फराकिलो जितसँगै पीएसजी नकआउट चरणमा



 

लन्डन, (एजेन्सी)
युएफा च्याम्पियन्स लिगको समूह ‘बी’ को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बेल्जियमको एन्डरलेक्टलाई ५–० गोलअन्तरले हराएर नकआउट चरणमा पुगेको छ ।

मंगलबार भएको खेलमा जित्न फ्रेन्च क्लब पीएसजीको लागि डिफेन्डर लेभिन कुर्जावाले ह्याट्रिक गरेका थिए । कुर्जावाले च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने पहिलो डिफेन्डर बनेर प्रतियोगितामा इतिहास पनि रचे । उनले तीनै गोल दोस्रो हाफमा गरेका थिए । शुरुआती आधा घण्टा टोलीको लागि संघर्षरत भएको थियो । तर ३० औँ मिनेटमा पहिलो गोल गरेपछि पीएसजीको खेलमा नियन्त्रण बनेको थियो ।

किलियन बाप्पेको पासमा मार्को भेराट्टिले गोल गर्दै पिएसजी १–० को अग्रतामा पुगेको थियो । त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा डि एरिया बाहिरबाट सुन्दर गोल गर्दै नेयमारले घरेलु टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा भने डिफेन्डर कुर्जावाले टोलीको गोलसंख्या पाँच पुर्याए । उनले ५२औँ मिनेटमा आफनो पहिलो गोल गरे । ७२औँ मिनेटमा हेडमार्फत टोलीको चौथो गोल गरेपछि उनले ७८औँ मिनेटमो डी एरियाभित्र गरेको प्रहार गोलमा परिणत भएपछि ह्याट्रिक पूरा भएको थियो ।

यसै समूहको अर्को खेलमा बायर्न म्युनिखले स्कटिश च्याम्पियन सेल्टिकलाई २–१ ले हराएर अन्तिम १६ स्थान लगभग सुरक्षित गर्यो । जर्मन टोलीको जितमा किङस्ली कोम्यानले २२औं मिनेटमा गोल गरेका थिए । तर ७४औं मिनेटमा मेकग्रेगोरले गोल गर्दै सेल्टिकलाई खेलमा फर्काए । सो बराबरी गोल भएको तीन मिनेट नबित्दै जाभी मार्टिनेजले म्यूनिखका तर्फबाट विजयी गोल गरेका थिए ।
चार खेलमा शतप्रतिशत नतिजा निकालेको पिएसजीले ४ खेलबाट १२ अंक लिएर अन्तिम १६ मा स्थान पक्का गरेको छ । दोस्रोमा रहेको बायर्नको ९ अंक छ भने सेल्टिकसँग ३ अंक रहेको छ । सेल्टिकले बाँकी दुई खेल नै ठूलो अन्तरले जित्नु पर्ने हुँदा बायर्नको लागि अर्को चरण करिब पक्का भएको छ ।

युनाइटेडलाई एक अंक आवश्यक

च्याम्पियन्स लिगअन्तर्गत समूह ‘ए’ को शीर्ष टोली म्यानचेस्टर युनाइटेडको लागि चौथो खेलमा पनि जितेपछि नकआउटमा पुग्न एक अंक आवश्यक भएको छ । यूनाइटेडले आफनै घरेलु मैदान ओल्ड ट्राफोर्डमा पोर्चुगलको बेन्फिकालाई २–० ले हरायो । युनाइटेडको जितमा डेले ब्लाईन्डले ७८ औं मिनेटमा प्राप्त पेनाल्टीमा एक गोल गर्दा अर्को गोल विपक्षीले पहिलो हाफमा आत्मघाती गोलको उपहार दिएको थियो ।
यसै समूहको अर्को खेलमा रसियाको सीएसके मास्कोले स्विजरल्याण्डको एफसी बासेललाई २–१ ले पराजित गर्दै तीन अंक बटुल्यो । हारका बावजूद पनि समान चार खेलबाट मास्को सँगै समान ६ अंक जोडेर गोल भिन्नताको आधारमा बासेल समूहको दोस्रो स्थानमा रहेको छ । युनाइटेड भने चार खेलमा १२ अंक जोडेर अन्तिम १६ निकट पुगेको छ ।

चेल्सी पराजित
युरोपा लिग जितेर च्याम्पियन्स लिगमा स्थान बनाएको युनाइटेडले जित्दा अर्को प्रिमियर लिग टोली चेल्सी भने पराजित भयो । समूह सी को खेलमा चेल्सी इटालियन टोली एएस रोमासँग ३–० ले हार्न पुगेको थियो । स्टेफेन एल शारावीले खेलको पहिलो मिनटमै गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलाए । राड्जा नाइगोलानको पासको सदुपयोग गर्दै एल शारावीले नै ३६औँ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेपछि रोमाको अग्रता दोब्बर बनेको थियो ।

त्यस्तै खेलको ६३ औँ मिनेटमा एलेक्जेन्डर कोलारोभको पासमा डिएगो पेरोट्टिले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए । यसै समूहको अर्को खेलमा स्पेनको एट्लेटिको मेड्रिड र एफके क्वाराबागले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । रोमा चार खेलपछि ८ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । चेल्सीको ७ अंक छ भने एटलेटिको र क्वाराबागसँग क्रमशः ३ र २ अंक साथमा छन् ।
बार्सिलोना र युभेन्टस बराबरीमा
यसैगरी समूह डी को खेलमा गोलरहित बराबरीको नतिजा निकाल्दै स्पेनी ला लिगा टोली बार्सिलोनाले ग्रीसको ओलम्पियाकोससँग अंक बाँडेका छन् । च्याम्पियन्स लिगको समूह चरणमा बार्सिलोना पाँच वर्षमा पहिलो पटक गोल गर्नबाट चुकेको हो । बार्सिलोनाले यसअघि सन् २०१२ मा बेन्फिकासँग समूह चरणमा गोल गर्न असफल भएको थियो ।

मंगलबारको खेलमा बार्सिलोनाका मिडफिल्डर सर्जी रोबर्टो समेत चोटग्रस्त बने । रोबोर्टो पहिलो हाफको अन्त्यतिर तिघ्रामा चोट लिएर मैदानबाट बाहिरिएका थिए । तर बराबरीको नतिजा आत्मसात गरेपनि बार्सिलोना समूहको शीर्ष स्थानमा यथावत नै छ । चार खेलबाटे १० अंक जोडेको बार्सिलोनाको लागि अन्तिम १६ पुग्ने तय छ । अर्को खेलमा एक अंक नै समूह चरण पार गर्न काफी हुनेछ । यसै समूहको दोस्रो स्थानमा रहेको इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सले पोर्चुगलको स्पोर्टिङ लिस्बनसँग १–१ को बराबरी खेलेको थियो । उक्त बराबरीपछि युभेन्टसको चार खेलबाट सात अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्