रगतको चरम अभाव



– मागअनुसारको आपूर्ति नहुँदा समस्या

– गनिएकै अस्पतालमा रगत स्टक छैन

प्रशान्त वली, काठमाडौं ।
अघिल्लो साता रोल्पा लिवाङका ५४ वर्षीय मानबहादुर बुढामगरलाई एक्कासि पेट फुले काठमाडौं स्थित वीर अस्पतालमा पुर्याइयो। इमरजेन्सी कक्षमा भर्ना भएका मगरलाई चिकित्सकहरूले रगतको कमी भएकाले रगत ल्याउन उनका आफन्तलाई आग्रह गरे। र, लगत्तै फोन गरियो रक्त सञ्चार केन्द्रमा।

विरामीका आफन्त ः सर, नमस्कार। एबी पोजेटिभ ब्लड आवश्यक पर्यो। जसरी भए पनि मिलाइदिनुपर्यो।

केन्द्रको जवाफ ः अहिले सकिएको छ। आयो भने खबर गर्छांै ल।

वीर अस्पतालको नजिकै रहेको ट्रमा सेन्टरमा समेत बेलाबेला रक्त संकलन भइरहेको हुन्छ। त्यहाँ बिरामीका आफन्तले फोन गर्दा पनि सेन्टरले अहिले छैन भन्ने प्रतिक्रिया दियो।काठमाडौंमा रगतको चरम अभाव देखिएको छ। मागअनुसारको आपूर्ति हुन नसक्दा रगतको अभाव देखिएको हो। वार्षिक३ लाख युनिट रगत सप्लाई भइरहेको रक्त सञ्चार केन्द्रले जनाएको छ। वर्षेनि ३ लाखको १३ प्रतिशत माग बढ्दै गएको केन्द्रका निर्देशक मनिता राजकर्णिकारले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

रगत आवश्यक परेका बिरामीका आफन्तहरू मिल्दो समूहको व्यक्ति खोजेर केन्द्रमा नै गएर रगत दिने गरेका छन्। निर्देशक राजकर्णिकारले भन्नुभयो– ‘काठमाडौं उपत्यकामा मात्रै २० वटा अस्पतालले रगत संकलन गर्न पाउँछन्। मागअनुसार आपूर्ति दर न्यून हुँदा समस्या भएको छ। अब जनचेतनालाई अझ व्यापक बनाउनुपर्छ।’

गनिएकै अस्पतालमा आपत्कालीन रगतको स्टक नहुँदा बिरामीको अकालमै ज्यानसमेत जाने गरेको छ। नेपाल रेडक्रस सोसाइटीले अस्पताल तथा बिरामीबाट रगतको माग बढेको तर तिहार तथा छठजस्ता महवपूर्ण चाडको समयमा रक्तदान शिविर र दाताहरूको संख्यामा कमी भएकाले आपूर्ति घट्दा काठमाडौंमा रक्त अभाव भएको जनाएको छ।

काठमाडौंमा रगत अभाव भएपछि रेडक्रसले रक्तदान गर्न सबैमा आग्रह गरेको छ। नेपाल रेडक्रस सोसाइटीले भृकुटीमण्डपस्थित रक्त सञ्चार केन्द्रको पुरानो भवन रहेको खुला ठाउँमा विशेष रक्त संकलन क्याम्पसमेत सञ्चालनमा ल्याइरहेको छ।रक्तदान गर्ने व्यक्तिको उमेर १८ देखि ६० वर्ष हुनुपर्ने र रक्तदाताको तौल ४५ किलोग्राम माथिको हुनुपर्छ। रक्तदाता मलेरिया, औलो, कुनै प्रकारको यौनरोग, जन्डिस, चिनी रोग, एड्स, क्षयरोग लागेको हुनुहुँदैन।रक्तदान गर्दा रक्सी वा अन्य कुनै लागूपदार्थ सेवन गरेको हुनुहुँदैन।

गर्भवती, महिनावरी भइरहेकाले पनि रक्तदान गर्नुहुँदैन। रक्तदान गर्ने बेलामा रक्तदाताको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन। रक्सी सेवनको २४ घण्टाभित्र रक्तदान गर्नुहुँदैन।

रक्तसञ्चारको तथ्यांकअनुसार ९९ दशमलव ४ प्रतिशत नेपाली पोजिटिभ समूहको छ भने शून्य दशमलव ६ प्रतिशतको निगेटिभ रगत समूह छ। अर्थात् नेपालमा २ सय जनामा एकको रगत समूह नेगेटिभ छ। शरीरमा रगतको मात्रा कमी भएमा बेथेको साग, केराउ, हरियो धनियाँ, गोलभेंडा, गहुँ, चना, मुगीको दाल, लसुन, अमला, अनार र लौकाको जुस नियमित रूपमा खानुपर्ने चिकित्सकको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्