सलिम अन्सारी, प्युठान

आउँदो मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा प्युठानमा वाम गठबन्धन र नेपाली कांग्रेस आमनेसामने हुने भएका छन्। बिहीबार वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेसले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। दुवै पक्ष बाजागाजासहित सदरमुकाम खलंगा परिक्रमा गरी जिल्ला समन्वय समितिको सभाकक्षमा स्थापना गरिएको मुख्य निर्वाचन कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गराउन पुगेका थिए।

प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निवर्तमान सीईओ गोविन्दराज पोख्रेल र वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलले मनोनयन दर्ता गरेका छन्। प्युठानमा पोख्रेल र पौडेल उत्तिकै परिचित छन्। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका कांग्रेस उम्मदवार पोख्रेल जनतामाझ लोकप्रिय छन्। वाम शक्तिको प्रभाव रहेको प्युठानमा वाम पृष्ठभूमिबाट कांग्रेस प्रवेश गरेका गोविन्दराज पोखेल लोकप्रिय मानिन्छन् भने वाम गठबन्धनकी साझा उम्मेदवार पौडेल लामो समयदेखि राजनीतिमा लागेकी नेत्री हुन्। दुर्गा विघटित व्यवस्थापिका संसद्मा पनि राष्ट्रिय जनमोर्चाका तर्फबाट समानुपातिक कोटामा संसद बनेकी थिइन्।

उनी पुराना कम्युनिस्ट नेता एवं नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी कान्छी पत्नी हुन्। केन्द्रमा एक र प्रदेशमा दुई सिट रहेको प्युठानमा राष्ट्रिय समीकरणअनुसार केन्द्रमा राजमो र प्रदेशमा एमाले माओवादीले एक–एक सिटमा प्रत्यक्ष चुनाव लड्ने सहमति भएको हो।
यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर एकबाट कांग्रेसका क्षेत्रीय सभापति टेकप्रसाद भण्डारीले मनोनयन दर्ता गराएका छन्। वाम गठबन्धनका तर्फबाट एमालेका पूर्व जिल्लाअध्यक्ष हरिप्रसाद रिजालले मनोनयन दर्ता गराए। यस्तै निर्वाचन क्षेत्र नम्बर दुईबाट कांग्रेसका जिल्ला सभापति अमरप्रसाद भण्डारी र वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णध्वज खड्का रहेका छन्। नयाँ शक्ति पार्टी नेपाल, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले समेत प्रदेशसभा र प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ। कार्यालयका अनुसार यहाँ शान्तिपूर्ण तरिकाले उम्मेदवार मनोनयन दर्ता भएको छ।

घेराबन्दीमा कांग्रेस
प्युठान जिल्ला राजनीतिक रूपमा कम्युनिस्टहरूको पुरानो किल्लाकारूपमा चिनिन्छ। २०४८ सालपछि कम्युनिस्टहरूले एकलौटी राज गर्दै आएको जिल्ला हो प्युठान। २०४८ को संसदीय निर्वाचनमा तत्कालीन नेकपा मसालले निर्वाचन बहिस्कार गर्दा दुवै निर्वाचन क्षेत्रमा कांग्रेसले जिते पनि त्यसयता मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाले पकड जमाउँदै आयो। २०५१ सालमा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस र क्षेत्र नम्बर २ मा मसाल विजयी भए। २०५६ सालको निर्वाचनमा दुवै क्षेत्रमा जनमोर्चाले आफ्नो विजयीको झन्डा फहरायो। त्यसयता प्युठानलाई राजमोले आफ्नो किल्ला बनाउँदै आयो।

संविधानसभा निर्वाचन २०६४ मा जिल्लाको दुवै निर्वाचन क्षेत्रमा कब्जा जमाएको अहिलेको माओवादी केन्द्रलाई पछि पार्दै नेकपा एमालेले २०७० सालको निर्वाचनमा दुवै निर्वाचन क्षेत्रमा आफ्नो विजयीको झन्डा फहरायो। त्यसदेखि अघिका निर्वाचनमा राजमोलाई सघाउँदै आएको एमाले उसलाई समेत पाखा लगाउँदै पहिलो शक्तिका रूपमा देखा पर्यो। जिल्लामा लामो समयदेखि पकड जमाउँदै आएका यी वामपन्थी दल राष्ट्रियरूपमा चुनावी तालमेलसँगै पार्टी एकतासम्मको योजना बनाएर मैदानमा होमिएका छन्।

स्थानीयतहको चुनावसम्म पनि पानी बाराबारको अवस्थामा रहेका दुई ठूला वामपन्थी घटक नेकपा एमाले र माओवादी केन्द्र यसपटक एउटै चुनावी मोर्चामा छन्। एमाले माओवादी गठबन्धनमा राष्ट्रिय जनमोर्चासमेत जोडिएपछि प्युठानमा गठबन्धन अझै बलियो बनेको छ। एक्लै मैदानमा उत्रिएको नेपाली कांग्रेसलाई कम्युनिस्ट गठबन्धनबाट राजनीतिकरूपमा निर्माण हुने लालकिल्ला भत्काउनैपर्ने चुनौती खडा भएको छ, भने राजमोसहितको एमाले माओवादी गठबन्धनलाई २०५१ देखि स्थानीय तह निर्वाचनसम्मको आफ्नो बिरासत जोगाउँदै प्युठान जिल्लालाई आफैंले घोषणा गरेको कम्युनिस्ट जिल्ला लालकिल्ला सुरक्षित गर्नुपर्ने चुनौती रहेको छ।

राजनीतिकरूपमा कांग्रेस प्रतिरक्षात्मक देखिएको र वाम गठबन्धन शालीन आक्रामक बन्नुपर्ने अवस्थामा रहेको पाइएको छ। कांग्रेसमा जनलहर बढ्दै गर्दा वाम गठबन्धनलाई आगामी निर्वाचन प्रतिष्ठा र अस्तित्त्वको लडाइँकारूपमा देखिएको छ। आगामी मंसिरमा हुन लागेको चुनावमा कम्युनिस्ट गढ भत्काउने दाउमा लागेको कांग्रेस घेराबन्दीमा परेको छ। प्युठानमा सधैं कमजोर सावित भएको कांग्रेसलाई हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको सफल्ताको गर्व छ, भने गठबन्धन दललाई ठूला वाम एक ठाम भएकोमा हर्षबढाइ छ। उनीहरूले गत निर्वाचनमा पाएको मतलाई जोडघटाउ गर्दै बाजी मार्ने दाबी गरिरहेका छन्।

निर्वाचनमा वामदलहरूको सांगठानिक अवस्था र उनीहरूले प्राप्त गरेको मत हेर्दा कांग्रेसलाइ जित हत्ताउन फलामको चिउरा चपाउनु जस्तै हुने विश्लेषकहरू बताउँछन्। यद्यपि गएको चुनावमा जिल्लाभरका कम्युनिस्ट किल्लामा राम्रै धावा बोलेको कांग्रेसलाई कमजोररूपमा आकलन गर्न नहुने उनीहरूले तर्क गरे। नतिजा जसको पोल्टामा गए पनि कडा प्रतिस्पर्धा हुने कुरा सबै स्वीकार्छन्। स्थानीयतह निर्वाचनअनुसार जिल्लामा कांग्रेस दोस्रो शक्ति हो।

एक निर्वाचन क्षेत्र रहेको प्युठानमा प्रतिनिधिसभाका लागि १ जना र प्रदेशसभाका लागि २ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने छन्। जिल्लाका ३ ठूला दल एमाले, राजमो र माओवादी केन्द्र एकै ठाउँमा उभिएपछि वाम गठबन्धन कांग्रेसभन्दा दोब्बर मतले बलियो देखिएको हो। गएको निर्वाचनमा जिल्लाका ९ स्थानीयतहमध्ये ६ वटामा वामदलले जितेका थिए। तर, निर्वाचनका बेला केही मत तलमाथि पर्न सक्ने अनुमान राजनीतिक दल र विश्लेषकहरूको छ। स्थानीयतह निर्वाचनमा यहाँ वाम गठबन्धन दलले ६४ हजार ३ सय ३५ मत पाएका थिए भने नेपाली कांग्रेसले २३ हजार २ सय ८२ मत पाएको थियो। वाम गठबन्धनका पक्षमा नेपाली कांग्रेसको भन्दा ४१ हजार ५३ मत बढी छ।

LEAVE A REPLY