नयाँ शक्तिको सिंगो कमिटी एमालेमा



 

चिरञ्जीवी मास्के, दोलखा
नयाँ शक्ति नेपाल पार्टीको सिंगो दोलखा जिल्ला कमिटी एमाले दोलखा जिल्ला कमिटीमा एकीकरण भएको छ। आइतबार एमाले अध्यक्ष ईश्वरचन्द्र पोखरेल र नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवीन्द्र कार्कीले एकताको घोषणा गरेका हुन्।
समृद्ध नेपाल निर्माणका लागि वाम गठबन्धन र वामपन्थीको नेतृत्वमा सरकार निर्माण अपरिहार्य भएकोले वाम एकतालाई अझ मजबुत बनाउने उद्देश्यका साथ दोलखाको एमाले र नयाँ शक्ति नेपाल पार्टीबीच एकीकरण गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।

पार्टी एकीकरण घोषणा कार्यक्रममा एमाले अध्यक्ष ईश्वरचन्द्र पोखरेलले नयाँ शक्ति नेपाल पार्टीका अध्यक्षलगायत जिल्ला कमिटीका सम्पूर्ण सदस्य र अन्य कमिटीमा आवद्ध सदस्यहरूलाई एमालेमा महत्त्वपूर्ण जिम्मेवारी दिइने बताए। पार्टी एकीकरण पछि नयाँ शक्ति नेपाल पार्टीका जिल्ला संयोजक रवीन्द्र कार्कीलगायतका केही नेताहरू एमाले दोलखाको सचिवालय सदस्यमा मनोनयन भएको पनि एमाले अध्यक्ष पोखरेलले बताए।

नयाँ शक्ति नेपाल पार्टी दोलखाका संयोजक रवीन्द्र कार्कीले पार्टी एकतासँगै तल्लो तहका कमिटीहरू र जनवर्गीय संगठनसमेत एकीकरण भएकाले सोहीअनुसार एमालेमा सक्रिय रहन अनुरोध गरे।

उम्मेदवारी फिर्ता
पार्टी एकीकरण भएपछि नयाँ शक्ति नेपाल पार्टीका तर्फबाट दोलखामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका वैकुण्ठप्रसाद भण्डारीले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्। पार्टी एकीकरणपछि आफ्नो दायित्व वाम गठबन्धनका उम्मेदवार एमाले केन्द्रीय सदस्य पार्वती गुरुङलाई जिताउनु रहेकाले आफूले उम्मेदवारी फिर्ताको घोषणा गरेको भण्डारीले बताए। उनले आफू अब वाम गठबन्धनलाई विजयी गराउन सक्रिय रहने पनि बताए।

कारबाही
नेकपा एमालेका केन्द्रीय उद्योग विभाग सदस्य एवं दोलखाका पुराना नेता लालकुमार केसी नेकपा मालेको तर्फबाट प्रदेश नम्बर २ को उम्मेदवार बनेपछि एमाले दोलखाले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै एमाले दोलखाका नेता लालकुमार केसी र सचिवालय सदस्य कुमार खड्काले पार्टीको हितविपरीत काम गरेकाले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्