अलैंची नर्सरी संकटमा



गणेश साम्पाङ, पाँचथर

अलैंचीको बिरुवा बिक्री नहुँदा देशकै ठूलो अलैंची नर्सरी संकटमा परेको छ। सरकारको बजेट स्थानीय तहमा जाँदा जिल्ला कृषि कार्यालयले अन्य वर्षझैं यस वर्ष पाँचथरको फाल्गुनन्द–७ स्थित सनराइज अलैंची नर्सरीबाट अलैंचीको बिरुवा किन्न नपाएको हो।

नर्सरीबाट उत्पादित अलैंचीको प्रायः बिरुवा कृषि विकास कार्यालय तथा अन्य संघ संस्थाले किन्ने गरेका थिए। तर, स्थानीय तहको निर्वाचनसँगै सरकारको बजेट कृषि विकास कार्यालयमा नजाँदा यस्तो परिस्थति आएको हो। देशको संरचना परिवर्तन हुँदा बजेट सबै स्थानीय तहमा जाने हुँदा साउन महिनासम्म कृषि विकास कार्यालयको कारोबार नै रोकिएको थियो।

फाल्गुनन्द–७ का गणेश मिश्रलाई २०७४ साल आफ्नो व्यवसायका लागि निकै दुःखद बर्ष भएकोमा चिन्तित् बन्नुभएको छ। मिश्रले वार्षिक ५ देखि ६ लाख अलैंचीको बिरुवा बिक्री गर्दै आइरहेकोमा यो वर्ष मुस्किलले ५० हजार बिरुवा बिक्री भएको छ। यस वर्ष आफूलाई २५ लाखभन्दा बढी घाटा लागेको मिश्र बताउनुहुन्छ। अहिले आफूसँग चानचुन साढे ४ लाख हुर्केको बिरुवा भएको उहाँ दाबी गर्नुहुन्छ।

मिश्रले केही वर्ष अघि अलैंचीको मूल्य उच्च हुँदा सनराइज अलैंची नर्सरी स्थापना गर्नुभएको थियो। २०६८ सालमा स्थापना भएको अलैंची नर्सरीको बिरुवा तेह्रथुम, भोजपुर, सिन्धुली, रुकुम र रोल्पासम्म पुग्ने गरेको छ। प्रतिवर्ष ५ लाख भन्दा बढी बिरुवा बिक्री गर्दै आउनुभएको मिश्र व्यवसाय नै धरापमा परेकाले चिन्तामा हुनुहुन्छ।

खोल्साको कालो सुन भनिने अलैंचीले कृषकलाई निराश बनाउँदै लगेको कृषकहरु बताउँछन्। अलैंचीको बिक्रीमा आएको गिरावटलाई बढाउन सरकार उदासिन भएको अलैंची व्यवसायीको दाबी छ।

जिल्लामा अलैंची खेतीलाई व्यावसायिक बनाउन कार्यक्रम नभइरहेका बेला स्थानीय तहमा अधिकार र बजेट गएपछि व्यवसाय संकटमा परेको अलैंची कृषकहरु बताउँछन्। जिल्लामा अहिले अलैंची कृषकका लागि ९ वटा पकेट क्षेत्र १ ब्लक र १ वटा अलैंची जोन कार्यक्रम सञ्चालनमा छन्।

ती कार्यक्रमलाई स्तरअनुसार गत वर्षदेखि विभिन्न प्रकारका अनुदान दिइएको थियो। यसपटक सो बजेट गाउँपालिकामा गएको थियो। तीमध्ये केही स्थानीय तहले बजेटलाई अरु नै शीर्षकमा विनियोजन गरेका छन्। यसैकारण अलैंची कृषक तथा कार्यक्रम धरापमा परेको कृषकको गुनासो रहेको कृषि विकास कार्यालय पाँचथरका बागबानी अधिकृत सागर विष्टको भनाइ छ।

जिल्लाकै मुख्य आर्थिक स्रोतको रुपमा रहेको अलैंचीलाई व्यावसायिकरण गर्नका लागि व्यापारी कृषक सबैले आ–आफ्नो ठाउँबाट सहयोग पुर्याउन सके अलैंचीले पुनः बजार पाउन सक्ने पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्लेको भनाइ छ।

जिल्लामा गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकी कार्यक्रम आएपछि अन्य बाली नालीसँगै अलैंची कृषकले अनुदान पाएका थिए। कृषकले ब्लक र पकेट गरी ५१ लाख बराबरको विभिन्न प्रकारको अनुदान पाएका थिए। यसपटक पनि सो कार्यक्रम आए पनि गाउँपालिकाले प्राथमिकताका साथ सो बजेट त्यही शीर्षकमा बिनियोजन गरे अलैंची कृषकले ठूलो राहत पाउने जानकारहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्