आधुनिकतातर्फ लम्कँदै त्रिवि, सूचना प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड प्रचलनमा ल्याइने



ईश्वरराज ढकाल, काठमाडौं
त्रिभुवन विश्वविद्यालयले सबै सम्बन्धन प्राप्त क्याम्पसमा स्मार्ट बोर्डबाट पठन–पाठन शुरू गराउने भएको छ। त्रिविले ६० वटा आंगिक क्याम्पसमा नमुना स्मार्टबोर्ड राख्न बजेट विनियोजनसमेत गरिसकेको छ। स्मार्ट बोर्ड राखेपछि शिक्षकले पढाएको विषय विद्यार्थीले पेनड्राइभ वा सिडिमा कपी गर्न पाउनेछन्। स्मार्ट बोर्डमा शिक्षकले पढाएपछि आफूले विद्यार्थीमा सूचना प्रविधिप्रति रुचि बढ्ने त्रिविले विश्वास गरेको छ। इलेक्ट्रिक सेतो स्मार्टबोर्डमा साधारण मार्कर प्रयोग गर्न पाइनेछ। शिक्षकले लेखेको विषय शिक्षकले सामान्य डस्टरले मेट्न पाउने र मेटाएको सबै विषय मेमोरीमा स्टोर हुने व्यवस्था छ।

मार्करले मेटाएका सबै विषयवस्तु मेमोरीमा स्टोर हुनेछ। मेमोरीमा स्टोर हुने भएकाले चाहेको बेला मेटाएको विषय हेर्न पाइनेछ। बोर्डमा शिक्षकले पढाएको सम्पूर्ण विषय रेकर्ड हुने व्यवस्था गरिएको छ। त्रिविका योजना निर्देशनालयका कार्यकारी निर्देशक डा. ऋषि पोखरेलले विद्यार्थीले आफूले चाहेको विषयवस्तु पेन ड्राइभमा कपी गरेर लौजान सक्ने व्यवस्थासहितको स्मार्ट बोर्ड प्रयोगमा ल्याइने जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘विद्यार्थीलाई सूचना प्रविधिमैत्री बनाउन सबै आंगिक क्याम्पसमा स्मार्ट बोर्ड प्रयोग गर्न लागेका हौं।’

त्रिविले पहिलो चरणमा ३९ वटा केन्द्रीय विभागमा स्मार्टबोर्डको प्रयोग गरिसकेको छ। त्रिविले चालू आवमा केन्द्रीय विभाग र आंगिक क्याम्पसलाई सूचनामैत्री बनाउन करिब १० करोड रुपियाँ बजेट विनियोजन गरेको जनाएको छ। त्रिविले चालू आवमा ६० वटा आंगिक क्याम्पसलाई स्मार्टबोर्ड जडान गर्न प्रत्येक आंगिक क्याम्पसलाई १ लाख रुपियाँ उपलब्ध गराएको छ। नमुनाको रूपमा एक⁄एकवटा स्मार्ट बोर्ड उपलब्ध गराउने, त्यसपछि सबै क्यापसलाई आफै खरिद गर्न प्रोत्साहन गरी स्मार्टबोर्ड उपलब्ध गराउने निर्णय भएको निर्देशक डा. पोखरेलले जानकारी दिनुभयो।

 

स्मार्ट बोर्ड भनेको के हो ? भनेर जानकारी दिन पनि आंगिक क्याम्पसलाई स्मार्टबोर्ड दिन लागिएको हो। निर्देशक पोखरेलले भन्नुभयो– हामीले चालु आवमा खरिद गर्ने गरी बजेट विनियोजना गरिसकेका छौं, केही दिनमै बजेट उपलब्ध गराउनेछौं। विद्यार्थीको एकेडेमिक विकासका लागि त्रिविले स्मार्ट बोर्डको व्यवस्था गर्न लागेको हो।

त्रिविका उपकुलपति प्राडा. तीर्थ खनियाले त्रिविलाई सूचना प्रविधिसँग नजिक बनाउन आंगिक क्याम्पसलाई स्मार्ट बोर्ड दिने निर्णय भएको जानकारी दिनुभयो। उहाँले विद्यार्थीलाई नयाँ युगसँग प्रविधिमैत्री बनाउन सबै क्याम्पसलाई स्मार्टबोर्ड उपलब्ध गराउन लागिएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्