नेप्सेमा साताभर ३० अंकको गिरावट



 

नेपाल समाचारपत्र
काठमाडौं
गत साता शेयर बजारमा ३० दशमलव ६३ अंकको गिरावट आएको छ। गत साता हजार १ हजार ५ सय ५३ दशमलव ७२ अंकबाट शुरु भएको शेयर बजार बिहीबार १ हजार ५ सय २२ दशमलव ८१ अंकमा आइपुगेको हो।

गत साता कारोबारमा आएका ९ मध्ये सबै समूहमा गिरावट आउँदा समग्र बजार परिसूचक ओरालो लागेको हो। परिसूचक भने गत साता अघिल्लो साताको तुलनामा कारोबार रकम भने बढेको छ। गत साता २ अर्ब २४ करोड ६२ लाख ९७ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। गत साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८१ कम्पनीका ६२ लाख ६६ हजार ४ सय ५० कित्तँ शेयर किनबेच भएका थिए। सातभरि कूल २२ हजार ८ सय ८२ कारोबार भएका थिए। कारोबार रकम अघिल्लो साताको तुलनामा ३१ दशमलव ४७ प्रतिशत बढी हो। अघिल्लो साता बजारमा १ सय ७१ कम्पनीका १ अर्ब ७१ करोड ११ लाख ६४ हजार रुपियाँको कारोबार भएको थियो।

अघिल्लो साताको तेस्रो दिनदेखि ओरालो लागेको शेयर बजार गत साता पनि सकारात्मक हुन सकेन। बजार परिसूचक साताको पहिलो दिन आइतबार १३ दशमलव ४९ अंकले गिरावट आएको थियो। त्यसपछि गिरावटको क्रमले निरन्तरता पाउने क्रममा सोमबार बजार ३ दशमलव ५९ अंकले घटेको थियो। त्यस्तै मंगलबार र बुधबार बजार क्रमशः ३ दशमलव १९ र ७ दशमलव शून्य २ अंकले घटेको थियो। बजार गिरवाट हुने क्रम त्यतिमा मात्र थामिएको हो, बिहीबार पनि परिसूचक ३ दशमलव ७ अंकले ओरालो लाग्यो। सबै दिनको गिरावट गत साता शेयर बजारका लागि भारिपरेको थियो।

गत साता कारोबारमा आएका ९ समूहको कारोबार भएको थियो। तीमध्ये लघुवित्त समूहको कारोबार बुधबारबाट शुरु भएको थियो। नेप्सेले एकै समूहमा रहेका ‘ख’ वर्गका विकास बैंक र ‘घ’ वर्गका लघुवित्त कम्पनीलाई छुट्टा छुट्टै समूहमा राखेर इन्डेक्स क्याल्कुलेसन गर्ने काम गरेको हो। लघुवित्त समूहको परिसूचक १३ वर्षपछि पहिलोपटक गणना गरिएको थियो।

गत साता क्याल्कुलेसन भएका ८ वटै समूहको परिसूचक घटेका थिए। गिरावट आउनेमध्ये सबैभन्दा धेरै बीमा समूहको परिसूचकमा १ सय २५ दशमलव ५८ अंकको गिरावट आयो। त्यस्तै होटल र विकास बैंक समूहका परिसूचकमा क्रमशः ६८ दशमलव ४१ र ५७ दशमलव ७६ अंकले घटे। त्यसैगरि बैंकिङ, उत्पादनमूल र वित्त समूहका परिसूचकमा क्रमशः २९ दशमलव ६६, २५ दशमलव ५८ र ८ दशमलव ४२ अंकले घटे। अन्य समूहको परिसूचक पनि ७ दशमलव २३ अंकले ओरालो लाग्दा जलविद्युत् र ट्रेडिङ समूह क्रमशः ६ दशमलव १२ र १ दशमलव ८५ अंकले ओरालिए। नेप्से परिसूचक घट्दा गत साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा ४ दशमलव ५९ अङ्कले घटेर ३ सय १९ दशमलव ६४ अंकमा आइपुगेको छ।

साताभर बैंक र बीमा कम्पनीको कारोबार समग्रमा राम्रो रहेको थियो। सो अवधिमा उच्च कारोबार गर्ने ५ मध्ये ती समूहका २–२ कम्पनी वटा रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बैंक तथा वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिको प्रतिवेदन प्रकाशन गर्न शुरु गरेका छन्। तसर्थ, लगानीकर्ता राम्रो लाभांश दिने कम्पनीतर्फ लगानी आकर्षित हुने पक्का छ। तर गत साता अपेक्षाकृत रुपमा यसको प्रभाव बजारमा देखिएको भने छैन। कारोबार रकमको आधारमा गत साता राष्ट्रिय बीमा कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको कूल ११ करोड ३२ लाख ७० हजार रुपियाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै नेपाल बंगलादेश बैंकको ८ करोड ३३ लाख २० हजार रुपियाँ, नेपाल दुरसञ्चार कम्पनीको ७ करोड ८८ लाख रुपियाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ९५ लाख रुपियाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६ करोड ३४ लाख रुपियाँ बराबरको शेयर कारोबार भएका थिए।

कारोबार भएको शेयर संख्याको आधारमा ज्योति विकास बैंकका संस्थापक शेयरले शीर्ष स्थान ओगटेको छ। गत साता बैंकका ३ लाख ५८ हजार कित्ता संस्थापक शेयर कारोबार भएका थिए। त्यसैगरी कारोबार संख्याको आधारमा नेपाल ग्रामिण विकास बैंक अग्रस्थानमा रह्यो छ। कम्पनीका कूल २ हजार ४ सय २६ वटा कारोबार भएका थिए।
गत साता पनि नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचै दिन खुला रह्यो। गत हप्ता ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन। साताभरि ४ कम्पनीका शेयर नेप्सेमा सूचिकृत भए। सो अवधिमा माछापुच्छ«े बैंकको ७७ लाख ५७ हजार ६ सय ९७ दशमलव ३६ कित्ता तथा गोर्खाज फाइनान्सका २८ लाख ९३ हजार ३ सय १३ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भए। त्यस्तै गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका ४ लाख ४० हजार कित्ता बोनस शेयर र नेपाल ग्रामीण विकास बैंकको ९ लाख ७५ हजार कित्ता साधारण शेयर पनि नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्