जुम्लाका ४१ मतदानस्थल अति संवेदनशील



नन्दराम जैशी, जुम्ला

आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि जुम्लाका ४१ मतदान स्थललाई अति संवेदनशील स्थलको रूपमा राखिएको छ। सुरक्षा संवेदनशीलताका आधारमा ७६ वटा मतदान स्थलमध्ये ४१ वटालाई अतिसंवेदनशील स्थलका रूपमा राखिएको हो। सुरक्षा चुनौतीको विश्लेषणका आधारमा जिल्ला सुरक्षा समितिले जिल्लाका मतदान केन्द्रको वर्गीकरण गरेको सहायक प्रहरी निरिक्षक ताराबहादुर रेउलेले बताउनुभयो। ११ वटा मतदान केन्द्रलाई सामान्य र १४ वटा मतदान केन्द्रलाई संवेदनशील मतदान स्थलको रूपमा वर्गीकरण गरिएको छ।

जिल्लामा ७६ मतदान स्थलअन्र्तगत ९० वटा मतदान केन्द्र तोकिएको छ। सुरक्षा थ्रेट र प्रहरीलाई प्राप्त विभिन्न सूचनाका आधारमा हामीले ती मतदान स्थललाई अतिसंवेदनशील स्थलका रूपमा राखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। स्थानीय प्रशासनले जुम्लामा खास गरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट सुरक्षा चुनौती महशुस गरेको छ।

सुरक्षा निकायले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धी चुनावी भएकाले आ–आफ्ना नेतृत्वलाई जिताउनका लागि नेता कार्यकर्ता, युवाहरूलाई परिचालन गर्दा २ पक्षबीच दोहरो झडप हुने खतरा पनि देखिएको छ।
सुरक्षा निकायले मतदान स्थललाई देशभर सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा विभाजन गरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ। अतिसंवेदनशील मतदान स्थलमा सुरक्षाकर्मी पनि अन्यको तुलनामा बढी नै परिचालन गर्ने व्यवस्था छ।

जसमा ३ घेरामा सुरक्षाकर्मी परिचालन गरिनेछ। पहिलो घेरामा म्यादी प्रहरी त्यसपछि नेपाल प्रहरी र त्यसपछि बाहिरी घेरामा सशस्त्र प्रहरी परिचालन गरिने भएको छ।
नेपाली सेनाले अतिसंवेदनशील स्थलमा गस्ती व्यवस्था मिलाइरहेको स्थानीय प्रशासनले जनाएको छ। जुम्ला भौगोलिक रूपमा विकट रहेकाले मतदान स्थलमा यातायात र सञ्चारको सहज पहँुच पुग्न नसकेका कारण धेरैजसो मतदान स्थललाई संवेदनशील मतदान स्थलका रूपमा राखिएको छ।

जिल्लामा यसपटक ३ स्थानमा मतदान केन्द्र थप गरिएका छन्। १ हजार ६४ मतदाताबराबर १ मतदान केन्द्र तोकिने निर्वाचन आयोगको नियमअनुसार जिल्लामा योपटक तीनवटा मतदान केन्द्र थप गरिएको निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले बताउनुभयो।

निर्वाचन कार्यालयका अनुसार निर्वाचन सफल बनाउनका लागि मतदाता शिक्षा, निर्वाचन र सञ्चार तालिम जनशक्ति व्यवस्थापनलगायतका गतिविधिहरू तीव्र गतिमा सञ्चालन भइरहेका छन्। मंसिरमा हुने निर्वाचनका लागि जुम्लाका ५९ हजार ५८ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नेछन्। उक्त निर्वाचनमा प्रतिनिधि सभाका लागि ३ दलका ३ जना उम्मेदवार र प्रदेश सभाका दुई निर्वाचन क्षेत्रका लागि ६ दलका १० जना उम्मेदवारहरू मैदानमा उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस्