आफ्नो अस्तित्व रक्षाको लागि कि त कुनै ठूला दलको गठबन्धनमा, कि त ठूला दलभित्र विलय हुनु आवश्यक छ। विगतका अस्थिर राजनीतिका कारक व्यवस्थाहरूलाई नयाँ संविधानले क्रमशः अन्त्य गर्दै स्थिर राजनीतिको लागि उपायहरूको व्यवस्था गरेको छ। त्यही संवैधानिक व्यवस्थाको परिणाम हो वाम गठबन्धन र भनिने गरिएको लोकतान्त्रिक गठबन्धन। लोकतान्त्रिकको संज्ञा कुनै एक गठबन्धनलाई मात्र दिनु युक्तिसंगत हुँदैन। हामीले भुल्नुहुँदैन कि ढाकाटोपी लगाउने मात्र नभएर नलगाउने पनि नेपाली हुन् भनेर।

वाम गठबन्धनले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली र समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई सफल पार्ने र विकास गर्ने लक्ष्य लिएको छ र तीव्र आर्थिक विकास गरी सामाजिक न्यायसहितको समृद्ध नेपालको निर्माण गर्ने संकल्प बोकेको छ भने उसलाई अधिनायकको संज्ञा दिन मिल्दैन। वाम गठबन्धनले पनि आफ्नो लोकतन्त्र प्रतिबद्धता जनतासमक्ष स्पष्टरूपमा राख्न सक्नुपर्दछ। अन्यथा, मुलुक पुनः विषम द्वन्द्वतर्फ नधकेलिएला भन्न सकिन्न। तसर्थ समुन्नत र सभ्य मुलुक निर्माणको लागि स्वच्छ प्रतिस्पर्धाको आवश्यक छ।

(लेखक काफ्ले अधिवक्ता हुनुहुन्छ।)

LEAVE A REPLY