नातावाद र कृपावादलाई बढावा नदेऊ



 

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्राविधिक तयारी पूरा भएको छ । दुई चरणमा हुने निर्वाचनको प्रत्यक्षतर्फ र समानुपातिकतर्फको सूची सार्वजनिक भएको छ । ठूला दलबीच तीव्र प्रतिस्पर्धा हुने भनिएको निर्वाचनमा उम्मेदवारको नाम सार्वजनिक भएपछि ठूला दलका नेता तथा कार्यकर्तामा निराशा छाएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मधेसी दलहरूले प्रत्यक्ष तथा समानुपातिकमा समावेश गरेका नाम बाहिर आएपछि लामो समयसम्म पार्टी राजनीति गरेकालाई निराश मात्र बनाएको छैन, उनीहरूमा अबको राजनीति यात्रा अगाडि बढाउने कि नबढाउने भन्ने अवस्था सिर्जना भएको छ । तीन दलका शीर्ष नेताहरूले पार्टीका लागि योगदान दिने कार्यकर्ताभन्दा पनि आफ्ना नातेदारलाई टिकट दिएपछि दलका कार्यकर्ताले विद्रोह गर्ने अवस्था सिर्जना भएको हो ।

दलका नेताहरूले आफ्ना नातेदारलाई मात्र उम्मेदवार बनाएनन् ती नेताहरूले पैसा लिएर टिकट दिएको आरोप कार्यकर्ताले लगाइरहेका छन् भने यसमा शीर्ष नेताहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । पार्टीका लागि राजनीति गर्ने नेता तथा कार्यकर्ताको मनोभावविपरीत आफ्ना नातेदार र पार्टीमा कुनै योगदान नभएकालाई टिकट दिएको कुरा साचो हो भने यो पक्कै राम्रो कुरा होइन । जसले आफ्नो जीवन नै दलका लागि बिताएका छन्, उनीहरू नै निराश हुने खालका निर्णय दलका शीर्ष नेताबाट हुनु पक्कै पनि राम्रो होइन । यसले दलहरूलाई हेर्ने जनताको भावनामा परिर्वतन नआउला भन्न सकिन्न । यसतर्फ दलका नेताहरूको ध्यान जान जरुरी छ । नेपालमा हुने राजनीतिक परिवर्तन र दलहरूले गर्दै आएका अलोकप्रिय निर्णयका कारण विभिन्न दलको नेताका बारेमा आएको समाचार सत्य हो भने यसलाई दुर्भाग्य मान्नुपर्दछ । दलका नेताहरूले यो विषय स्पष्ट पार्न जरुरी छ । होइन भने दल र नेताका बारेमा चिया पसलमा हुने गफलाई पुष्टि गर्ने काम दलका नेताहरूले गर्नुहुँदैन । यसतर्फ ध्यान दिँदै दलका नेताहरूले निर्वाचनमा होमिने वातावरण सिर्जना गर्न सके मात्रै नेताहरूमाथि लाग्ने गरेको यस्ता आरोप चिर्न सकिन्छ । मुलुकको सत्ताको बागडोर सम्हाल्ने नेतामाथि लाग्ने यस्ता आरोपले सबैलाई निराश बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्