न्युयोर्क ट्रक आक्रमणकारीलाई मृत्युदण्ड दिनुपर्छ ः ट्रम्प



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कका संदिग्ध आक्रमणकारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने आफूले चाहेको बताएका छन्।

यसअघि ट्रम्पले न्युयोर्कका ट्रक आक्रमणकारी सैफुल्लो साइपोवलाई ग्वान्टानामो जेल पठाइने बताएका थिए तर अहिले यो प्रक्रियामा लामो समय लाग्ने भएको बताउँदै त्यसबाट पछाडि हटेका छन्।

आक्रमणकारीले न्युयोर्कमा आक्रमण गर्दा ‘आफूलाई राम्रो लागेको’ र धेरैभन्दा धेरै मान्छे मार्न चाहेको प्रहरीलाई बताएका थिए। बुधबार भएको आक्रमणमा ८ जनाको मृत्यु भएको थियो र ११ अन्य घाइते भएका थिए। मारिनेमा पाँच जना अर्जेन्टिनाका नागरिक थिए। उनीहरू ग्य्राजुएसन भएको ३० वर्ष पूरा भएको खुसियाली मनाउन त्यहाँ पुगेका थिए। तीबाहेक मारिनेमा एकजना बेल्जियमकी एक महिला र दुई अमेरिकी नारिक छन्। आक्रमणकारी इस्लामिक स्टेटबाट प्रभावित रहेको प्रहरीले बताए। अमेरिकी अधिवक्ताहरूले साइपोवमाथि न्युयोर्कमा आतंक फैलाएको आरोप लगाएका छन्। साइपोवविरुद्ध इस्लामिक स्टेटका लागि संसाधन जुटाएको आरोप पनि तय गरिएको छ।

सन् १९८८ मा जन्मेका अमेरिकी ग्रिनकार्डवाहक सैफुल्लो साइपोव ओहायो, फ्लोरिडा र न्युजर्सीमा बसेका थिए। उनी तीन बच्चाका पिता भएको जनाइएको छ। अमेरिका आएपछि साइपोवको झुकाव इन्टरनेटको माध्यमबाट कट्टरपन्थीतर्फ भएको बताइएको छ।

उनले धरै पढाइलेखाइ नगरेको र अमेरिका आउनुअगाडि उनलाई कुरानका बारेमा पनि कुनै जानकारी नभएको उनीसँग नजिकको सम्बन्ध भएको ब्लगर मुमीनोवले बताए। साइपोव ड्राइभरको काम नपाउँदा अत्यन्त चिन्तित बनेको र डिप्रेसनमा पुगेको उनले बताए। काम नपाएकामा उनी आक्रोसित पनि थिए।

आफ्नो कट्टरपन्थी विचारका कारण उनी प्रायः उज्वेकीहरूसँग विवाद गर्थे र पछि उनी फ्लोरिडामा गएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्