मेला भारतमा पनि



आगामी शुक्रबार अल नेपाल रिलिजमा आउन लागेको फिल्म मेला भारतका लागि राम्रो रकममा बिक्री भएको छ। भोजपुरी स्टार परदेशी शाह (एसपी खरेल) ले मेला भारतमा प्रदर्शन गर्नका लागि १६ लाख (१० लाख भारतीय रुपियाँ) मा किनेका छन्। यससँगै मेला टिमले पनि आफूलाई सुरक्षित महसुस गरेको छ।

वीरगन्जमा आयोजित एक कार्यक्रममा एसपी खरेलले मेलाको टिमलाई १६ लाख रुपियाँको चेक हस्तान्तरण गर्दै भने– ‘मैले मेलाको तीन वटै गीत हेरें, ट्रेलर हेरें अनि फिल्म पनि मोटामोटी पूरै हेरेर अत्यन्त राम्रो तथा समयसापेक्ष पाएकाले इन्डिया राइट्स किनेको हुँ ।’ आफूलाई भारतको फिल्मी बजारबारे पूरै जानकारी भएकाले नेपालीको बेल्ट तथा दिल्ली र मुम्बईमा समेत प्रशस्त नेपाली रहेकोले त्यहाँका ‘क’ वर्गका हलमा सो किनेर चलाउने फिल्म चलाउने उनले बताए।, दार्जिलिङ, सिक्किम, सिलगुडीलगायत धेरै नेपाली बस्ने ठाउँमा मेला देखाइने पनि उनले बताए।

भारतका लागि समेत फिल्म बिक्री गरेपछि खुसी भएका मेलाका निर्माता, लेखक तथा सहनिर्देशक हरि पन्तले यसरी नेपाली फिल्म बजारको दायरा फराकिलो हुनुलाई अत्यन्त सकरात्मकरूपमा लिएको बताए। ‘यसरी सबै देशमा नेपाली फिल्मको बजार विस्तार हुँदै जाने हो भने नेपाली फिल्म उद्योगले ठूलो फट्को मार्छ’, उनले भने– ‘त्यसका लागि स्तरीय फिल्म बनाउनुपर्छ। त्यसैले मैले मेलामा सकेसम्म कुनै पनि त्रुटि हुन दिएको छैन।’

सलोन बस्नेत, अशिष्मा नकर्मी, आमेश भण्डारी अभिनित मेलालाई वसन्त निरौलाले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्