बहुविवाह गर्ने पाकिस्तानीलाई कारावास



 

इस्लामावाद, (एजेन्सी)
पाकिस्तानको एक अदालतले बिहीबार आफ्नो पहिलो पत्नीको अनुमतिबिना दोस्रो विवाह गरेको अभियोगमा १ जना पुरुषलाई ६ महिना लामो कारावास सजाँय सुनाएको छ। लाहोर शहरको उक्त अदालतले शाहजाद साकिव नामक ती व्यक्तिलाई १ हजार ९ सय अमेरिकी
डलर जरिवाना पनि तिराएको छ।

साथै इस्लामले आफूलाई ४ जनासम्म पत्नी ल्याउन पाउने अनुमति दिएको भन्ने उनको भनाइलाई पनि अदालतले अस्वीकार गरेको छ। साकिवकी पत्नी आयसा विवीले आफ्नो लिखित अनुमतिबिना उनले विवाह गर्न खोज्नु भनेकैे पाकिस्तानको परिवार कानुनको उल्लंघन हुनु हो भनी वकालत गरेकी थिइन्।

महिलाहरूको अधिकारवादी अभियन्ताहरूले अदालतको यस निर्णयले बहुविवाहलाई निरुत्साहित गर्ने बताएका छन्। साथै तिनीहरूले यसले महिलाहरूलाई सशक्तिकरण गर्ने र अबदेखि अन्य महिलाहरूले पनि यस्तो मुद्दालाई अदालतसम्म लान सक्ने बताएका छन्। गैरसरकारी संस्था, शान्ति र विकास प्रतिष्ठानका अध्यक्ष रोमाना बासिरले इक पीडित महिलाले यस कानुनलाई प्रयोग गरी अदालतमा आफ्नो अधिकार खाज्नु प्रोत्साहनजनक भएको बताएकी छिन्।

पाकिस्तानमा पुरुषहरूले थुप्रै वर्षको अन्तरालमा मात्र अर्को पत्नीहरू ल्याउने गर्दछन्। साथै त्यस्तोबेला तिनीहरूले आफ्ना पूर्वपत्नी वा पत्नीहरूबाट लिखित अनुमति पनि लिने गरेका छन्।

तर सरकारलाई इस्लामिक विषयहरूमा कानुनी सल्लाह प्रदान गर्ने पाकिस्तानको इस्लामिक सिद्धान्त परिषद् (सीआईआई ) ले भने प्रायशः राष्ट्रको परिवार कानुनको आलोचना गर्ने गरेको छ। तर सीआईआईले दिएको कानुनी सल्लाह सरकारले मान्नै पर्ने बाध्यता छैन। सकिबले अदालतको यस निर्णय विरुद्ध अपिल
गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्