“महिला योगदानको कदर भएन”



 

कुमार श्रेष्ठ, बाँके
पार्टीहरूमा गोजीमा गाँठ र मार्न सक्ने आँट भएकाले मात्रै टिकट पाउने प्रवृत्तिको विकास भएकोमा महिला नेतृहरूले आक्रोश पोखेका छन्।

जागरण नेपालले पाँच जिल्लाका महिला नेतृलाई सहभागी गराएर बुधबार नेपालगन्जमा आयोजना गरेको ‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा महिला सहभागिता’ विषयक सरोकारवाला बीचको अन्तरक्रियामा उनीहरूले पार्टीमा योगदान, त्यागभन्दा पनि नातावाद, कृपावाद र पैसावादको पछाडि सबै पार्टी लागेको टिप्पणी गरे।

कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, संघीय समाजवादी फोरमका महिला नेतृहरूले केही महिला परिहाले पनि पार्टीहरूले अहोरात्र खटेकालाई नभई संघ–संस्थामा लागेको, पार्टीको सदस्य नै नभएकोलाई टपक्क टिपेर ल्याउने गरेको दुःखेसो पोखे। उनीहरूले प्रत्यक्ष र समानुपातिकमा निश्चित प्रतिशत महिला अनिवार्य हुनुपर्छ भन्ने ग्यारेन्टी गर्नुपर्नेमा जोड दिए। ३३ प्रतिशत महिलाको अनिवार्य सहभागिता भनिए पनि अहिले पार्टीहरूले समानुपातिकमा महिलालाई राख्ने गरेका छन्। प्रत्यक्षमा केहीले मात्रै टिकट पाएका छन्।

नेपाली कांग्रेसकी नेतृ मीना सिग्देलले स्थानीय निकायको चुनावका बेला कोहलपुर नगरपालिकाको उपमेयरका लागि २० दिनसम्म नेताको घरमा धाएर बस्दासमेत आफूलाई नभई पार्टी सदस्य नै नभएकालाई उम्मेदवार बनाएको टिप्पणी गर्नुभयो। ‘अहिले मेरो नाम क्षेत्र नं. १ को ‘ख’ बाट प्रदेशसभाका लागि समानुपातिकमा जिल्लाबाट सिफारिस भएको छ, पाउने आशा छैन, सिग्देलले भन्नुभयो– ‘पार्टीहरूले त्याग, तपस्या, योगदान नहेर्दा महिला पछाडि परेका छन्।’

सुर्खेतकी पार्वती गिरीले महिलाको योग्यता, क्षमता र लगानीको मूल्यांकन नभएको बताउनुभयो। ‘नाता र दाता छैनन् भने अहिले महिलाले अवसर पाउन गाह्रो छ’, गिरीले भन्नुभयो– ‘जिल्लाबाट नै मूल्यांकन गरेर सिफारिस गर्ने र केन्द्रले त्यसलाई सदर गर्ने परिपाटी बनाउनुपर्छ। बीच बाटोमै सिफारिस हुने परिपाटीको अन्त्य हुनुपर्छ।’

दाङकी हुमा डीसीले क्षेत्र नं. २ ‘क’ बाट आफ्नो नाम सिफारिस भए पनि बाटोमै हराएको बताउनुभयो। एमालेकी २०५४ सालकी वडा सदस्य डीसीले महिला जहिले पनि राजनीतिक हिंसामा पर्ने गरेको बताउनुभयो।
बर्दियाकी माओवादी केन्द्रकी नेतृ मिथिला फुयालले महिलालाई पार्टीहरूले देखाउने दाँतमात्रै बनाइरहे ५⁄१० वर्षमा महिलाहरूको मात्रै छुट्टै पार्टी बन्ने उद्घोष गर्नुभयो। दाङकी बालिका लम्साल र लक्ष्मीसिंह ठकुरी, दैलेखकी प्रभा सिजापति, नरमा गुरुङ र प्रभा सिजापति, बाँकेकी मोमिना खातुन, विजया धिताल र उषा पुन, सुर्खेतकी पुष्पा घर्तीमगर र राजु नेपाली, बर्दियाकी रूपा अधिकारीलगायत महिलाले पार्टीमा चाकडीबाज, गुटबन्दी, आसेपासे, तेरो र मेरो भन्ने भावनाको अन्त्य गर्नुपर्नेमा जोड दिए।

महिला नेतृले राखेको जिज्ञासाबारेमा एमालेका अध्यक्ष अशोक कोइराला, कांग्रेसका जिल्ला सदस्य सुधांशु कोइराला, माओवादी केन्द्रका जिल्ला इन्चार्ज आईपी खरेल, राजपाका उपाध्यक्ष विजय गुप्ता, जनमोर्चाका जिल्ला उपाध्यक्ष कृष्ण पाण्डेले प्रस्ट्याएका थिए। नेताहरूले जनताले पनि पैसा नहुने उम्मेदवारलाई पत्याउन छोडेको तीतो यथार्थ पोखे। ‘पुरुषहरू पनि नाता कि पैसावाल हुनुपर्छ, यदि छैनन् भने नेताले हेप्छन् नै, जनताले समेत पत्याउँदैनन्’ –नेतृहरूले भनेका छन्। उनीहरूले प्रत्यक्षमा नभए पनि ३३ प्रतिशत महिला पुर्याउन अनिवार्य भएको बताए।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारूले पार्टीहरूमा महिला सहभागिता तथा विगतमा चुनावमा महिलाको प्रतिनिधित्वको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। जागरण नेपालकी व्यवस्थापक मीना विष्टले पार्टीहरूमा महिलाको प्रतिनिधित्व निरासाजनक रहेको बताउनुभयो। अन्तरक्रियामा बाँके, बर्दिया, दाङ, सुर्खेत र दैलेखका महिल नेतृहरूको सहभागिता रहेको थियो। पार्टीको उच्च तहमा रहेका तथा चुनावहरूमा नाम सिफारिसमा पर्ने नेतृहरू सहभागी थिए। त्यसपछि जागरण नेपालले पाँच जिल्लाका महिला नेतृहरूलाई ३ दिनसम्म नेतृत्व विकासदेखि सहभागिताका सवालमा अभिमुखीकरण गरेको कोषाध्यक्ष लीला शर्माले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्