मस्त निदाउनु मानव स्वास्थ्यको पहिलो आवश्यकता



डा.माइकल मोस्ली, बीबीसी

नियमित कार्य व्यस्तताबाट फुर्सत पाउने सप्ताहान्तमा हामीले सधैंभन्दा अलि बढी सुत्न पाउनु ठूलो कुरा हो। बेलायतजस्तो अति अनुशासित समय तालिकाअनुसार चल्ने हाम्रो राष्ट्रमा मानिसहरू निरन्तर रूपमा निद्राबाट वन्चित हुँदै जाँदै छौं। निद्रा परिषद्का अनुसार औसतमा प्रत्येक बेलायती राति साढे छ घन्टा सुत्ने गरेका छन्, जुन सामान्य मानिसका लागि अपुग छ।

हालसम्म स्वास्थसम्बन्धी गरिएका थुप्रै गहन अध्ययन अनुसन्धानले जानीजानी वा बाध्यतावश आवश्यक समयभन्दा कम सुत्नाले शरीरमा गम्भीर असर पर्ने पत्ता लगाएको छ। केही रात मात्र हामीले कम सुत्ने गर्दा शरीरको चिनीको मात्रामा गोलमाल भएर हामीलाई धेरै खाना खानुपर्ने बनाउने गर्दछ।

यसले डीएनएलाई समेत हानी पुर्याउने गर्दछ। केही वर्षअघि सर्री युनिभर्सिटीको एक अनुसन्धान टोलीले आफ्ना स्वंयम्सेवकहरूलाई १ साताका लागि दिनहुँ एक घन्टा कम सुत्न लगाउँदा तिनीहरूको जिनमा ठूलै परिवर्तन आएको देखिएको थियो। सो टोलिका डा. साइमन आर्चरले निद्राको कमिको मानव शरीरमा स्पष्ट नकारात्मक असर देखिएको बताएका छन्। निद्राको कमीले मानिसको मानसिक अवस्थामा के–कति असर पर्दछ भन्ने थाहा पाउन युनिभर्सिटी अफ अक्सफोर्डले अर्को एउटा सानो प्रयोग गर्यो। यसपालि सामान्यतया मस्तसँग निदाउने ४ जना स्वयम्सेवक छानियो।
तिनीहरूको निद्रा राम्ररी अवलोकन गर्नका लागि आवश्यक उपकरणहरू जडान गरिए। अध्ययनको सिलसिलामा पहिलो ३ रात तिनीहरूलाई नबिथोलीकन मस्त ८ घन्टा निदाउन लगाइयो र पछिल्लो ३ रातमा तिनीहरूलाई ४ घन्टा मात्र सुत्न दिइयो। हरेक दिन उक्त प्रयोगमा भाग लिने स्वयम् सेवकलाई तिनीहरूका मुड वा भावनामा केही परिवर्तन आए नआएको बारे थाहा पाउन मनोवैज्ञानिक प्रश्नावली भर्न लगाइयो। साथै तिनीहरूले के–के भएको भन्ने थाहा पाउन भिडियो डायरी पनि भर्न लगाइयो।

उक्त प्रयोग सञ्चालन गर्ने विद्यावारिधिका विद्यार्थी साराह रिभले तिनीहरूको मुड छिटोछिटो परिवर्तन हुने गरेको पाइन्। निद्रा अभावको कारण तिनीहरूमा चिन्ता ,डिप्रेसन र तनाव, डर र अरूप्रति अविश्वास बढेको पाइएको थियो। मात्र तीन दिन निद्रा नपुग्दा ती समस्या देखा परेको थियो। ४ जनामध्ये ३ जना स्वयम्सेवकमा यस्तो नकारात्मक असर देखा परे पनि अन्य १ जनामा भने त्यस्तो कुनै प्रभाव देखिएको थिएन।
अनुसन्धानकर्ता बेलायतभरिका विभिन्न विश्वविद्यालयका ३ हजार ७ सय जनाभन्दा बढी विद्यार्थीलाई २ समूहमा विभाजित गरी प्रयोमा सरिक गरिएको थियो। यसैबीच अमेरिकाको साउदर्न क्यालिफोर्निया युनिभर्सिटीका मनोविज्ञानका प्राध्यापक नोवर्ट स्क्वार्जले वर्षको ६० लाख अमेरिकी डलर कमाउनेभन्दा दिनहुँ थप निद्रा मस्त सुत्ने व्यक्ति जीवनमा बढी खुसी हुने गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्