नौ जनाको उम्मेदवारी फिर्ता



 

कुमार श्रेष्ठ, बाँके
बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार महेश्वर गहतराज ‘अथक’ आइतबार अझ तनावमा थिए। वाम गठबन्धनमा त्यो क्षेत्र माओवादी केन्द्रको भागमा परेपछि सहजै टिकट पाएका अथकलाई आफ्नै पार्टीबाट धेरैले वागी हालिदिएपछि तनाव भएको थियो।

उम्मेदवारी दर्ता (१६ गते) पछि नै वागीलाई मिलाउन लागिपरेका अथकलगायत माओवादी केन्द्रका नेताहरू आइतबार धेरै हदसम्म सफल भएका छन्। अथकका विरुद्धमा माओवादीका सुरेशकुमार चौधरी, सविर खाँ र दुर्गाप्रसाद चौधरी वागी उम्मेदवार बनेका थिए। धेरै मेहनतपछि सुरेश र सविरको उम्मेदवारी फिर्ता भएको छ। दुर्गाप्रसादले चाहिँ उम्मेदवारी फिर्ता लिएनन्।

यो क्षेत्रका कांग्रेस उम्मेदवार माधवराम खत्री पनि वागीले गर्दा तनावमा थिए। नेताहरूको जोडबलले गर्दा कृष्ण कार्कीले उम्मेदवारी फिर्ता लिइदिएपछि खत्रीलाई सकुन मिलेको छ। यो क्षेत्रको प्रदेश १ मा पनि माओवादी केन्द्रमा केही दिन तनाव नै भयो। कृष्णा केसी ‘नमुना’ को वागी बनेर माओवादीका अम्मर खड्काले उम्मेदवारी दिएका थिए। आइतबार खड्काले पनि उम्मेदवारी फिर्ता लिएका छन्। क्षेत्र नं. १ को ‘क’ मा स्वतन्त्र उम्मेदवारी दिएका हेमकुमार यादवले पनि नाम फिर्ता लिएका छन्।

निर्वाचन अधिकृत उद्धव गजुरेलका अनुसार, अब क्षेत्र नं. १ मा ३० जना उम्मेदवार रहेका छन्। प्रतिनिधिसभा, प्रदेशका १ र २ मा दश–दश जना उम्मेदवार भएका छन्।

क्षेत्र नं. २ मा प्रतिनिधिसभामा दुई र एक जना प्रदेशसभाकी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। कांग्रेसका धु्रव दाहाल र माओवादीका मुगबहादुर शाहले प्रतिनिधिसभामा दिएको उम्मेदवारी फिर्ता लिएका हुन्। पार्टीको चर्को दबाबपछि उनीहरूले उम्मेदवारी फिर्ता लिएको हुन्। क्षेत्र नं. २ को ‘क’ बाट उम्मेदवारी दिएकी सरोजकुमारी यादवले पनि उम्मेदवारी फिर्ता लिएकी छन्। संघीय समाजवादी फोरमबाट यो प्रदेशमा उनका श्रीमान् विजयबहादुर यादव उम्मेदवार रहेका छन्। स्थानीय निकाय होस् या माननीयको चुनाव दुवैमा यी श्रीमान्श्रीमतीले सँगै उम्मेदवारी दिने र पछि एकले फिर्ता लिने गरेको जानकारहरू बताउँछन्।
क्षेत्र नं. २ मा अब ४५ जना उम्मेदवार रहेका छन्। प्रतिनिधिसभामा १६, प्रदेश १ मा १३ र २ मा १५ जना उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले बताउनुभयो। ११ जनाले वागी उम्मेदवारी दिएकोमा तीन जनाले फिर्ता लिएका छन्। अब प्रतिनिधिसभामा ४ र प्रदेश सभामा २–२ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

क्षेत्र नं. ३ मा राष्ट्रिय जनमुक्ति पार्टीकी उम्मेदवार सकुन्तला पुनले मात्रै उम्मेदवारी फिर्ता लिएकी छन्। यो क्षेत्रका वागी उम्मेदवार पछाडि हटेका छैनन्। निर्वाचन कार्यालयका अनुसार, यो क्षेत्रको प्रतिनिधिसभामा ८, प्रदेश १ मा ९ र प्रदेश २ मा ११ जना उम्मेदवार रहेका छन्। प्रदेश २ मा एमालेका पुराना नेता बाबुराम गौतमविरुद्ध माओवादी केन्द्रका विजय पाठकको वागी उम्मेदवारीलाई चासोको रूपमा हेरिएको छ।

निर्वाचन कार्यालयले आइतबार नै उम्मेदवारहरूलाई निर्वाचन चिह्न दिएको छ। पार्टी र नेताको चर्को दबाब झेल्न नसकेर वागीले उम्मेदवारी फिर्ता दिएका छन्। केही वागी भने मोबाइल अफ गरेर बसेका थिए। वागी उम्मेदवारी फिर्ता नलिएकालाई पार्टीहरूले कारबाही गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्