सिरियाली सेनाद्वारा आईएस नियन्त्रित अन्तिम शहर कब्जा



दमास्कस, (एजेन्सी)
सिरियाली सेनाले कट्टरपन्थी इस्लामिक समूह इस्लामिक स्टेटको कब्जामा रहेको दैर अल जौर शहरलाई आफ्नो नियन्त्रणमा लिएको छ। यो शहर सन् २०१४ देखि आईएसको कब्जामा थियो।

इराकको सीमानजिक भएकोले यो शहर आईएसका लागि रणनीतिकरूपमा अत्यन्त महत्वपूर्ण मानिएको थियो। सिरियाली सरकारी टेलिभिजन च्यानलले भनेको छ– ‘शहर अब आतंकवादबाट पूर्णरूपमा मुक्त भएको छ।’

यसैबीच सिरियाली सेना आफ्ना सहयोगीहरूसँग मिलेर इस्लामिक स्टेटको कब्जामा रहेको अन्तिम इलाका फिर्ता लिनका लागि संघर्ष गरिरहेको समाचारमा जनाइएको छ। यसअघि बेलायतस्थित सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सले सरकारी बलले कयौं हप्ता संघर्षपछि शहरलाई आफ्नो नियन्त्रणमा लिएको बताएको छ।

उक्त इलाकाका करिब साढे ३ लाख नागरिक आफ्नो घर छोड्न बाध्य भएका छन्। युफ्रेटस नदीको किनारामा बसेको शहर राक्का र इराकी सीमामा अवस्थित छ। सरकारको नियन्त्रणमा जानुअगाडि राक्कामा इस्लामिक स्टेटको हेडक्वाटर रहेको थियो।

इस्लामिक स्टेटले सीमाको दुवैतिरका भूभाग मिलाएर युफ्रेटस प्रान्तका रूपमा घोषित गरेका थिए। उक्त इलाकालाई आईएसले इराक र सिरियाबीच लडाकू, हतियार र सामान आवागमनका लागि प्रयोग गर्दै आइरहेको थियो। गत महिनामात्रै अमेरिका समर्थित सिरियन आमीले राक्कालाई आईएसबाट छुटाइएको थियो। सिरियन आर्मी समूहले गत सेप्टेम्बरमा दैर अल जोरमा आईएसको कब्जा समाप्त पार्दै ९३ हजार नागरिकलाई स्वतन्त्र बनाएका थिए।
इस्लामिक स्टेको नियन्त्रण अब दैर अल जौरको केही हिस्सामा मात्र सीमित रहन पुगेको छ।

७ सयभन्दा धेरैको हत्या
इराकको मोसुल शहरमा भएको संघर्षका क्रममा आईएसले कम्तीमा ७ सय ४१ जनाको हत्या गरेको संयुक्त राष्ट्र संघले जनाएको छ।

जिहादीहरूमाथि ठूलो संख्यामा नागरिकलाई अपहरण गरेको, मानव ढालका रूपमा प्रयोग गरेको, जबरजस्ती घरहरूलाई खाली गराएको र ज्यान जोगाएर भाग्ने प्रयास गरिरहेकामाथि हमला गरेको आरोप लगाइएको छ।

राष्ट्र संघका मानवअधिकार प्रमुख जीद राद अल हुसैनले भने– ‘यो जघन्य अपराध गर्नेहरू दोषीहरूले यसको जवाफ दिनुपर्छ।’

उनले इराकी सेनाबाट भएका उल्लंघनको पनि जाँच गर्ने बताएका छन्। युद्ध चरम अवस्थामा पुग्दा इराकी सेना र अमेरिकी नेतृत्वमा भएका हवाई हमलामा ४ सय ६१ नागरिकको ज्यान गएको उनले बताए। यो सन् २०१६ नोभेम्बरदेखि सन् २०१७ जुलाईबीचको घटना भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्