दोलखामा मानसिक छाउ प्रथा कायमै

 

नेपाल समाचारपत्र
दोलखा
दोलखाको विभिन्न ठाँउमा छाउपडी प्रथाजस्तै पहिलोपटक मैनावारी हँुदा घरबाट टाढा जानुपर्ने प्रचलन रहेको छ। जसको कारण मानसिक तथा शारीरिकरूपमा समस्या भोग्नुपरेको पीडित किशोरीहरूले गुनासो गरेका छन्।

पोसिबल हेल्थ नेपालकी पार्टनरसीप म्यानेजर तथा लैङ्गिक समानता समितिकी सदस्य शुभेच्छा पौडेल छाउपडीको गोठ नभए पनि दोलखालगायत केही ठाउँमा मानसिक छाउ प्रथा प्रचलनमा रहेको बतउँछिन्। पश्चिमतिर देखिने गरी छाउगोठ हुन्छ तर दोलखालगायत कतिपय ठाउँमा धर्मको नाममा जुनसुकै वर्गका किशोरीले कोठाभित्र छाउगोठभन्दा कठिन दिन बिताउनुपर्ने बाध्यता रहेको पौडेलको भनाइ छ।

दोलखा मेलुङ गाउँपालिका–१ मेलुङकी १५ वर्षकी रजिता नगरकोटीले पहिलोपटक महिनावारी भएर परम्परालाई मान्दै हजुरबुबाको घरमा बस्न जाँदा झण्डै ज्यान गुमाउनुपरेको पौडेलले बताइन्। अत्यधिक रक्तश्राव भएपछि सदरमुकाम चरिकोटस्थित प्रस्तावित चरिकोट अस्पताल भर्ना गरिएकी रजिताले भनिन्– ‘महिनावारी हुँदा ठूलै समस्या पनि हुन सक्छ भन्ने ज्ञान नहुँदा यस्तो पीडा खेप्नुपर्यो। पहिलोपटक महिनावारी हुँदा दाइ, भाइ, बुबाको मुख हेर्नु हुँदैन, आफू जन्मेको घरको धुरी पनि हेर्नु हँुदैन भनेर मलाई आमाले हजुरबुबाकोमा बस भनेर पठाउनुभयो’, रजिताले भनिन्– ‘मलाई धेरै पेट दुखेर रगत बगेको थियो, अरूको घरमा केही पनि छुन हुँदैन भने, धेरै गाह्रो भयो।’ त्यतिबेला भोक लाग्दा बारीको बदाम खोतलेर खाएको उनले सुनाइन्।

प्रस्तावित चरिकोट अस्पतालका मेडिकल डाइरेक्टर विनोद दंगाल चेतनाको अभावले महिनावारी हुँदा ख्याल नगर्ने समस्या रहेको बताउँछन्। डा. दंगालका अनुसार महिनावारी नियिीत प्रक्रिया भए पनि कहिलेकाहीं समस्या हुने बताउँछन्। महिनावारी भएको बेला फोहोर रगत बग्छ, धार्मिक कार्य गर्नु हँुदैन भन्ने मानव निर्मित संस्कारको अन्त्य गर्नु आवश्यक रहेको डाक्टर दंगालको भनाइ छ। चरिकोट प्रस्तावित अस्पतालमा उपचारका लागि आउनुभएको रोजितालाई डाक्टर बुद्धिकृष्ण श्रेष्ठ र डाक्टर उद्धव अधिकारीले रगत दिनुभएको अस्पतालका स्वास्थ्यकर्मी एलिना कार्कीले बताइन्। अहिले रोजिताको स्वास्थ्य अवस्थामा सुधार भएको र अझै रगतको आवश्यकता हुनसक्ने अस्पतालका डाक्टर विनोद दंगालले बताउनुभयो।

पहिलोपटक रजस्वला भएर अरूको घरमा ५ दिन बिताएकी रजितालाई घर फर्किएकै दिनदेखि अत्यधिक रक्तश्राव भए पनि कसैले वास्ता गरेनन्। उनले पनि आफ्नो समस्या सुनाइनन्। ‘महिनावारी हुँदा रगत बग्नुलाई समान्य मानेर वास्ता गरेनौं’, रजिताको आमा रीताले भनिन्– ‘अचेत भएर ढलेपछि मात्र समस्या थाहा पाएर स्वास्थ्य चौकी लग्यौं।’ उनी भन्छिन्– गाउँको स्वास्थ्यकर्मीले रगत धेरै बगेकाले रगत हाल्नुपर्छ भनेपछि सदरमुकाम आएका हौं। केही समय ढिला भएको भए छोरीको ज्यान जानसक्ने रहेछ।’ आफूले परम्परागत संस्कारलाई आधार मानेर छोरीलाई अरूको घर पठाएकाले यस्तो समस्या भोग्नुपरेको उनी बताउँछिन्। महिनवारी हुँदा बार्नुपर्ने चलन गलत हो भन्ने थाहा पाए पनि समाजका सबैले नबारेको थाहा पायो भने घृणा गर्छन् भन्ने डरले छोरीलाई आफन्तको घरमा पठाएको उनको भनाइ छ।

LEAVE A REPLY