पाँचथरको चिया विदेशमा लोकप्रिय



गणेश साम्पाङ, पाँचथर
पाँचथरमा अर्गानिक चियाका ग्राहकको संख्यामा वृद्धि भएको छ। पहिलाको तुलनामा अमेरिका तथा यूरोपका विभिन्न देशमा जाने गरेको अर्गानिक चिया माग बढेको छ।

चियाबाट पाएको सफलताप्रति त्यहाँका उद्यमी दंग भएपनि दक्ष जनशक्तिको अभाव भने अझै रहेको छ। आफुले बगान स्थापना गर्दा चियाको बजार ठूलो नभएको उनीहरू बताउँछन्।

त्यसैको एक उदाहरण हुनुहुन्छ–‘पूर्व सहायकमन्त्री तथा स्थानीय सहकारीका अभियान्ता दीपकप्रकाश बास्कोटा। २०४० सालमा चिया बगान स्थापना गर्दा देखेको सपना यति खेर आंशिक रूपमा पूरा हुँदा उहाँ दङ्ग तथा चिन्तित दुवै हुनुहुन्छ।
कञ्चनजंघा टि स्टेट एन्ड रिसर्च सेन्टरका अध्यक्ष बास्कोटाले कञ्चनजङ्घा एउटा टे«डमार्क बनेर सपना पूरा भएको बताउनुभयो। तर पनि शेयरहोल्डरलाई भनेजस्तो नाफा दिन नसकेकोमा आफू चिन्तित रहेको उहाँले बताउनुभयो। जिल्लामा अहिले रहेका अर्गानिक बगानलाई अझ व्यवस्थित गरेर गुणस्तरीय अर्गानिक चिया उत्पादन गर्न सके सजिलै डलर भित्र्याउन सकिने उहाँको बुझाइ छ।

काम गर्ने जनशक्ति नहुँदा पनि निकै समस्या भोग्नु परेको उहाँ बताउनुहुन्छ।
बास्कोटाले सदरमुकाम फिदिम–३ सुन्तला बारीमा ३४ वर्ष अघि स्थापना भएको कञ्चनजं्घा टि स्टेट एन्ड रिर्सच सेन्टरको चिया यतिखेर विदेशमा निकै लोकप्रिय भएको छ। नेपालकै पहिलो अर्गानिक चियाको प्रमाण पाएको कञ्चनजंघाबाट उत्पादित चियाको माग विदेशमा रहे पनि माग अनुसार उत्पादन गर्न कम्पनीले सकिरहेको छैन।

प्रतिकिलो १ हजार देखि ४ हजारसम्म मुल्य रहेको सो कारखानाबाट उत्पादित चिया ३० प्रतिशत नेपालका र ७० प्रतिशत विदेशमा जाने गरेको कारखाना म्यानेजर निरानन्द आचार्यले जानकारी दिनुभयो।
सो बगानबाट उत्पादन गरी कम्पनीकै कारखानामा तयार गरिएको अर्गानिक चिया अहिले अमेरिका जापान, जर्मनी र भारतलगायतका देशमा समेत जाने गरेको छ।

कारखानाबाट वार्षिक १ लाख ५० हजार किलो उत्पादन हुने गरेको छ।
कारखाना र बगान स्थापना गर्ने कुरा ठूलो कूरा नभएको आचार्यको भनाइ छ। यसबाट उत्पादित चियाको गुणस्तर कायम राख्नु महत्वपूर्ण रहेको उहाँको भनाइ छ। विदेशमा अर्गानिक चिया पठाउन विभिन्न स्तरमा फरक ल्याब टेस्ट हुने उहाँ बताउनुहुन्छ। चियाको गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय स्तरका निकाय सेरेसले अर्गानिक प्रमाणित गरेको प्रमाणलाई मात्र मान्यता दिइने गरेको। त्यो मान्यता कञ्चनजंघाले मात्र पूरा गरेको छ उहाँको दाबी छ।
कारखाना र बगानमा गरी अहिले १ सय ५० जना व्यक्तिले रोजगारी पाएका छन।

केही वर्ष देखि अर्गानिक चियाको माग बढ्न थालेपछि जिल्लामा स्थापना भएका अर्गानिक कारखानाबाट उत्पादन भएको चियाको माग पनि बढेको छ। मिक्जाजुङ–२, पाँचथरमा स्थापना भएको नर्थ नेपाल टि स्टेटको एरोमा नेपाल कारखानाबाट उत्पादन भएको अर्गानिक चिया भारतीय बजारमा निर्यात भइरहेको छ।

१ सिजनमा ५ हजार किलो तयारी चिया उत्पादन गर्ने सो कारखानाबाट उत्पादन गरिएको चिया प्रतिकिलो १ हजार देखि १ हजार ६ सय भारतीय रुपियाँमा बिक्री हुने गरेको हो।
जिल्लामा अर्गानिक चिया उत्पादन गर्ने लेकाली अर्गानिक चिया उद्योग, जनता टि स्टेट, ओयाम केशरी चिया, ताजेलुङ चिया उद्योगलगायत आधा दर्जन चिया कारखाना सञ्चालनमा रहेका छन। जिल्लामा १४ वटा चिया सहकारी, एक दर्जन चिया बगान रहेका छन्। हाल १ हजार ६० रोपनी क्षेत्रमा चिया रोपिएको १ हजार १ सय ९ किसान आबद्ध रहेको चिया विस्तार आयोजना लालीखर्क पाँचथरका प्रमुख प्रेम तामाङले जानकारी दिनुभयो।
नेपालमा चियाको शुरुवात इलामबाट भए पनि अर्गानिक चियामा भने पाँचथरले पहिचान बनाएको छ। चियाको क्षेत्रमा स्वाद विशेषज्ञहरू नेपालमा उत्पादित अर्गानक चियामध्ये सबैभन्दा गुणस्तरिय चिया पाँचथरको रहेको हुनाले यहाँको अर्गानिक चियाले विदेशी उपभोक्ताको मन जितेको उहाँहरूको दाबी छ।

प्रतिक्रिया दिनुहोस्