नेपाल समाचारपत्र
काठमाडौं
सिनियरमा नेपाल आर्मी क्लब र जुनियरमा मध्यमाञ्चल १७औं सिनियर तथा १०औं जुनियर आईटीएफ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन्।

नुवाकोटमा भएको प्रतियोगितामा आर्मीले ८ स्वर्ण, ५ रजत र १ कांस्यसहित टिम च्याम्पियन बन्यो। ६ स्वर्ण, उत्ति नै रजत र ३ कांस्यसाथ एपीएफ क्लब दोस्रो तथा २ स्वर्ण, ७ रजत र ३ कांस्यसाथ पश्चिमाञ्चल तेस्रो भए। नुवाकोट जिल्ला आईटीएफ तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको जुनियरमा च्याम्पियन बनेको मध्यमाञ्चलले ८ स्वर्ण, ६ रजत र ३ कांस्य हात पार्यो। दोस्रो भएको एपीएफले ४ स्वर्ण, ५ रजत र ६ कांस्य जित्यो।

सिनियरको पुरुषमा सागर कुँवर तथा महिलामा रञ्जु पुलामी मगर उत्कृष्ट खेलाडी घोषित भए। जुनियरको पुरुषमा युनिश गौतम तथा महिलामा विपना मगर उत्कृष्ट खेलाडी चुनिए। उत्कृष्ट चारै मध्यमाञ्चलका हुन् र चारैले दोहोरो स्वर्ण जितेका थिए। चारैले स्पाइरिङ र प्याटर्न स्पर्धामा स्वर्ण जितेका हुन्।

प्रतियोगिताको अन्तिम दिन पुरुष ५१–५५ केजीमा पश्चिमाञ्चलका विराज कुमाईं, ६१–६५ केजीमा पूर्वाञ्चलका दिलन राई, ६६–७० केजीमा आर्मीका लीलाधर बस्नेत, ७१–७५ केजीमा एपीएफका हर्कलाल राजवंशी, ७६–८० केजीमा आर्मीका विजय सुनार र ८१–८५ केजीमा आर्मीका चाउची डंगोलले स्वर्ण जिते।

महिलाको ४१–४५ केजीमा मध्यमाञ्चलकी रञ्जु पुलामी मगर, ४६–५० केजीमा आर्मीकी रुविना खड्का, ५१–५५ केजीमा आर्मीकी रिना धिमाल, ५६–६० केजीमा एपीएफकी शान्ति खत्री, ६१–६५ केजीमा आर्मीकी सिर्जना राई, ६६–७० केजीमा पश्चिमाञ्चलकी कामना पुन तथा ७१–७५ केजीमा आर्मीकी सिमा खाशुले शीर्ष स्थान कब्जा गरे।

LEAVE A REPLY