अछाममा बाम गठबन्धनले संयुक्त शक्ति प्रदर्शन सहित उम्मेद्धारी दर्ता गराउने



बिष्णुप्रसाद भण्डारी, अछाम
दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका अछाममा पनि उम्मेद्धारी दर्ताको तयारी भैरहेको छ । मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस र वाम गठबन्धनले शक्ति प्रदर्शन सहित उम्मेद्धारी दर्ताको तायरीमा गरिरहेछन् । केन्द्रमा चुनावी ताल–मेल गरेका एमाले र माओबादी शक्ति प्रदर्शन सहित संयुक्त रुपमा उम्मेद्धारी दर्ताको तायरीमा रहेका छन् । भने कांग्रेस एक्लै चुनावमा उत्रिदै छ ।

अछाम क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट एमाले उपात्तयक्ष भीम रावल र नेपाली कांग्रेसका जिल्ला सभापती भरतकुमार स्वारबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेका केन्द्रीय उपाध्यक्ष रावलसँग प्रतिस्पर्धा गर्न लागेका स्वार पूर्व जिल्ला विकास समितिका सभापति समेत हुनुहुन्छ ।

यस्तै अछाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट पुष्पबहादुर शाह र वाम गठबन्धनबाट एमालेकै यज्ञबहादुर बोगटीले टिकट पाउनुभएको छ । शाह नेपाली कांग्रेस अछामका पूर्व सभापति हुन् भने बोगटी एमालेका वर्तमान जिल्ला सचिव हुन् ।

प्रदेशतर्फ क्षेत्र नम्बर १ को (क) मा नेपाली कांग्रेसबाट मेघराज खड्का र एमालेबाट गोविन्दबहादुर कुँवरबिच प्रतिस्पर्धा हुने भएको छ । दोश्रो संविधानसभा चुनावमा भीम रावलसँग खड्का पराजित हुनुभएको थियो । त्यहि क्षेत्रको (ख) मा गठबन्धनबाट माओवादी केन्द्रबाट झपट बोहरा र कांग्रेसबाट टेकबहादुर साउदले उम्मेदवारी दिँदै हुनुहुन्छ । बोहरा बैंकर हुन् भने साउद कांग्रेस जिल्ला पूर्व सचिव हुन् ।

यस्तै क्षेत्र नम्बर २ को (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अक्कलबहादुर रावल र नेपाली कांग्रेसबाट सुरतबहादुर विष्टले टिकट पाउनुभएको छ । रावल केन्द्रीय आयोजक समिति सदस्य हो भने विष्ट रिटायर्ड शिक्षक हुनुहुन्छ । त्यही क्षेत्रको (ख) प्रदेशमा नेपाली कांग्रेसबाट बलबहादुर कुँवर र एमालेबाट बलबहादुर सोडारीले टिकट पाउनुभएको छ ।

कुँवर दोश्रो संविधानसभा चुनावमा एमालेका भरत साउदसँग पराजित हुनुभएको थियो भने सोडारी एमाले जिल्ला सचिवालय सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्