उमेशचन्द्र थापा हत्याका ‘दोषी’ रानालाई शंकर पोखरेलले ३० लाखमा टिकट बेचे



निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको समानुापतिकको बन्द सूचीमा जनजातिको आरक्षणमा राना १ नं. मा छन् ।

३ हप्ता अगाडि मात्रै एमालेमा प्रवेश गरेका रानालाई एमालेले समानुपातिकको सूचीमा १ नं. मा राखेर दाङमा लामो समयदेखि योगदान गरेका नेताहरूको अबमूल्यन गरेको भनेर विद्रोह सुरु भएको छ ।

रानालाई सूचीबाट हटाउन नेतृत्वलाई एमाले दाङका इमान्दार कार्यकर्ताले नेतृत्वसँग माग गरेका छन् ।

रानाले गरेको अत्याचारका विषयमा एमाले दाङले अहिले आँखा चिम्लेर समानुपातिकको टिकट दिएको छ । थापाको हत्याका विषयमा रानाको भूमिका अहिले पनि खोजीको विषय छ ।

को हुन् बलिभद्र राना ?

राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालमा राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन गरेका कमाल थापाका निकटका व्यक्ति हुन्, बलिभद्र राना ।

कमल थापा स्थानीय विकास र गृहमन्त्री बनेका बेला राजा ज्ञानेन्द्र शाहसँग लाभ लिने अवसरवादी नेताका रुपमा परिचित छन्, उनी ।

कमल थापाको सिफारिसमा रानालाई राजा ज्ञानेन्द्र शाहले घोराही नगरपालिकको मेयरमा मनोनीत गरेका थिए । त्यस बेला उनले घोराही नगरपालिकामा करोडौँ रुपियाँको घोटाला गरेको आरोप छ ।

उमेशचन्द्र थापाको हत्यमा संलग्न

प्रमुख दलहरू नेपाली कांग्रेसको नेतृत्वमा दोस्रो जनआन्दोलन गरिरहेका बेला राजा ज्ञानेन्द्र शाहले कथित स्थानीय निकायको निर्वाचन गर्ने बेला बलिभद्र रानाले एमाले दाङका नेता उमेशचन्द्र थापाको हत्या गराएको आरोप छ ।

घोराहीस्थित राप्ती सुपरलज नजिकै मुख्य सडकमा आन्दोलनकारीले बाटो अवारेध गरेका बेला उनै रानाले नेपाली सेनालाई गोली चलाउन आदेश दिएका थिए ।

रानाले सेनालाई ‘गोली हानेर यिनीहरूलाई सिध्याइ दे’ भनेर आदेश दिएको प्रत्यक्षदर्शी एमाले र कांग्रेसका नेताहरूले अहिले पनि बताउने गर्छन् । त्यसबेला राना सेनाको गाडीमा अगाडिको सिटमा बसेर आएका थिए ।

राना नामुद ठेकेदार

एमालेको समानुपातिक सूचीको १ नं.मा परेका राना दाङ जिल्लामा ठेकेदारी गर्दै आएका व्यक्ति हुन् । उनले गुणस्तरीय काम नगरेको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि जिल्ला प्रशासन कार्यालयसम्म पटक–पटक उजुरी परेका छन् । तर, रानाले आर्थिक प्रलोभनमा पारेर आफूविरुद्धका सबै उजुरीलाई निस्तेज बनाइ सकेका छन् ।

युवती भनेपछि हुरुक्कै

एमालेका नेता बनेका राना युवती भनेपछि हुरुक्कै हुने प्रवृत्तिका व्यक्ति हुन् । उनले युवतीहरूलाई ‘चरी’ भनेर सम्बोधन गर्छन् । उनका साथीहरूका अनुसार रानाको सबैभन्दा ठूलो कमजोरी युवती अर्थात ‘चरी’ र रक्सी हो ।

दाङ जिल्लामा रानाले धेरैका छोरीचेली बिगारेको भन्दै माओवादीको सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा(माओवादी)ले दशैँका बेला घोराहीबाट अपहरण गरेको थियो । झण्डै दुई सातापछि माओवादीसँग सेटिङ मिलाएर रानालाई सकुशल छाडिएको थियो ।

घोराहीदेखि काठमाडौंसम्म पैसा तिर्न बाँकी

राजनीतिक दलको नेताका रुपमा भन्दा ठेकेदारका रुपमा परिचित रानाले दाङमा गुन्डाहरूलाई संरक्षण दिएको आरोप छ । प्रहरीले रानालाई कडा निगरानीमा राख्दै आएको छ ।

होटेलदेखि भट्टीपसलसम्म रानाले थुप्रैलाई ऋण तिर्न बाँकी रहेको आरोप छ । उधारो खाएर नतिर्ने उनको बानी रहेको रानाका सहकर्मीहरू नै बताउँछन् ।

राजनीतिक यात्रा, कसरी पाए एमालेको टिकट

एमालेभित्रको केपी ओली र माधवकुमार नेपालबीचको आन्तरिक विवादमा रानाले फाइदा लिएका हुन् । स्रोतका अनुसार रानाले एमालेका स्थायी समिति सदस्य शंकर पोखरेललाई ३० लाख रुपियाँ दिएर प्रदेश सभाको समानुपातिकतर्फको टिकट पाएका हुन् ।

एमाले दाङका एकजना जिल्ला सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘बलिभद्र रानाको जनाधार खासै छैन । शंकर पोखरेललाई ३० लाख दिएर समानुपातिकको टिकट पाएको हो ।’

एमाले बन्नुअघि राना नेपाली कांग्रेसमा झण्डै एक वर्ष बसेका थिए । दाङ कांग्रेसले रानालाई नपत्याएपछि उनी शंकर पोखरेलमार्फत एमालेमा प्रवेश गरेका हुन् ।

रानाभन्दा एकसे एक नेता तथा कार्यकर्ताहरू एमालेमा छन् । तर, उनीहरूलाई टिकट नदिएर रानालाई टिकट दिनुको कारण दाङ एमालेभित्र खोजतलास सुरु भएको छ । टिकट वितरणमा स्थायी समिति सदस्य पोखरेल थिए ।

प्रतिक्रिया दिनुहोस्