भंगेराको गीतसँगै चित्रकला प्रदर्शनी



रंगराज आचार्य
पूर्व मन्त्री, साहित्यकार तथा गीतकार एसपी कोइरालाको अंग्रेजीमा अनुवादित कविता संग्रह सङस अफ स्वालोज् (भंगेराको गीत) को लोकार्पण गरिएको छ। शुक्रबार माइतीघरस्थित नेपाल कला परिषद्को प्रांगणमा राष्ट्रपति विद्यादेवी भण्डारी, वाङ्मय शताब्दि पुरुष सत्यमोहन जोशी, राष्ट्रकवि माधवप्रसाद घिमिरे, चित्रकार किरण मानन्धरले उक्त कविता संग्रहको विमोचन गरेका हुन्।

सोही अवसरमा राष्ट्रपति भण्डारीलगायतले चित्रकार अरुणा हिमवाङ्ले कोरेको एकल चित्रकला प्रदर्शनीको अवलोकन पनि गरे। चित्रकार हिमवाङ्ले एसपी कोइरालाको कविता संग्रहमा रहेको कविताको भाव झल्किने ४० प्रकारका चित्रहरू कोरेकी हुन्। सिर्जनात्मक महिला समूहले आयोजना गरेको चित्रकला प्रदर्शनी कात्तिक २५ गतेसम्म चल्ने छ।

कार्यक्रमका अतिथि चित्रकार किरण मानन्धरले यस्तो साहित्यिक कार्यक्रममा सरकारी पक्षको उपस्थितिले पनि त्यसको गरिमा बढ्ने चर्चा गर्दै कविता संग्रहका लागि साहित्यकार एसपी कोइरालालाई बधाई पनि दिए। वाङ्मय शताब्दि पुरुष तथा साहित्यकार सत्यमोहन जोशीले अब नेपाली कृतिहरूले पनि नोबेल पुरस्कार जित्नेमा कुनै आशंका नरहेको चर्चा गरे।

‘म यस कृतिका लागि साहित्यकार एसपी कोइरालालाई र सुन्दर चित्र कोर्ने अरुणाजीलाई पनि बधाई दिन चाहन्छुु’ –उनले भने।
त्यस्तै कार्यक्रमका अर्का अतिथि राष्ट्रकवि माधवप्रसाद घिमिरेले पनि साहित्यकार एसपी कोइरालाई उक्त कृतिका लागि बधाई दिए। साथै कोइरालाको कृतिमा नयाँपन भएको चर्चा गर्दै घिमिरेले उनको प्रशंसा पनि गरे। कार्यक्रममा विभिन्न साहित्यकार, चित्रकला क्षेत्रका विशिष्ट कलाकार र विभिन्न क्षेत्रका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्