प्रतिनिधिसभाका लागि प्रमुख दलबाट १८ जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा



काठमाडौँ । पहिलो चरणअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनमा प्रत्यक्षतर्फ न्यून महिला उम्मेदवार उठाएका प्रमुख तीन दलले दोस्रो चरणको निर्वाचनमा भने तुलनात्मकरुपमा केही बढी महिला उम्मेदवार उठाएका छन् । पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि ३७ क्षेत्रमा हुने निर्वाचनमा नेपाली काँग्रेसबाट दुई र नेकपा माओवादी केन्द्रबाट एक गरी जम्मा तीन जना मात्रै महिला उम्मेदवार उठाएका थिए । तर दोस्रो चरणअन्तर्गत १२८ क्षेत्रमा हुने निर्वाचनमा प्रमुख तीन दलबाट १५ जना महिलाले आज उम्मेदवारी मनोनयन दर्ता गराउँदै चुनावी मैदानमा उत्रिएका छन् । दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसबाट सबैभन्दा बढी सात जना, नेकपा एमालेबाट पाँच र नेकपा माओवादी केन्द्रबाट तीन जना महिला उम्मेदवारले मनोनयन दर्ता गराएका छन । यसरी काँग्रेसबाट उम्मेदवारी दिनेमा तेह्रथुमबाट सीता गुरुङ, महोत्तरी–२ बाट किरण यादव, मकवानपुर– २ बाट महालक्ष्मी डीना उपाध्याय, काठमाडौँ–३ बाट अम्बिका बस्नेत, दाङ–१ बाट सुशीला चौधरी, कैलाली– १ बाट ईश्वरीदेवी न्यौपाने र कैलाली–५ बाट डा आरजु राणा रहेकी छिन ।

यसैगरी नेकपा एमालेले झापा–२ बाट पवित्रा खरेल, सुनसरी–३ बाट भगवती चौधरी, उदयपुर–१ बाट मञ्जु चौधरी, स्याङ्जा–२ बाट पद्माकुमारी अर्याल र कैलाली–१ बाट गरिमा शाहलाई उम्मेदवार बनाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले ललितपुर– ३ बाट पम्फा भुसाल, पर्सा–४ बाट उर्मीला अर्याल र कञ्चनपुर–१ बाट बिना मगरलाई उम्मेदवार बनाएको छ । तीमध्ये कैलाली– १ मा महिला÷महिला उम्मेदवारबीच नै रोचक प्रतिस्पर्धा हुनेभएको छ । सो क्षेत्रमा काँग्रेसकातर्फबाट ईश्वरीदेवी न्यौपाने र वाम गठबन्धनकोतर्फबाट एमालेका गरिमा शाहले उम्मेदवारी दिएका छन । यस्तै केहीअघि राप्रपा छोडी नेकपा एमाले प्रवेश गरेकी गायिका तथा सञ्चारकर्मी कोमल ओलीले दाङ– ३ बाट तथा पूर्वसांसद सञ्जय साहकी पत्नी रंगीला साहले धनुषा–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्