चुरोटको लत छुटाउन चाहानुहुन्छ ? यसो गर्नुहोस



एजेन्सी । अनुसन्धानकर्ताहरू लामो समयदेखि धूमपान त्याग्न चाहनेका लागि सहज उपायको खोजीमा जुटेका छन्। प्रायशः यस्ता उपाय दुई विकल्पमा सीमित हुन्छन्ः एक्कासि त्याग्ने वा बिस्तारैबिस्तारै छोड्दै जाने। यी दुई विकल्पमध्ये कुनचाहिँ प्रभावकारी छ त?

‘अधिकांश व्यक्तिको धारणा एक्कासि त्याग्नेभन्दा पनि धूमपानको मात्रा (फ्रिक्वेन्सी) घटाएर बिस्तारै छाड्नु उपयुक्त उपाय ठान्छन्,’ अक्सफोर्ड विश्वविद्यालयकी निकोल लिन्ड्सन हाली भन्छिन्। उनले धूमपान सम्बन्धी हालै भएको अनुसन्धानको नेतृत्व गरेकी थिइन्। उक्त अनुसन्धान ‘एनल्ज अफ इन्टर्नल मेडिसिन’ जर्नलमा प्रकाशित छ।

तर, निकोल नेतृत्वको अनुसन्धानले बहुसंख्या व्यक्तिको धारणाविपरीत निष्कर्ष निकालेको छ, अर्थात् बिस्तारै छाड्नुभन्दा एक्कासि त्याग्नु सर्वोत्तम हुन्छ।

बेलायतमा निकोल र उनका सहकर्मीले धूमपान त्याग्ने योजनामा रहेका करिब ७ सय अम्मलीहरू (जो दैनिक कम्तिमा १५ वटा चुरोट खान्थे) लाई आफ्नो अनुसन्धानमा सामेल गरेका थिए। उनीहरू (धूमपान गर्नेहरू)ले बिस्तारै दैनिक चुरोटको संख्या घटाउँदै दुई सातामा धूमपान त्याग्ने योजना बनाएका थिए।

अनुसन्धानमा तीमध्ये आधालाई पहिले जसरी नै धूमपान गर्न र तोकिएको मितिबाट एक्कासि त्याग्न भनिएको थियो। बाँकीलाई भने धूमपान त्याग्ने मितिसम्म दैनिक रुपमा घटाउँदै घटाउँदै धूमपान रोक्न भनिएको थियो। दुवै समूहलाई चुइङगम, गुलिया चक्की र माउथ स्पे्रमार्फत व्यवहारजन्य परामर्श, ‘निकोटिन प्याच’ (छालामा लगाउने निकोटिनयुक्त पट्टी) र निकोटिन प्रतिस्थापन उपचार (निकोटिन रिप्लेसमेन्ट थेरापी) पनि दिइएको थियो।

अनुसन्धानकर्ताले धूमपान त्याग्ने मितिपछि एक महिनासम्म सहभागीले धूमपान गरे/गरेनन् अनुगमन गरे। फेरि त्यसको ६ महिनापछि पनि सहभागीले धूमपान गरे/नगरेको अनुगमन गरे।

अनुसन्धानले जसले एक्कासी धूमपान छाडेका थिए, उनीहरूले फेरि धूमपान नगरेको वा भनौँ उनीहरू धूमपान पूर्णरुपमा त्याग्न सफल भएको फेला पारे। अनुसन्धानबाट बिस्तारै धूमपान घटाउँदै त्याग्नेको तुलनामा एक्कासी छाड्नेको परिणाम २५ प्रतिशत प्रभावकारी पाइयो। त्यस्तै एक्कासी छाड्नेमध्ये ४९ प्रतिशत धूमपान त्याग्न सफल भए भने, बिस्तारै छाड्नेमध्ये ३९ प्रतिशतले मात्र त्याग्न सफल भए।

एक्कासि त्याग्नेमध्ये २२ प्रतिशत सहभागीले ६ महिनापछि पनि धूमपान नगरेको पाइयो भने बिस्तारै त्याग्नेमध्ये १५ प्रतिशतले मात्र।

रोचक कुरा के छ भने, धेरैजसोले एक्कासिभन्दा बिस्तारै–बिस्तारै धूमपान छाड्ने चाहेको बताए। तर, धूमपान त्याग्नमा कुनै व्यक्तिको निजी छनोटले सफलतामा खासै फरक नपार्ने अनुसन्धानले देखायो। ‘धूमपानको लत लागेकाहरूले बिस्तारै छाड्न चाहे पनि एक्कासि छाडे मात्र धूमपानको लतबाट मुक्त हुने सम्भावना बढी हुन्छ,’ भन्छिन् निकोल।

अनुसन्धानकर्ताले धूमपान त्याग्ने इ–सिगरेट (जसलाई अझै पूर्ण रुपमा प्रभावकारी भएको प्रमाणित गर्न बाँकी छ) जस्ता अन्य उपायलाई अनुसन्धानमा सामेल गरेका थिएनन्। निकोल भन्छिन्, ‘एक्कासि छाड्नु धूमपानको लतबाट मुक्त हुने उत्तम उपाय भए पनि हामीले बिस्तारै–बिस्तारै धूमपान छाड्ने समूहको प्रगति पनि सन्तोषजनक पायौं।’ आगामी अनुसन्धान बिस्तारै धूमपान छाड्ने उपाय अझ बढी प्रभावकारी बनाउन सकिन्छ कि भनेर त्यसमा केन्द्रित गर्ने योजना उनले बनाएकी छिन्।

निकोलले भनिन्, ‘धूमपानका त्यस्ता अम्मलीहरू जो आफूले एक्कासि धूमपान छाड्न नसक्ने र बिस्तारै त्यसको अम्मलबाट मुक्त हुन चाहन्छन्, उनीहरूलाई पनि धूमपानमुक्त बनाउन हामीले सघाउन आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस्