आचार संहिताको पूर्ण पालना होस्



 

आगामी मंसिर १० र २१ गते २ चरणमा हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा दलहरूले आचार संहितालाई अक्षरशः पालना गर्न जरुरी देखिएको छ। हुन त गुण्डा, नाइके र भ्रष्टाचारीलाई समेत उम्मेदवार सिफारिस र मनोनयन गराएका दलबाट त्यति धेरै आश गर्ने ठाउँ छैन। तर, पनि जनताको मत नै निर्णायक हुने भएकाले छलछाम नगरीकनै जनताले मतको प्रयोत गर्न पाउने व्यवस्था मिलाउन निर्वाचन आयोगले चनाखो भएर काम गर्नुपर्छ। निर्वाचन आयोगले दिएको मापदण्डअनुसार निर्वाचन भएमा निष्पक्ष आउनेमा दुईमत रहँदैन। नत्र दलहरूले पैसाको खोलो बगाएर अनेकौं हत्कण्डा अपनाउने निश्चित रहेको छ।

निर्वाचन आयोगले निर्वाचन आचार संहिताको पूर्ण पालना नगर्ने उम्मेदवारमाथि कारबाही गर्ने चेतावनी अहिले पनि दिएको छ। यस्ता चेतावनी पहिले पनि दिँदै आएको हो तर कार्यान्वयन भएको छैन। मतदातालाई लोभ लालचमा फसाउने तथा डर, धम्की र त्रास दिएर प्रभावित तुल्याउने काम कहींकतै भएको पाइए उम्मेदवारी रद्ध हुनेसम्मको कारबाही हुने प्रक्रिया छ। कानुनीरूपमा बलियो बनेमा निर्वाचन जनमैत्री हुन्छ र जनमतको कदर हुन्छ। अनुमतिबिना सवारीसाधनको प्रयोग नगर्न राजनीतिक दल र त्यसका उम्मेदवारहरूलाई आयोगले कडाइ गर्न जरुरी छ। साथै पास दिँदा पनि कडा मापदण्ड बनाएर दिनु जरुरी देखिन्छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गर्न पर्यवेक्षक पनि स्वतन्त्ररूपमा कुनै दलको पछाडि नलागेर काम गर्नु जरुरी छ।

निर्वाचन आयोगले निर्वाचन आचार संहिता पालना भए⁄नभएको विषयमा अनुगमन गर्न सबै निर्वाचन क्षेत्रमा टोली परिचालन गरिहाल्नुपर्छ। अनुगमनको क्रममा भोजभतेर गरेर मतदातालाई प्रभावित तुल्याउने गतिविधि गरेको भेटेमा होटलहरूलाई पनि कारबाही गर्नेसम्मको काम गर्नु जरुरी छ।
– रोशन रिजाल, काठमाडौं

विदेशिएका युवालाई फर्काउ
स्थानीय निकायका प्रतिनिधिहरूले विदेशिएका युवाका बारेमा गम्भीर भएर सोच्नु जरुरी छ। यो स्थानीय निकायका प्रतिनिधिहरूका लागि गम्भीर चुनौतीको विषय पनि हो। नेपालबाट लाखौं युवा विदेशिएको अवस्था छ। आजभोलि गाउँ समाजमा हेर्ने हो भने बालबालिका अनि जेष्ठ नागरिक र जागिरे कर्मचारी तथा विद्यार्थीको मात्रै जमात देख्न सकिन्छ। आजभोलि महिला पनि विदेश जाने परम्परा बढ्दो छ। खास गरी घरेलु कामदार तथा शिशु स्याहारलगायतका कामका लागि पछिल्लो समयमा महिलाको विदेशिने संख्या उल्लेख्यरूपमा वृद्धि भइरहेको छ। कुनै महिला त सरोगेसीको कामका लागि पनि विदेशिएका छन् भन्ने कुरा बेला–बेलामा चर्चामा नआएको पनि होइन।

यसरी सक्षम युवायुवती विदेशिँदै जाने र उतैतिर ग्रिनकार्ड लिएर बस्ने, यता जेष्ठ आमाबाबा मात्रै अनि स–साना बालबालिका रहने हो भने के अवस्था होला हाम्रो समाजको ? अभिभावक विदेशिँदा यहाँ सन्तानले सही गन्तव्य समात्न सकेको अवस्था छैन। बालबालिकालाई पैसाभन्दा पनि असल अभिभावकत्वको आवश्यकता हुन्छ। अभिभावकत्वको अभावमा हाम्रो समाजमा बालबालिका दिनानुदिन छटपटिइरहेका छन्। वैदेशिक रोजगारी न हो, केही भर हुँदैन। मेसिनसँग खेल्दा कतिखेर के हुने हो भन्ने कुराको पनि कुनै सुनिश्चितता हुँदैन। उस्तै परे ज्यान जाने सम्भावना पनि हुन्छ। कति हाम्रा समाजका दाजुभाइ दिदीबहिनीले विदेशमा नै ज्यान गुमाएका समाचारहरू आइरहेका छन्। अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन्दर भविष्यको सपना बोकेर उडेका हाम्रा आफन्तहरू चुपचाप काठको बाकसमा फर्किएका छन्।

त्यसैले त भनिन्छ, ‘विदेश गएर लाखौं करोडौं कमाउनु मात्रै ठूलो कुरा हैन, आफ्नो घर–परिवारका सदस्यसँगै बसेर खान पाउनु ठूलो कुरा हो।’ केही युवा वैदेशिक रोजगारीबाट ठगिएर वा राम्रै कमाइ गरेर पनि घर–परिवारको महत्त्व बुझ्दै स्वदेशमै फर्किई विभिन्न आयआर्जन तथा सीपमूलक व्यवसायमा लागेको पाइन्छ। यो अत्यन्तै सकारात्मक पक्ष हो। विदेशमा गएर दुःख पाएका र स्वदेशमा आएर सफल उद्यमी बनी केही गरेका युवायुवतीले आफ्ना अनुभूतिहरू वैदेशिक रोजगारमा जान लालायित हुने युवायुवतीलाई बाँड्न सकेमा पक्कै पनि वैदेशिक रोजगारको मोहलाई निरुत्साहित गर्न सकिने थियो।

नेपालमा केही छैन भन्नेहरूका लागि सम्भावनाहरू धेरै छन्। अहिले युवा स्वरोजगारका नाममा विभिन्न सीपमूलक तालिम सञ्चालन गरी सरकारले केही लगानी गरिदिएर युवालाई रोजगारतर्फ उत्पे्रेरित गरिरहेको छ। यसमा छुट्याइएका कोटाहरूमा वृद्धि गरी समान सहभागिताको सुनिश्चितता गरिएमा धेरै युवा यस प्रकारका कार्यक्रमबाट लाभान्वित हुने देखिन्छ, जुन स्थानीय सरकारको प्राथमिकताको विषय हो।

वैदेशिक रोजगारीमा जानु नै छ भने सीप सिकी दक्षता हासिल गरेर मात्रै जानु उपयुक्त हुन्छ। वैदेशिक रोजगार सीमित अवधिका लागि मात्रै हुनुपर्दछ। त्यहाँको प्रविधि सिकेर स्वेदेशमा सम्भावनाहरू खोज्नु महानता हो। तर यसैलाई नै अन्तिम सत्यका रूपमा स्थापित गर्न खोजियो भने पारिवारिक असन्तुलन हुन सक्दछ। वैदेशिक रोजगारीका कारण समाजमा विभिन्न सामाजिक समस्या उब्जिएका छन्। त्यसैले समृद्ध समाजको निर्माणका लागि पहिलो चुनौती भनेको विदेशमा भएका सक्षम युवाहरू फर्काउनु हो। अहिलेकै संरचनामा यो समाजमा केही हुने देखिन्न भन्ने कुरा तस्वीरले प्रमाणित गरिसकेको छ। त्यसैले जनप्रतिनिधि हो, युवा फर्काउ।
– दीपक खड्का, भक्तपुर

प्रतिक्रिया दिनुहोस्