प्रकाश पन्त, सुर्खेत

जाजरकोटबाट प्रतिनिधिसभाका उम्मेदवार राजीवविक्रम शाह ३ दशकअघि काठमाडौंबाट पहिलो पटक आफ्नो पुख्र्यौली थलो जाजरकोट गएका थिए। १६ वर्षको हुँदा कुलदेवता पूजा गर्न आमासँग जाजरकोट गएका उनले पहिलो पटक आफ्नो पुख्र्यौली थलो जाजरकोट पुग्दा थुप्रै विषमता देखे। त्यो बेला जाजरकोटमा बाटो थिएन, महिलाहरू घुम्टोमा बसेको देख्दा उनी छक्क परे।

जाजरकोटको रहनसहन, गरिबी र जनताको जीवनस्तर देख्दा उनी निकै भावुक बनेका थिए। आफ्ना पुर्खालाई इज्जत दिएको ठाउँको दुरावस्थाले उनलाई पुख्र्याैली ठाउँका लागि केही न केही गर्नुपर्छ भन्ने भावना पैदा भयो। त्यही भवनालाई सकार पार्नका लागि उनको समाज सेवाको यात्रा शुरू भयो। उनले भने– ‘म पैसा कमाउन राजनीतिमा आएको होइन, म समाजसेवी हुँ, मलाई परिस्थितिले राजनीतिमा लिएर आयो।

तीन पुस्ताअघि काठमाडौं आए पनि शाहको परिवारले आफ्नो पुख्र्यौली थलोलाई कुनै न कुनैरूपमा सहयोग गरिरह्यो। जाजरकोटमा विदेशी डाक्टरहरू लिएर स्वास्थ्यशिविर सञ्चालन गर्नेदेखि न्यानो कपडा बाँडने, हाइजेनिक टुटपेस्ट वितरण गर्ने, डेन्टल क्लिनिक चलाउनेजस्ता थुप्रै सामाजिक काम गरिएको थियो। जिल्ला अस्पताल जाजरकोट सञ्चालनमा ल्याउने पनि शाहकै परिवार थियो। राजीवकी आमा जयाराज्य लक्ष्मी शाह समाज कल्याण परिषद्को कोषाध्यक्ष थिइन् उनकै पहलमा अस्पताल सञ्चालन भएको थियो। जयाले तत्कालीन महारानी ऐश्वर्यलाई लिएर अस्पताल उद्घाटन गराएकी थिइन्। ४⁄५ वर्षसम्म त्यो अस्पताल शाहको परिवारले आफ्नो व्यक्तिगत लगानीमा सञ्चालन गरेको थियो। बहुदल आएपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा सरकारलाई हस्तान्तरण गरिएको थियो। त्यसपछि जिल्ला अस्पताल सञ्चालनको जिम्मा सरकारले लिएको थियो।

१९९३ मा राजीवविक्रम शाह अमेरिकाबाट पढाइ सकेर नेपाल आए। २ वर्ष बैंकमा काम गरे। त्यो बेला युद्ध शुरू भएको थियो। ‘नेपालको पर्यटन क्षेत्रको विकास गर्नका लागि होटेल खोल्ने योजना बनाएँ’, शाहले भने– ‘जग्गा पनि लिएँ तर युद्धका कारणले होटेल गर्न सकिएन। साधनस्रोत भएको मान्छेलाई त काम गर्न यस्तो कठिन छ, जाजरकोटजस्तो त्यो दूरदराजको मान्छेलाई काम गर्न कति कठिन होला भनेर सोचें ? त्यसपछि मलाई पुख्र्यौली थलाको लागि केही गर्नुपर्छ भन्ने लाग्यो अनि समाज सेवामा सक्रिय भएँ।’

शान्ति स्थापनाभएपछि राजीवविक्रम शाह जाजरकोट फर्किए। त्यो बेला खलंगा हुँदै ढिमे, हान्नेसल्ला, पैक, बारेकोट, रामीडाँडा, लहँ, डाडाँगाउँ हँुदै खलंगा फर्किए। त्यो बेला भने झन् जाजरकोटलाई नजिकबाट नियाल्ने मौका पाए। जाजरकोटमा फैलिएको झाडापखालाका बेला शाहले धेरै जनताको ज्यान बचाएका थिए। झाडापखाला नियन्त्रणका लागि निजी खर्चमा हेलिकोप्टरमार्फत् औषधि र डाक्टर जाजरकोटका गाउँ–गाउँमा पुर्याए। अनि जनताको जीवन बचाए।

१५ दिनजति आफैं खटिएर झाडापखालाबाट बिरामी परेका जनताको उपचार गरेका थिए। उनले विगत सम्झंदै भने– ‘झाडापखालाले जाजरकोटमा एकपछि अर्को गर्दै सर्वसाधारणको मृत्यु हुन थालेपछि तत्कालीन सरकारलाई भेटेर नियन्त्रणका लागि आग्रह गरें, तर मेरो आग्रहलाई सरकारले राम्रोसँग रेस्पोन्स गरेन। त्यतिबेला माधवकुमार नेपाल प्रधानमन्त्री थिए। सरकारले ध्यान नदिएपछि आफ्नै खर्चमा हेलिकोप्टरबाट डाक्टर र औषधि लिएर गाउँमा उपचार गर्न पुगें, अनि बल्ल सरकार पनि तात्तिएका थियो। त्यो हेलिकोप्टरबाट डाक्टर र औषधि ल्याउँदा ६०⁄७० लाख रुपियाँ खर्च भएको थियो। एसओएसले ५ लाख र अन्य साथीहरूले २⁄४ लाख रुपियाँ सहयोग गरेका थिए। त्यो बाहेक बाँकी रकम शाह आफैंले खर्च गरेका थिए।
उनले जाजरकोटका सबै जनतालाई समानरूपमा हेर्दै आएका छन्। उनले सहयोग गर्दा कुनै पार्टी सोध्दैनन्। कांग्रेस, एमाले, माओवादी जो भए पनि सहयोग गर्छन्। ‘समानरूपमा सेवा गर्दै आएको छु, उनले भने– ‘मैले कसैलाई काखा र पाखा गरिनँ, समस्या पर्दा सबैलाई सहयोग गर्दै आएको छु।’

सामाजिक काम गर्दागदै उनी कांग्रेसको राजनीतिमा आए। कांग्रेसले उनलाई २०६४ सालको संविधानसभा चुनावमा समानुपातिक सांसदको उम्मेदवार बनायो। तर संविधानसभा सदस्य बनाएन। पार्टीले संविधानसभा सदस्य नबनाए पनि उनी जनताको सेवा र पार्टी राजनीतिमा निरन्तर लागिरहे। पार्टी राजनीतिमा आएपछि गाउँ–गाउँमा पुगेर संगठन विस्तारमा जुटे ।

छोटो समयमै जनताको विश्वास जित्न सफल भए। जाजरकोटमा राजीव शाह भन्ने ब्रान्ड नै बन्यो। दुःख पर्दा सबले राजीवलाई सम्झिन थाले। उनले जाजरकोटीलाई समस्या पर्दा सधैं अग्रपंक्तिमा आएर सहयोग गरे। चाहे त्यो भेरीमा बस दुर्घटना हुँदा होस्, चाहे, दशेरामा बम विस्फोटन हुँदा, चाहे भगवतीमा पहिरो जाँदा होस् वा बोहोरामा गाडी दुर्घटना पर्दा आफ्नै खर्चमा हेलिकोप्टर लिएर जनताको ज्यान बचाए, गोताखोरहरू लिएर खोजतलास गरे। जनताको सुखदुःखमा साथ दिएकै कारण उनी जाजरकोटी जनताका प्रिय नेता बने। पार्टीको चुनावमा सर्वाधिक मत ल्याएर महाधिवशेन प्रतिनिधि भए। जनताको विश्वास जित्दै गएपछि उनलाई जनताले २०७० सालको संविधानसभा चुनावमा जिताए।
चुनाव जितेपछि उनले आफूले पाउने सबै सेवा सुविधा जनताको हितमा खर्च गर्दै आएका छन्। शाहले भने– ‘जाजरकोट पछाडि परेकै कारण जनशक्तिको अभावले पनि हो।

पहिलो पटक आफ्नो पुख्र्यौली घर जाजरकोटका दुर्गम गाउँमा जाँदा, जाजरकोटी जनताको जीवनशैली देख्दा उनी रोएका थिए। जाजरकोटको गरिबी, विपन्नता, रोग, भोगले उनको मन बेचैन भएको थियो। जाजरकोटको दुरावस्था देखेपछि शाहले आफ्नो पुख्र्यौली थलोलाई अहिले कर्मथलो बनाएर समाज सेवाको काम गरिरहेको छन्।

जाजरकोटबाट केही सीमित व्यक्तिबाहेक अरू कोही पनि उच्च ओहदामा पुगेका छैनन्। दुर्गमको सेवा सुविधा पनि जाजरकोटका हुने खाने र सम्पन्नले नै लिएका छन्। दुर्गम कोटाबाट इन्जिनियर, डाक्टर पनि हुने खाने र पहुँच भएका नेताका छोराछोरी र आफन्तहरू भएका छन्। गरिब जनताका छोराछोरी भएका छैनन्। पाटन अस्पतालमा पिछडिएको कोटामा भाटभटेनी सुपर मार्केटले छात्रवृत्ति दिन्छ। यो छात्रवृत्तिमा नेताका आफन्तले पाएका छन्। तर शाहले गर्खाकोटका अमिन शाहीलाई हरेक वर्ष १ लाख रुपियाँ तिरेर डाक्टर पढाए। ३ पटक नाम निकाल्दा पनि उनी छात्रवृत्तिमा परेनन् तर पछि राजीव शाहले वर्षेनी १ लाख रुपियाँ अस्पताललाई दिने भएपछि शाहीले भर्ना पाए। अहिले उनी डाक्टर सकेर जाजरकोटकै दल्लीमा काम गरिरहेका छन्।

उच्च सरकारी पदमा जाजरकोटवासीको प्रतिनिधित्त्व गर्ने उद्देश्यले शाहले सुर्खेतमा दुर्गम क्षेत्रका विद्यार्थीलाई लोकसेवा आयोगको तयारी कक्षाका लागि आधा खर्च व्यहोर्दै आएका छन्। त्यस्तो सहयोग अहिले ५ हजारभन्दा बढी विद्यार्थीले लिइसकेका छन्। मानवीय जनशक्तिको विकास गर्ने उद्देश्यले राजीवविक्रम शाहले जाजरकोटमा रहेको सेनाको व्यारेकबाट सैनिक छनोट गर्ने व्यवस्था मिलाए। तत्कालीन प्रधानसेनापति गौरवशमशेर राणालाई आग्रह गरेर उनले जाजरकोट व्यारेकबाट सैनिक छनोट गर्ने व्यवस्था मिलाएका थिए। उनले भने, बाहिरबाट सैनिक छनोट गर्दा जाजरकोटबाट २⁄४ जना पनि पर्न कठिन हुन्थ्यो। त्यसैले जाजरकोटबाटै छनोट गर्ने व्यवस्था गर्यो भने धेरै जना हुन्छ भनेर त्यो आग्रह गरेका थिए। अहिले वर्षेनी ६० जनाभन्दा बढी खुल्छ त्यसमा अधिकांश जाजरकोटकै हुन्छन्।

शाहले आफू सांसद भएपछि अहिलेसम्मको अवधिमा समस्या परेका नागरिकका सहयोगमा करिब ६० लाख रुपियाँ खर्च गरेका छन्। हरेक महिना उनको ८० हजारभन्दा बढी तलब हुन्छ। उनी १ रुपियाँ पनि लिंदैनन्। त्यो रुपियाँ गरिब तथा विपन्न जनताका लागि खर्चन्छन्। ८० हजार रुपियाँबाहेक महिनामा उनले ३⁄४ लाख रुपियाँ आफ्नो पकेटबाट सहयोग गर्छन्। सांसद्मा निर्वाचित भएपछि उनले पूर्वाधार निर्माण, जनशक्ति उत्पादन, शिक्षा, स्वास्थ्यमा बढ्ता फोकस दिए। गाउँ–गाउँलाई सडक सञ्जालले जोडे। विद्यालयको भवन निर्माण देखि विद्यार्थीको लागि प्राथमिक उपचारसहितको किटवक्स दिए। जनतालाई सुखदुःखका बेला साथ दिंदै आए। भगवतीमा पहिरो गर्दा, दशेरामा बम विस्फोट हुँदा, गाडी दुर्घटना हुँदा, झाडापखालाको महामारी फैलँदा, गाउँका मान्छेलाई तत्काल बचाउनुपर्ने अवस्था आउँदा उनले आफ्नै खर्चमा हेलिकोप्टर ल्याएर जनताको उद्धार गरे। त्यसै कारणले उनी राजनीतिमा आएदेखि नै जाजरकोटमा राजीव ब्रान्ड नै चलेको छ। जताततै राजीव ब्रान्डकै चर्चा छ।

LEAVE A REPLY