आगामी चुनावमा एन्फाका बढी उम्मेदवार



फिरोज राजोपाध्याय, काठमाडौं ।

आगामी मंसिर २१ गते हुने आम निर्वाचनको दोस्रो चरणका लागि खेल जगत्का हस्तीहरूले पनि उम्मेदवारी दर्ता गराएर राजनीतिमा आफ्नो भविष्य बनाउन खोजेका छन्। नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कोषाध्यक्ष सुरेन्द्र हमालदेखि लिएर करातेका मीनकृष्ण श्रेष्ठले आगामी चुनावमा आफ्नो नाम उम्मेदवारका रुपमा दर्ता गराएका छन्।

खेलकर्मीहरू उम्मेदवारी दिनेमध्ये अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरू भने बढी संख्यामा छन्। प्रायःलाई नेपाली कांग्रेसले टिकट दिएको छ। एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरले काठमाडौं क्षेत्र नम्बर ९ अन्तर्गत प्रदेशसभा ‘क’बाट उम्मेदवारी दिएका छन्। एन्फाका पूर्वमहासचिव कुमार जंग थापाले सुनसरी क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘क’बाट उम्मेदवारी दर्ता गरेका छन्।

त्यस्तै एन्फा उपाध्यक्ष किशोर राई पनि सुनसरी क्षेत्र नम्बर १ को प्रदेशसभा ‘कबाट उम्मेदवार बनेका छन्। राई राखेपका पूर्वसदस्य पनि भइसकेका हाल राजनीतिमा आफ्नो भविष्य अजमाउन लागेका छन्। एन्फाकै केन्द्रीय सदस्य मोहम्मद समिउल्लाह भने नेकपा एमाले पार्टीका तर्फबाट बारा क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘ख’मा उम्मेदवार बनेका छन्।

 

एन्फाका पदाधिकारीमा उम्मेदवारी दिनेमध्ये तुलाधरको बढी चर्चा भएको छ। तुलाधर पहिले फुटबल खेलाडी हुनुका साथै तेक्वान्दोका प्रशिक्षकसमेत रहिसकेका थिए। संकटा क्लबका अध्यक्ष तुलाधरले काठमाडौंमा खेलकुदको पूर्वाधारमा बढी जोड दिने बताएका छन्।

तुलाधरले नेपाल समाचारपत्रलाई बताए– ‘काठमाडौंबासी बढी पीडित भएको देखेर नै चुनावमा उठ्नै पर्ने भएको हो। कोही त अगाडि आउनुप¥यो नि। मैले चुनाव जितेर आफ्नो प्रदेशमा सहज वातावरण गर्नुपर्ने ठूलो चुनौती छँदै छ।

त्यसको साथै खेलकुद विकासका लागि पूर्वाधार बनाउन पनि सकिन्छ। हेर्नु न दशरथ रंगशाला नै जीर्ण भएको अवस्थामा अहिलेसम्म केही गर्न सकिरहेको छैन। यो रंगशाला उपलब्ध नहुँदा सम्पूर्ण खेल जगत् नै प्रभावित भएको छ। यदि म जितेमा खेलकुदलाई प्राथमिकतामा राखेर हाम्रो प्रदेशमा सहजरूपमा काम गर्नेछु।’

प्रतिक्रिया दिनुहोस्