माओवादीका मन्त्री फिर्ता नहुने



काठमाडौं, (नेस)
नेकपा माओवादी केन्द्रका मन्त्रीहरू तत्काल सरकारबाट नबाहिरिने भएका छन्। नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग चुनावी तालमेल गरेर वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई विना विभागीय बनाइदिनुभएको थियो।

माओवादी केन्द्रबाट सरकारमा सहभागी १७ जना मन्त्री विना विभागीयकै जिम्मेवारीमा रहेका छन्। प्रधानमन्त्री देउवाले माओवादीका मन्त्रीलाई विना विभागीय बनाएर राप्रपालाई सरकारमा समावेश गर्नुभएको थियो। विना विभागीय बनाएपछि माओवादीका मन्त्रीहरू प्रधानमन्त्री कार्यालय प्रवेश गरेका छैनन्। माओवादीका मन्त्रीहरूलाई प्रधानमन्त्री कार्यालयमा बस्ने व्यवस्था मिलाइएको छ।

नेकपा माओवादी केन्द्रले कात्तिक ५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट आफ्ना मन्त्रीहरू बाहिरिने अन्तिम निर्णय गरेर पनि निर्वाचनप्रति सरकारले षड्यन्त्र गरेको निष्कर्ष निकाल्दै सरकारमै रहने निर्णय लिएको थियो।

माओवादीले मंसिर २१ गते हुने प्रनिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गरेपछि सरकारबाट मन्त्रीहरू फिर्ता बोलाउने तयारी गरेको थियो। तर माओवादीका अधिकाशं मन्त्रीहरू निर्वाचन अभियानमा जुटेकाले निर्वाचनअघिसम्म बिनाविभागीय कै हैसियतमा भए पनि सरकारमा रहने भएका हुन्।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले सरकारबाट तत्कालै बाहिरिनुपर्ने आवश्यकता नरहेको बताउँदै अध्यक्ष चितवनबाट फर्किएपछि मात्र छलफल हुन सक्ने बताउनुभयो। प्रधानमन्त्रीले देउवाले विना विभागीय मन्त्री बनाएपछि माओवादी केन्द्रभित्र पार्टीको तर्फबाट मन्त्री भएकालाई तत्काल फिर्ता बोलाउनुपर्ने दबाब परेको थियो। पार्टीका सबै शीर्ष नेताहरू राजधानी बाहिर रहेकाले अहिले कुनै निर्णय हुने सम्भावना छैन। प्रचण्डका प्रेस संयोजक मनहरि तिम्सिनाले भन्नुभयो,–‘तत्काल सरकारबाट मन्त्री बोलाउने बारेमा अध्यक्षले केही पनि सोच्नुभएको छैन्।’ माओवादीका मन्त्रीहरू सबै चुनावी अभियानमा जुटेकाले निर्वाचनपछि मात्र मन्त्री फिर्ता बोलाउने तयारी माओवादीले गरेको छ।

प्रतिक्रिया दिनुहोस्