मंसिरमा हिमालयका गीत



 

आगामी मंसिर ३ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सङ्स अफ द हिमालयज् नामक सांगीतिक समारोह आयोजना गरिने भएको छ।समारोहमा बलिउडका चर्चित कलाकारका साथमा नेपालको तर्फबाट फूलको आँखामा फूलै संसार गीतकी गायिका आनीछोइङ डोल्माले आफ्ना सांगीतिक प्रस्तुति प्रस्तुत गर्नेछिन्। कार्यक्रम नेपाल पर्यटन बोर्ड र आनीछोइङ डोल्माको सहकार्यमा हुन लागेको हो।

बलिउडको तर्फबाट परिनिता, लगे रहो मुन्ना भाइ, थ्री इडियटस्, पीके, पिंकलगायत सफल फिल्ममा संगीत दिएर राष्ट्रिय अवार्ड हात पारेका सान्तनु मोइत्रा कार्यक्रमको मुख्य आकर्षण हुने छन्। त्यस्तै शास्त्रीय विधाकी गायिका कौशिकी चक्रवर्ती, चितपरिचित मुरली वादक आश्विन श्रीनिवासन, सितार वादक पूर्वयन छत्तिरजीलगायतको प्रस्तुति रहने पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ।

‘भारतीय संगीत निर्देशक सान्तनुले १ सय दिन नेपाल, भुटान, भारतलगायतका हिमाली क्षेत्रमा यात्रा गर्ने क्रममा त्यसबाट मोहित भएर कथामा आधारित संगीत तयार पारेका थिए र त्यसलाई केन्द्रबिन्दु बनाएर नेपालमा प्रस्तुत गर्न लागिएको हो’ –पत्रकार सम्मेलनमा गायिका आनीले भनिन्। संगीतको माध्यमबाट दुई देशलाई जोडेर नेपालमा पर्यटनको सम्भावना बढाउन यसले ठूलो भूमिका खेल्ने उनले चर्चा गरिन्। कार्यक्रमबाट उठेको रकममध्ये खर्च कटाएर आरोग्य प्रतिष्ठानमा खर्च गरिने आनीले प्रस्ट पारिन्।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस्तो भव्य कार्यक्रमको आयोजना गर्न पाउँदा निकै खुसी लागेको र यसले नेपालको पर्यटन प्रबद्र्धनमा ठूलो भूमिका खेल्ने दाबी गरे। सांगीतिक समारोहमा गीतभन्दा बढी कथामा आधारित संगीतलाई जोड दिइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्