२०४८ सालपछि एउटै कार्यक्रममा देखिए कम्नियुष्ट नेता



धनवीर दाहाल, रुकुम मुसिकोट ।
नेकपा माओबादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य एवं बिना बिभागिय मन्त्री जनार्दन शर्माले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निबार्चनमा बाम गठबन्धनको दुई तिहाई आउने दावी गर्नुभएको छ । जनताको चाहना अनुसार बाम गठबन्धन भएको बताउँदै उहाँले अहिलेको गठबन्धन बाम गठबन्धन मात्र नभएर पार्टी एकता प्रक्रियाको थालनी भएको जानकारी दिनुभयो । आइतबार पश्चिम रुकुममा भएको युवा भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

यस्तै प्रेस चौतारी र प्रेस सेन्टर रुकुमले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा पनि उहाँले वामहरु मिलेर आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा दिइएको उम्मेदवारी गठबन्धन मात्र नभएर पार्टी एकताको प्रक्रिया रहेको बताउनुभएको थियो । रुकुम पश्चिमबाट बाम गठबन्धनका प्रतिनिधि सभाका लागी साझा उम्मेदवार समेत रहनुभएका शर्माले समय अभावका कारण मात्रै एमाले माओवादीले आ–आफ्नै उम्मेदवारी दिनु परेको बताउनुभयो ।

उहाँले पार्टी एकता गरेरै निर्वाचनमा जाने तयारीमा रहेको भए पनि केही प्राविधिक कुरा नमिन्नु तथा समय अभावको कारण तत्कालै पार्टी एकता सम्भव नभएपछि ६०र४० सिट बाँडफाँडका आधारमा निर्वाचनमा जाने र निर्वाचनलगत्तै पार्टी एकताको तयारी भइरहेको जानकारी दिनुभयो । देश र राष्ट्रिय हितको साथै समयको मागबमोजिम नै कम्युनिस्ट एकताको प्रक्रिया सुरु भएको भनाई उहाँको थियो । कम्युनिस्ट एकताको सन्देश निर्वाचनलगत्तै एमाले र माओवादी एक भएर दिने उहाँको दावी छ । राजनीति स्थिर नहुँदा देश स्थिर भइरहने अवस्था नरहेकाले विकास निर्माण संभव नदेखिएपछि एकता प्रक्रिया थालिएको बताउनुभयो । अब बन्ने सरकार ५ वर्षसम्म रहने भन्दै उहाँले त्यसपछि जनताले दल तथा उम्मेदवारी छान्ने अवसर पनि पाउने उहाँको दावी छ ।

दस महिनाभन्दा धेरै सरकार नटिक्ने भएकाले जनता पनि अलमलमा परेकाले अब जनप्रेमी र विकासप्रेमी पार्टी अस्तित्व मात्रै रहने शर्माले बताउनुभयो । देशले स्थायी सरकारको महसुस गरेको र वाम तथा लोकतान्त्रिक धुव्रीवकरण सुरु भएकाले अब देशमा विकास र आर्थिक समृद्धिले पनि फड्को मार्न धेरै समय नलाउने शर्माको जिकिर छ । बृहत कार्यकर्ता भेलामा रुकुम पश्चिम क्षेत्र नं १ का उम्मेदवार रातो कामी, क्षेत्र नं २ का उम्मेदवार गोपाल शर्मा अनल, नेकपा एमालेबाट प्रदेश नं ६ का समानुपातिक उम्मेदवार देवी ओली, माओबादी केन्द्रका प्रदेश नं ६ का समानुपातिक उम्मेदवार बिमला के.सी लगाएतले अव मुलुकमा आर्थिक समृद्धि आउने र देश कायापलट हुने धारणा राख्नुभयो । उम्मेदवाहरुले रुकुमको विकासका लागी आफुहरुले सबै शक्ति खर्चिने भन्दै निर्धक्क भएर बामगठबन्धनलाई भोट दिन आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका रुकुम पश्चिमका अध्यक्ष बिमल पुन, माओबादी केन्द्र रुकुम पश्चिमका संयोजक बसन्त शर्मा लगाएतले बाम गठबन्धन मात्र नभएर पार्टी एकता प्रक्रियाको सुरु भएको बताउनुभयो ।

यसै रुकुम पश्चिम पार्टी एकता संयोजन समितीका प्रमुख नेता शेरबहादुर के.सी र राजकुमार शर्माले आफुहरुको एकतालाई कसैले रोक्न नसक्ने दावी गर्नुभयो । युवा भेलामा रुकुम पश्चिमका बिभिन्न स्थानीय तहबाट दुवै पार्टीका युवा तथा जनमुदायको सहभागिता रहेको थियो । अर्काे रोचक कुरा चाँही २०४८ सालमा एउटै मञ्चमा रहेर कम्नियुष्टको पक्षमा भाषण गरेका नेता ४८ पछि पहिलो पटक एउटै मञ्चबाट कम्नियुष्ट पार्टीको पक्षमा मत मागेको थियो । रुकुमका सबै एमाले र माओबादी केन्द्रका शिर्ष नेताहरुलाई मञ्चमा देखेका कार्यकर्ताहरु निकै उत्साहित भएका देखिन्थे । उनीहरु बिभिन्न झाँकी सहित कम्नियुष्ट एकता जिन्दावादका नारा लगाउँदै बजार परिक्रममा गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्