समानुपातिक उम्मेदवारको नाम सार्वजनिक



नेपाल समाचारपत्र, काठमाडौं ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभातर्फका समानुपातिक उम्मेदवारको नाम शुक्रबार सार्वजनिक गरेको छ।

मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरूले समानुपातिकतर्फ बुझाएको बन्दसूची आयोगले साँझ सार्वजनिक गरेको हो। प्रारम्भिक सूचीमा दाबी विरोध, उजुरीमा जाँचबुझलगायतको चरण पूरा गरेर मंसिर ३ गते अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यतालिका रहेको प्रवक्ता नवराज ढकालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ अनुसार दलले दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम समावेश गर्नुपर्ने प्रावधान रहेको छ।

समानुपातिकतर्फ ५० प्रतिशत महिलासहित दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम समुदायको अनिवार्य प्रतिनिधित्व हुने गरी बन्दसूची तयार गर्नुपर्ने प्रवक्ता ढकालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।
प्रतिनिधिसभाका लागि समानुपातिक सूची तयार गर्दा दलित १३ दशमलव ८, आदिवासी जनजाति २८ दशमलव ७, खस आर्य ३१ दशमलव २, मधेसी १५ दशमलव ३, थारु ६ दशमलव ६ र मुस्लिम ४ दशमलव ४ प्रतिशत तोकिएको छ। प्रदेशसभाका लागि जनसंख्या र जातीय आधारमा प्रतिशत तोकिएको छ।

दलहरूले पेस गरेको बन्द सूचीबाट प्रदेश र प्रतिनिधिसभाको समानुपातिकतर्फका ३ सय ३० जना सदस्य निर्वाचित हुनेछन्। असोज २९ गते दलहरूले समानुपातिकतर्फको सूची बुझाएका थिए। बुझाइएको सूची सच्याउन आयोगले दलहरूलाई समय प्रदान गरेको थियो। समानुपातिक निर्वाचन निर्देशिकाअनुसार आयोगले निर्देशन गरेबमोजिम सम्बन्धित राजनीतिक दलहरूले कात्तिक ६ देखि १२ गतेसम्म उम्मेदवारको बन्दसूची सच्याई आयोगमा पेस गरेका थिए।

समानुपातिकतर्फ आयोगमा प्रतिनिधिसभातर्फ ४९ र प्रदेशसभातर्फ ५५ दलले बन्दसूची बुझाएका छन्। समानुपातिकतर्फ प्रतिनिधिसभामा १ सय १० र सातै प्रदेशसभाका लागि २ सय २० जना सदस्य चुनिनेछन्।

सातवटै प्रदेशका प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको नामावली प्रदेशअनुसार बेग्ला बेग्लै बन्दसूचीसमेत निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेका थिए। आयोगका अनुसार प्रदेश नम्बर एकमा २७, प्रदेश नम्बर दुईमा २९, प्रदेश नम्बर तीनमा ३१, प्रदेश नम्बर चारमा २०, प्रदेश नम्बर पाँचमा २७, प्रदेश नम्बर छमा १८ र प्रदेश नम्बर सातमा २० वटा राजनीतिक दलले उम्मेदवारहरूको बन्दसूची पेस गरेका थिए। दोस्रो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फ दर्ता गराइएको मनोनयनविरुद्ध आज उजुरी गर्ने समय तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्