घरको आँगनमै भयानक गोही



 

नयाँदिल्ली, (एजेन्सी)
पूर्वी भारतीय राज्य ओडिसाको एक विकट आदिवासी गाउँमा एकजना मानिस बिहान उठेर हेर्दा आफ्नो आँगनमा तीन मिटर लामो गोही देखेर छक्क परेका छन्।

दसरथ मदकामी नामक ती व्यक्तिले अनौठो खालको आवाज सुनेर बिहीबार बिहान करिब ३ बजे बिउझिँदा गोही भेटाएको जानकारी पत्रकारहरूलाई दिएका छन्। उनले डराएर गाउँलेहरूसँग हारगुहार गरेपछि सबै मिलेर गोहीलाई रूखमा बाँधेका थिए।

निकै अत्तालिएका गाउँलेहरूले शुरूमा गोहीलाई मार्नै खोजेका थिए। तर गाउँका मुखियाले तिनीहरूलाई रोकेका थिए। अन्त्यमा स्थानीय वन्यजन्तु संरक्षण निकायका कर्मचारीहरू आएर गोहीलाई उद्धार गरेका थिए। तर त्यसलाई मुक्त गर्ने विषयमा पनि ठूलै विवाद भएको थियो।

ती कर्मचारीहरू गोहीलाई उनी आएकै स्थान सातीगुदा बाँधनजिक छोड्न चाहन्थे भने स्थानीय गाउँलेहरू गोही फेरि फर्किने डरले त्यस्तो नगराउने पक्षमा रहेका थिए। सातीगुदा बाँधमा यस्ता ठूला ठूला ३० देखि ४० वटा गोही रहेको बताइएको छ। अन्ततः त्यस गोहीलाई गाउँदेखि ६० किमि टाढाको बालीमेला जलाशयमा छोडिएको थियो।

प्रतिक्रिया दिनुहोस्