राजधानीमा प्रहरी निगरानी बढाऊ



 

राजधानी काठमाडौंमा केही महिनायता साना हतियारको प्रयोग गरी आतंकित बनाउने काम तीव्र भएको छ । चुनावको माहोलमा काठमाडौंको कमजोर सुरक्षाको फाइदा उठाई आपराधिक समूहहरू सक्रिय हुन थालेको आभास भएको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएपछि आतंकित भएको राजधानी शान्त हुन नपाउँदै केही दिनपछि म्हैपीमा अर्को गोली चल्यो । सो गोलीकाण्डमा गोरखाका कल्याण गुरुङ घाइते भए । गत बुधबार पनि राजधानीको ज्याक डेनियल रेस्टुरेन्टमा दुई भारतीय नागरिकबीच विवाद हुँदा गोली चलेको छ । भारतको पन्जाव राज्यबाट काठमाडौं आएका जोगिन्द्र सिंह र हरवेन्द्र सिंहबीच विवाद भएपछि जोगिन्द्र सिंहले गोली फायर गरेका थिए । गोली आकाशतिर फायरिङ गरेका कारण मानवीय क्षति भने हुन पाएन । गोली चलेपछि उक्त रेस्टुरेन्टमा रहेका अन्य ग्राहकहरूको भागाभाग भएको थियो । प्रहरीले जोगिन्द्र र हरवेन्द्र दुवैलाई एउटा अटोमेटिक पेस्तोल र ५२ राउन्ड गोलीसहित पक्राउ गरेको छ । राजधानी छिर्ने नाकाहरुमा कडाइका साथ चेकजाँच हुन नसक्दा साना हतियारसहित आपराधिक समूहको सजिलै प्रवेश हुने गरेको हो ।

राजधानीमा हतियार प्रयोग भएपछि प्रकाशमा आएका घटना मात्र हुन् यी । साना हतियार बोकेर हिँड्ने अरु पनि धेरै हुन सक्छन् । नजिकिँदै गएको निर्वाचनलाई मध्यनजर गरी प्रहरीले निगरानी बढाउनुपर्ने देखिन्छ । हुन त नजिकिएको निर्वाचनलाई लक्षित गरी हतियार राजधानी भित्रिन सक्ने आशंका गर्दै प्रहरी प्रधान कार्यालयले सुरक्षा प्रमुखहरुलाई चनाखो हुन निर्देशन दिएको समाचार छ । तर पनि राजधानीमा हतियारको प्रयोग बढेकाले सरकारसहित सम्बन्धित निकायहरु बढी नै संवेदनशील हुनु जरुरी छ । उपत्यकामा विशेष गरी अमेरिकामा निर्मित पेस्तोल, इटालियन पेस्तोल, चिनियाँ एवं भारतीय पेस्तोल, सिक्सर रिवल्भर, २२ क्यालिभर पेस्तोल, नेपालमै बनेका कटुवाजस्ता साना हतियारको प्रयोग बढी हुन थालेको समाचार छ । यसले गर्दा यहाँको सुरक्षा व्यवस्थामा नै चुनौती थपिएको छ ।

पछिल्ला वर्षहरूमा साना हतियारबाट सिर्जित अपराधका घटनामा वृद्धि भएको छ । तीन वर्षयता उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरबाट मात्रै २० थान हतियार र २ सय ३ राउन्ड गोली बरामद भएको तथ्यांक छ । प्रहरीले यही अवधिमा उपत्यकामा हतियार प्रयोगमा संलग्न १ सय ६१ जनालाई पक्राउ गरेको जनाइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार तीन महिनायता मात्रै ९ हतियार बरामद भएका छन् भने ३० जना पक्राउ परेका छन् । साना हतियारको प्रयोग बढ्न थालेपछि राजधानीवासी त्रसित हुन थालेका छन् । निर्वाचनको माहोलमा यहाँ जे पनि हुन सक्ने भएकाले प्रहरीले राजधानीको सुरक्षा सतर्कतालाई मजबुत बनाउनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्