सुशासन दिलाउन असफल नेपालको पत्रकारिता



पुष्करलाल श्रेष्ठ

पत्रकारितालाई आवाजविहीनहरूको आवाज भनिन्छ। लामो समयदेखि देशमा चलिरहेको कुशासनका कारण नेपाली जनता अहिले रोइरहनुपरेको अवस्था छ। वास्तविक जनताको आवाजलाई पूर्णरूपमा दबाइएको छ। भन्नलाई त बाटो बिराएको देशलाई सही दिशामा डोर्याउने काम पत्रकारिताको हो भन्ने गरिन्छ। त्यसो त स्वयम् तथाकथित नेताहरू नेपालमा प्रजातन्त्रको पुनस्र्थापनादेखि गणतन्त्रसम्म ल्याउने कामका लागि नेपाली प्रेसले खेलेको भूमिकाको वर्णन गर्न थाक्दैनन्। नेपालमा गणतन्त्र कसले, किन र कसरी ल्याइएको भन्ने कुरा घामजत्तिकै छर्लङ्ग भइसकेकाले यसमा धेरै चर्चा गरिरहनुपरेन। यदि प्रेसले नै हाम्रो देशमा गणतन्त्र ल्याउन अहम् भूमिका खेलेका भए सुशासनसहित यसलाई व्यवस्थित गराउन नेपाली पत्रिकारिता के कारणले असफल भइरहेको छ त ? अहिले उठिरहेको गम्भीर प्रश्न हो यो।

आपूmमाथि पनि तेर्सिने यो प्रश्नले करिब २५ वर्षअघि जापानमा पत्रकारिताको अध्ययन गरिरहँदा जापानका वरिष्ठ पत्रकार हाइडे साकाताले भनेको एउटा कुरा अहिले पनि कानमा गुञ्जिरहन्छ– ‘दोस्रो विश्वयुद्धमा ध्वस्त भएको जापानको प्रेसले विश्वयुद्धपछि विकासे पत्रकारिता नगरी राजनीतिक मिसनका लागि पत्रकारिता गरेको भए शायद जापान यति छिट्टै अमेरिकी अर्थतन्त्रलाई चुनौती दिन सक्ने देश बन्ने थिएन।’ सम्भवतः यही प्रभावका कारणले नेपाल फर्केपछि यस स्तम्भकार प्रधान सम्पादक बनी प्रकाशित गरेको राष्ट्रिय दैनिक नेपाल समाचारपत्र (तत्कालीन आजको समाचारपत्र)ले पनि शुरुमा यही नीतिलाई अख्तियार गरेको थियो। पत्रिका प्रकाशन हुनुपूर्व पत्रकारहरूसँग गरिने सम्पादकमण्डलका प्रायः सबै बैठकहरू यही विषयमा केन्द्रित हुन्थे। पत्रकारहरूलाई यसैमा आधारित भएर समाचार खोज्न निर्देशन दिइन्थ्यो। नेपाल समाचारपत्रको पहिलो पृष्ठमा राजनीतिक विषयलाई ४० प्रतिशतभन्दा बढी स्थान नदिने त्यति बेला सम्पादकीय नीति नै बनाएका थियौं।

जबसम्म नेपाली मिडिया राजनीतिक र आर्थिक स्वार्थलाई कम प्राथमिकतामा राखेर आवाजविहीनहरूको आवाज बनेर अगाडि बढ्दैनन्, तबसम्म नेपाली मिडियाबाट देशमा सुशासनको पहल हुने अपेक्षा राख्न सकिँदैन। गुणात्मकभन्दा संख्यात्मकरूपमा बढिरहेको नेपाली पत्रकारिताबाट अब केही हुनेवाला पनि छैन।

त्यति बेला अहिलेको जस्तो धेरै पत्रिकाहरू पनि थिएनन्। प्रजातन्त्रको पुनस्र्थापना भई स्वतन्त्र प्रेसको अवधारणासहित निजी क्षेत्रबाट प्रकाशित हुन थालेका अखबारहरूप्रति पाठकको रुचि पनि बढ्दै गइरहेको थियो। यसका बाबजुद पत्रिका प्रकाशन शुरु भएको दुई महिना बितिसक्दा पनि हरेक दिन ५० प्रतिशतभन्दा बढी पत्रिकाहरू फिर्ता आइरहन्थ्यो। यस्तो अवस्थामा पत्रिकालाई निरन्तरता दिन सकिँदैनथ्यो। चिन्तित हुँदै एकदिन बजार सर्वेक्षण गर्ने मनसायले आपैंm बिहान ४ बजे उठेर भूगोलपार्कस्थित आफ्नो आधिकारिक पत्रिका विक्रेता सर्कल न्यूजमा गएर बसें।

त्यस दिन बिहान साढे ४ बजेतिरै पत्रिका झारिसकेको थियो। राजधानीका लागि पत्रिकाका आधिकारिक विक्रेता सर्कल न्यूजका दुवै लगानीकर्ताहरू उमेश वैद्य र बद्रीकृष्ण श्रेष्ठ यस स्तम्भकारका बालसखा मित्रहरू भएकाले उनीहरूले मलाई पत्रिका लिन आउनेहरूले नदेख्ने गरी बस्ने व्यवस्था मिलाएका थिए। उनीहरूको त्यस बेलाको भनाइअनुसार पत्रिका फिर्ता दिने बेलामा पत्रिका पसलेहरूले खुलेर जनाउने प्रतिक्रियाहरू पत्रिकाको कमी–कमजोरी सुधार्न ठूलो सुझाव हुनसक्ने भएकाले यसरी लुकेर बस्ने व्यवस्था गरेका रहेछन्।

मिर्मिरे उज्यालो हुँदै आएपछि पत्रिका पसलेहरू धमाधम त्यस दिनको पत्रिका लिन सर्कल न्यूज आउने क्रम शुरु भयो। त्यस दिन पनि समाचारपत्र धेरै नै फिर्ता आइरहेको थियो। उनीहरूले पत्रिका टेबुलमा बजार्दै भनिरहेका थिए– ‘विचरा पुष्करलाललाई कामनामा शर्मिला मल्ल, करिष्मा के.सी. (करिष्मा मानन्धर), कृष्टि के.सी (कृष्टि मैनाली), गौरी मल्लजस्ता अभिनेत्रीहरूका ठूला–ठूला तस्वीर छापेर पत्रिका चलेजस्तै ठूलो अखबार पनि यसै गरी चल्छ भन्ने लागेको होला, चाँडै डुब्ने भो। हिजो गिरिजाबाबुले विराटनगरमा देशै हल्लाउने गरी दिएको भाषणलाई भित्री पृष्ठमा छापेर भोटेबहालमा दुई महिनादेखि ढल नबनेर टेकु–त्रिपुरेश्वर सडक जाम भइरहेको समाचार भँगेराको अक्षर बनाई पहिलो पृष्ठमै छाप्छ ? कसले किन्छ यस्तो अखबार ?’

अधिकांश पत्रिका विक्रेताहरूको यस्तै–यस्तै प्रतिक्रिया सुनेपछि छानाबाट खसेजस्तै भइयो। उनीहरूको भनाइ सुन्दा पत्रिकामा राजनीतिक घटनाक्रमहरूलाई प्राथमिकता नदिएकै कुरा थियो। हामी त्यस बेला पाठकहरूकै रुचि र दबाबमा तत्काल आफ्नो सम्पादकीय नीति परिवर्तन गर्न बाध्य भयौं। तर त्यति बेलै मनमा चाहिँ लागेको थियो– पाठकको चाहनाअनुसारको यस्तो पत्रकारिताले देशको विकासमा भने कुनै ठूलो भूमिका निर्वाह गर्न सकिँदैन। यस्तो पत्रकारिताले त राजनीतिक खेतीको मात्र विकास हुनेछ। जुन कुरा अहिले हामी भोगिरहेका छौं।

जापानको पत्रकारितामा त्यति बेलै एउटा अर्को गज्जबको संस्कार देखेको थिएँ। जापानको प्रेस क्लबमा हरेक साँझ पत्रकारहरूको ठूलो जमघट हुन्थ्यो। जापानका नाम चलेका सम्पादकदेखि धेरै पत्रकारहरू प्रेस क्लबमा चिया–नास्ता खान जम्मा हुने गर्थे। उनीहरू एक–आपसमा देशको परिस्थितिका बारे विचार–विमर्श गरिरहेका हुन्थे। देशमा कुनै ठूलै घटना भएछ र त्यस घटनाबाट देशलाई हानि–नोक्सानी पुर्याउने सम्भावना देखिए आपसी सरसल्लाह गरेर सबै प्रेसले सकारात्मकरूपमा घटनाबारे सामूहिकरूपमै समाचार सम्प्रेषण गरी सरोकारवालाहरूलाई दबाब दिने राम्रो चलन रहेछ।

यता आफ्नो देश भने प्रजातन्त्रको पुनस्र्थापनापछि पनि प्रजातान्त्रिक पद्धतिअनुसार चलिरहेको थिएन। बेथिति झन्–झन् बढ्दै गइरहेको थियो। आफ्नै बहुमतीय सरकार ढाल्दै मध्यावधि चुनावतिर लाग्ने, सांसदहरूको खरिद–बिक्री हुने, पजेरो संस्कार, पुरुष सांसदहरूले समेत सुत्केरी भत्ता थाप्ने, सांसदहरूले नै रातो पासपोर्टको दुरूपयोग गर्ने, सांसदहरू नै अपराध र सुरा–सुन्दरीहरूमा लिप्त हुने आदि संस्कारको विकास हुन थालेको थियो। यसलाई समयमै निरुत्साहित गरेर जापानमा जस्तै राजनीतिक स्थिरताका लागि सामूहिकरूपमा नेपाली प्रेसले केही योगदान पुर्याउन सकिन्छ कि भनी जापानी प्रेस क्लबको अवधारणाअनुसार आपैंm संस्थापक अध्यक्ष बनेर नेपाल मिडिया सोसाइटीको गठन नगरेको पनि होइन। तर, पत्रकारभन्दा लगानीकर्ताहरूको बाहुल्य रहेको यस संस्थामा बसेर पनि देशको लागि केही गर्न सकिएन। स्थिति अहिले पनि उस्तै छ।
प्रजातन्त्रको पुनस्र्थापना भएको तीन दशक पुग्न लागिसक्दा पनि नेपालको राजनीतिक स्थिति भने झन्–झन् बिग्रिँदै गइरहेको छ। देश कसले हाँकिरहेको छ भन्ने कुरा नै थाहा नहुने अवस्था आइसकेको छ। लामो समयको अस्थिर राजनीतिले जनता पनि निराश भइसकेका छन्। नागरिक समाजदेखि सबै तहका नेपाली जनता यो अवस्थाबाट मुलुकलाई पार लगाउन अब नेपाली प्रेस नै अगाडि आउनुपर्ने बताइरहेका छन्। वरिष्ठ चिकित्सक तथा नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितज्यूले मिति २०७४ कार्तिक १३ गते माउन्टेन टेलिभिजनलाई दिनुभएको एउटा गहकिलो अन्तर्वार्तामा पनि यही कुरा भन्नुभएको छ।

नेपालको पत्रकारिता पनि अहिले मुलुकको राजनीतिजस्तै विभाजित छ। कि
राजनीतिक अभिष्ट पूरा गर्न, कि कर्पोरेट स्वार्थ पूरा गर्नमै व्यस्त छ अहिले हामीकहाँ भइरहेको पत्रकारिता। अहिले हुन गइरहेको चुनावमा विभिन्न राजनीतिक पार्टीहरूबाट सिफारिस दर्जनौं पत्रकारको अनुहारले पनि यही कुरा बताइसकेको छ।

सूचना विभागबाट यही वर्ष प्रकाशित मिडिया डाइरेक्टरी र प्रेस काउन्सिल नेपालको मिति २०७४ कार्तिक १२ गतेसम्मको अभिलेख हेर्दा देशभर ८ हजारभन्दा बढी दैनिक पत्रिकाहरू, ८ सय ४५ वटा अनलाइनहरू सञ्चालन भइरहेको देखिन्छ। राजधानीबाट मात्र २२ वटा ब्रोडसिट अखबार निस्किरहेका छन्। यसै गरी राजधानीमै २५ वटा टेलिभिजन र २१ वटा रेडियो दिनहुँ घन्किँदा रहेछन्। यतिविधि सञ्चारमाध्यम हुँदा पनि देशमा गणतन्त्र स्थापित गराउनमा महत्वपूर्ण भूमिका निभाएको भनिएको नेपाली मिडियाले किन राजनीतिक स्थिरता र सुशानका लागि भूमिका निभाउन सकेन त भन्ने कुराको चिन्ता हुनु स्वाभाविकै हो।

संसारकै प्रतिष्ठित मानिएको सञ्चारमाध्यम बीबीसीको अवधारणालाई मान्ने हो भने पत्रकारिताका आधारभूत मान्यताहरू भनेको सूचनाको सत्यता, वस्तुपरकता, विस्वसनीयता, कार्यगत स्वतन्त्रता, जनहित, तटस्थता, स्वच्छता, जवाफदेहिता आदि हुन्। तर, बीबीसीको यस आदर्शलाई न नेपाली पत्रकारिताले आत्मसात् गरेको पाइन्छ, न त यसबाट विमुख पत्रकारितालाई पाठकले ‘बाइकट’ गरेको छ। जबसम्म नेपाली मिडिया राजनीतिक र आर्थिक स्वार्थलाई कम प्राथमिकतामा राखेर आवाजविहीनहरूको आवाज बनेर अगाडि बढ्दैनन्, तबसम्म नेपाली मिडियाबाट देशमा सुशासनको पहल हुने अपेक्षा राख्न सकिँदैन। गुणात्मकभन्दा संख्यात्मकरूपमा बढिरहेको नेपाली पत्रकारिताबाट अब केही हुनेवाला पनि छैन।

नेपालको पत्रकारिता पनि अहिले मुलुकको राजनीतिजस्तै विभाजित छ। कि राजनीतिक अभीष्ट पूरा गर्न, कि कर्पोरेट स्वार्थ पूरा गर्नमै व्यस्त छ अहिले हामीकहाँ भइरहेको पत्रकारिता। अहिले हुन गइरहेको चुनावमा विभिन्न राजनीतिक पार्टीहरूबाट सिफारिस दर्जनौं पत्रकारहरूको अनुहारले पनि यही कुरा बताइसकेको छ। केही समयअघि मात्र यस स्तम्भकारलाई जवाफदेही बन्न नसकेको नेपाली पत्रकारिताबाट वाक्कदिक्क भएका एकजना बौद्धिक पाठकले आक्रोशित हुँदै भनेका थिए– ‘पुष्करजी, के भएर गएको तपाईंहरूको पत्रकारिता ? मलाई त मेरो अगाडि कोब्रा साप र पत्रकार सँगसँगै आए पहिला पत्रकारलाई नै काटौं कि जस्तो रिस उठेर आउँछ।’ पत्रकारिता जिम्मेवार हुन नसक्दा हामीले पाठकबाट गुमाएको विश्वसनीयताको प्रतिनिधिमूलक गम्भीर आक्रोश हो यो।

नाफाभन्दा सेवामूलक भावनाले प्रेरित हुनुपर्ने पत्रकारिता प्रकाशक वा लगानीकर्ताको साइड बिजिनेसको माध्यम बन्न थालेपछि त अहिले नेपालको मिडिया झन् आतंक नै बनेको छ। बाहिरी आवरणमा संस्थागत देखिए तापनि भित्री आवरणमा माफियाकरण हुँदै गइरहेको पत्रकारिताका विषयमा भारतका वरिष्ठ पत्रकार साइनाथको यो विचार हामी सबैका लागि मननयोग्य हुनसक्छ– ‘तपाईंहरूले सम्पन्नताको समाचार लेख्दा गरिबीलाई त्यसबाट अलग्ग नराख्नुस्। पत्रकारिता यस्तो साहित्य हो, जुन कर्पोरेट लगानीबाट कहिल्यै फस्टाउँदैन। पत्रकारिता यस्तो साहित्य हो, जुन समाज र समुदायका भोगाइबाट आयो भने मात्र सुवासित हुन्छ। हामीसँग भएको सबैभन्दा ठूलो चुनौती नै समाजको कथा समाजमा कसरी सुनाउने भन्ने हो। दुर्भाग्यवश हामी एउटा फ्रन्टमा मात्र लडेर जित्न सक्ने अवस्था छैन। पत्रकारितालाई सबभन्दा बढी खतरा तथाकथित मिडिया हाउसबाटै भइरहेको छ। हामीले पत्रकारितालाई मिडिया हाउसबाट उद्धार गर्नै पर्छ। यसलाई कुनै न कुनै दिन चिर्नै पर्छ।’

प्रतिक्रिया दिनुहोस्