दलहरू मत माग्न गाउँ अभियानमा व्यस्त



 

दयाराम पण्डित, बाजुरा
आगामी मंसिर १० गते हुने भनिएको प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि आ–आफ्नो पक्षमा मत माग्न यतिबेला उम्मेदवारसहित दलका कार्यकर्ता बाजुरामा घरदैलो अभियानमा छन्।

एउटा निर्वाचन क्षेत्र र २ वटा प्रदेशसभा सदस्य रहेको बाजुराको चुनावी सरगर्मी यतिबेला निकै बढेको छ। बाजुरामा वाम गठबन्धन र प्रजातान्त्रिक धारको २ गठबन्धन देखिन्छन्। गाउँ जाने उम्मेदवारले राजनीतिक मुद्दाका साथै जिल्लाको आर्थिक सामाजिक समृद्धिका नारा पनि उत्तिकै बोकेका छन्।

प्रचारप्रसारकै क्रममा यतिबेला बाजुराबाट प्रतिनिधिसभाका तीनै दलका उम्मेदवारहरू नेपाली कांग्रेसका तर्फबाट कविराज पण्डित, नेकपा एमाले वाम गठबन्धनका लालबहादुर थापा र नयाँशक्ति पार्टीका उम्मेदवार दिलीप शाहीलगायत क्षेत्र नं १ बाट कांग्रेसका जनकराज गिरी र एमालेका बलदेव रेग्मीलगायतका नेता कार्यकर्ताहरू सदरमुकाम मार्तडीबाट उत्तरपूर्वी कुण्डा क्षेत्रका गाउँ–गाउँमा व्यस्त छन् भने यता क्षेत्र नं २ का प्रदेशसभाका उम्मेदवार नेपाली कांग्रेसका पदमबहादुर शाही र नेकपा एमालेका प्रकाश साह सदरमुकाम दक्षिण–पश्चिम क्षेत्रमा छन्।

चिसो मौसमसँगै बाजुरामा दिनप्रतिदिन चुनावी माहोल बढिरहेको छ । नाराजुलुस, नाचगान बाजागाजासहित राजनीतिक कार्यकर्ता गाउँ केन्द्रित छन् ।मेला, घाँसपात, होटेल र पसलमा चुनावकै रन्को सुनिन्छ।
बाजुराको आर्थिक तथा सामाजिक समृद्धि र लोकतन्त्रको रक्षाका लागि भन्दै कांग्रेसले प्रचारअभियान तीव्र पारेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराका सचिव एवं बूढीगंगा नगरपालिकाका नगरप्रमुख दीपकविक्रम शाहले बताए।

निष्पक्ष निर्वाचन गराई देशमा स्थायी सरकार गठन गरी समृद्धिका सवाल लिएर वाम गठबन्धन चुनावी मैदानमा होमिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं गौमुल गाउँपालिकका अध्यक्ष हरिबहादुर रोकायाले बताए।

मत माग्न आउने उम्मेदवारले बाटो, बिजुली, शिक्षा, स्वास्थ्यलगायतका सुविधा दिन्छौं भन्दै नेपाली कांग्रेस, एमाले नयाँशक्तिलगायतका दलका उम्मेदवारले मत मागेको मार्तडी निवासी महिला मतदाता सावित्री श्रेष्ठले बताइन्। बाजुरामा ७० वटा मतदान केन्द्र र १०० वटा मतदानस्थल रहेका छन्। स्थानीय तहको निर्वाचनपश्चात् बाजुरामा ८ वटा मतदानस्थल थप भएका थिए। बाजुराको सर्वाधिक विकट हिमाली गाउँपालिकाको हिमालभक्ति केन्द्रमा जम्मा ३० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराका सूचना अधिकारी मानबहादुर थापाले बताउनुभएको छ।

‘मतदाता शिक्षा स्थगित भएपछि मतपत्र कसरी प्रयोग गर्ने मतदाता प्रभावित हुने भएका छन्। ‘६४ वटा सामग्री केन्द्रले पठाउनुपर्ने र १७ वटा सामग्री जिल्लामै व्यवस्था गर्नुपर्ने हुन्छ । हालसम्म कुनै सामग्री आएको छैन, सामग्री नआउँदा बाजुराको निर्वाचन प्रक्रिया अन्योलमा रहेको छ’, –सूचना अधिकारी थापाले बताए।

प्रतिक्रिया दिनुहोस्