जनताले नपत्याउने आश्वासन बाँड्दै उम्मेदवार



 

नन्दराम जैशी, जुम्ला

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जुम्लाका राजनीतिक दलहरु उम्मेदवारसहित चुनावि प्रचारप्रसार गर्दै भोट माग्न गाउँ पसेका छन्। अन्य समयमा शहर केन्द्रित हुने दलका नेता कार्यकर्ता हिजोआज निर्वाचन प्रचारप्रसारका लागि गाउँ पसेपछि सदरमुकाममा राजनीतिक दलहरुको उपस्थिति शून्य जस्तै छ। जनतालाई नपत्याउने आश्वासन बाँड्दै भोट माग्न गाउँ पसेका दलहरु निर्वाचनमा आ–आफ्नै पार्टीका उम्मेदवारले जित्ने दाबी गरेका छन्।

विशेष गरी निर्वाचनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। जुम्लामा प्रदेश सभाका लागि २ निर्वाचन क्षेत्र र प्रतिनिधि सभाका लागि १ निर्वाचन क्षेत्र तोकिएको छ। दलहरुले चुनाव प्रचारका लागि आ–आफ्नो पार्टीमा प्रचार टोली गठन गरेका छन्। वाम गठबन्धनले १४ सदस्यीय सचिवालय समिति गठन गरेको छ। जसमा एमालेबाट ७ र माओवादीबाट ७ जना गरी १४ जनाको सचिवालयसमेत गठन गरी चुनावी प्रचार अभियान थालेका हुन्। भने लोकतान्त्रिक गठबन्धन आफ्नो आन्तरिक तयारीमा समेत जुटिसकेको अवस्था छ।

वाम गबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि गजेन्द्रबहादुर महत कार्मा उम्मेदवार हुनुहुन्छ। २०७० सालको संविधान सभाको निर्वाचनमा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फको उम्मेदवार बन्नुभएका महत त्यो बेला झिनो मतले पराजित हुनुभएको थियो। माओवादी पोलिट ब्युरो सदस्यसमेत रहनुभएका उहाँ अहिलेसम्म राजनीतिक हिसाबले विवादमा आउनुभएको छैन।

वाम गठबन्धनबाट प्रदेश सभा सदस्यका लागि क्षेत्र नं १ बाट पूर्वसांसद तथा माओवादी पोलिट ब्युरो सदस्य नरेश भण्डारी उम्मेदवार बन्नुभएको छ। बुद्धिजीवि संगठनका केन्द्रीय अध्यक्षसमेत रहनुभएका भण्डारी २०६४ सालको निर्वाचनमा निर्वाचित भएर जनताको मन जित्दै लोकप्रियता कायम गर्नुभएको थियो। भण्डारीकै पहलमा जुम्लामा नेपालको चौथो स्थानको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल स्थापना भएको छ।

वाम गठबन्धनबाट प्रदेश सभा सदस्यका लागि क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएका पदमबहादुर रोकाया २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा कांगे्रससँग पराजय हुनुभएको थियो। त्यसयता सक्रिय राजनीतिमा संलग्न रोकाया अहिले वाम गठबन्धनबाट प्रदेशसभा लागि निर्वाचन लड्दै हुनुहुन्छ।

यसै गरी लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि देवेन्द्रबहादुर शाही उम्मेदवार बन्नुभएको छ। नेपाली कांग्रेसका कर्मठ र निडर नेताका रूपमा परिचित शाही निर्माण व्यवसायीका रूपमा पनि त्यत्तिकै परिचित हुनुहुन्छ। क्षेत्र नं १ मा लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा सदस्यका लागि राजुसिंह कठायत उम्मेदवार बन्नुभएको छ। निर्माण व्यवसायिका रूपमा पोख्त कठायत राजनीतिमा त्यति चर्चामा आएका थिएनन्।

नेपाली कांग्रेसकै तर्फबाट प्रदेश सभा २ सिंजा क्षेत्रबाट उम्मेदवारी दिनुभएका भीमनिधि हमालको नाम पनि राजनीतिक क्षेत्रमा त्यति चर्चामा आएको नाम होइन। यस्तै नेमकिपा जुम्लाको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार डिल्ली प्रसाद काफ्ले समानुपातिकतर्फको भूतपूर्व सांसद हुनुहुन्छ। नेमकिपाकै प्रदेश सभा १ बाट प्रत्यक्षतर्फ शिवलाल डाँगी र प्रदेश सभा २ बाट गोर्खबहादुर बुढा उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

चुनाव जित्ने आ–आफ्नै दाबी

देशमा स्थायी सरकार निर्माण गर्न
वाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गजेन्द्रबहादुर महत (कार्मा) ले आफूले चुनाव जितेमा देशमा स्थायी सरकार निर्माण गर्ने बताउनुभएको छ। उहाँले भन्नुभयो– ‘देशमा अस्थायी सरकारका कारण विकासमा असर परेको छ। विकासका लागि स्थायी सरकार निर्माण गर्नु आवश्यक छ। मैले चुनाव जितेमा स्थायी सरकार निर्माणमा मुख्य भूमिका खेल्नेछु। अनि मात्र देश र जिल्लाको विकास हुन्छ। राजनीतिक अस्थिरता र अस्थायी सरकार नै विकासका बाधक हुन्,’ त्यसको अन्त्यका लागि पहल चाल्ने उम्मेदवार महतको भनाइ छ।

उहाँले भन्नुभयो– ‘जनताले मलाई चुनाव जिताएमा जुम्लाको विकास निर्माण, स्वास्थ्य, शिक्षा र विद्युतीय समस्या समाधान गर्नेछु।’ कृषि, पर्यटन, उत्पादनमूलक उद्योग र नयाँ व्यापार योग्य ठाउँको सम्भावना तथा जोखिमका पक्ष समेटी योजना बनाउने र सोहीअनुसार कार्यान्वयन गर्नमा जोड दिने उहाँको भनाइ छ।

६ नम्बर प्रदेशको समृद्धि र विकास गर्न
वाम गठबन्धनतर्फ प्रदेशसभा सदस्यका लागि क्षेत्र नं १ का उम्मेदवार नरेश भण्डारीले मुख्य मन्त्री बनेर ६ नम्बर प्रदेशको समृद्धि र विकास गर्न आफू चुनावी मैदानमा उत्रिएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘विजय सुनिश्चित छ। चुनाव जितेर मुख्य मन्त्रीका रूपमा काम गर्दै ६ नं प्रदेशको समृद्धि र विकासको अभियानमा लाग्नेछु। सोहीअनुसार रणनीति बनाएर ६ नं प्रदेश देशकै नमुना प्रदेशका रूपमा विकास गर्नेछु।’

अन्य प्रदेशको तुलनामा विकसका दृष्टिले ६ नं प्रदेशपछि रहे पनि संभावनाका दृष्टिले अहिले पनि देशकै शक्तिशाली प्रदेश रहेको भण्डारीको भनाइ छ। कर्णालीमा रहेको जलस्रोत, जटिबुटि, गैरकाष्ठ वन पैदावरलगायत प्राकृतिक स्रोतहरुको संरक्षण गरी सही सदुपयोग गर्दै बढ्दो बेरोजगार अन्त्य गर्ने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘आफ्नो सपना कार्यान्वयनका लागि जनताले भारी मतले विजयी गराउनेमा म विश्वस्त छु। प्रदेशको नेतृत्व गर्ने अवसर जुम्ली जनताले जुटाइदिनेछन्। चुनावी खेलमा धेरै नेताहरु मैदान उत्रिए पनि जनताले आफूलाई न्याय गर्ने व्यक्तिलाई भोट दिनेछन्, त्यसका लागि म सक्षम छु –भण्डारीले भन्नुभयो। प्रदेश नं ६ कै जनताको एक मात्र आशा र भरोसा आफू मात्र भएको उहाँको दाबी छ।

संविधान संशोधन गराउन
नेमकिपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्वसांसद डिल्लीप्रसाद काफ्लेले जनताको अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन गराउन आफूले उम्मेदवारी दिएको बताउनुभयो। चुनाव जितेमा संविधान संशोधन गराई वैदेशिक हस्तक्षेप रोक्न भूमिका खेल्ने उहाँको भनाइ छ। जनताको आधारभूत आवश्यकता तत्काल परिपूर्ति गर्दै सिंजा क्षेत्रका हरेक गाउँमा पक्की सडक निर्माण गरी नागरिक बिरामी हुँदा सहजै स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उहाँले आश्वासन दिनुभयो।

जिल्लाको विकासमा नेतृत्व लिन
लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवेन्द्रबहादुर शाहीले प्रतिनिधि सभा सदस्यमा आफू निर्वाचित हुने दाबी गर्दै आफूले चुनाव जितेमा जिल्लाको विकास निर्माणले मुहार फेर्ने बताउनुभएको छ। यस अघिका निर्वाचित सांसदहरुले जिल्लाको विकास निर्माणमा सक्रिय भूमिका नखेलेको आरोप लगाउँदै उहाँले त्यसको नेतृत्व आफूले गर्ने बताउनुभयो। यसअघि आफूले निर्माण व्यवसायी भएर जनतालाई गरेको सेवाका आधारमा आफूले चुनाव जित्ने उहाँको दाबी छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनसेवाको राजनीति आवाश्यक रहेको औंल्याउँदै जसको उदाहरण सबै पाटीको नेतृत्व गर्दै नेपाली कांग्रेसबाट आफूले सम्हाल्न सक्ने तर्क गर्नुभयो। उम्मेदवार शाहीले भन्नुभयो, ‘म सहजै चुनाव जित्छु, र जिल्लाको पर्यटन, कृषि, औधोगिक, शिक्षा, स्वास्थ्य, विद्युत् र संचार क्षेत्रको विकासका लागि पहल गर्नुका साथै मुख्य भूमिका खेल्नेछु। चुनाव जितेमा उर्जा क्षेत्रमा मुख्य प्राथामिकता दिने र सडक संजाल विस्तार तथा मर्मत गर्दै जुम्लालाई उर्थु हुँदै मुगु रारा र डोल्पा जोड्न तत्काल सडक विस्तारको अभियान संचालन गर्ने उम्मेदवार शाहीले बताउनुभयो।

लोकतान्त्रिक समाजवाद स्थापना गर्न
लोकतान्त्रिक गठन्धनबाट प्रदेशसभा सदस्यका उम्मेदवार राजुसिंह कठायतले जुम्लामा बेरोजगारको अन्त्य गर्न चुनाव जितेर कम्युनिस्टसहितको लोकतान्त्रिक समाजवाद स्थापना गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘बढ्दो बेरोजगार र गरिबिका कारण विभिन्न घटना तथा विकृति फैलिएका छन्। त्यसको अन्त्यका लागि चुनाव जितेर सोहीअनुसार नीति कार्यक्रम गर्नेछु। मैले चुनाव जितेमा जुम्लामा बेरोजगार संख्या अन्त्य हुनेछ।’ त्यसका लागि कम्युनिस्टसहितको लोकतान्त्रिक समाजवाद स्थापना गर्ने कठायतको भनाइ छ। चुनावमा म वाम गठबन्धनदेखि डराएको छैन। गठबन्धन मिथ्या कुरा हो। यसले एमालेलाई घाटा भएको छ। गठबन्धन दीगो हुँदैन। पदको लाभका कारण माओवादीको रणनीति हो’, भन्नुभयो। समग्र जिल्लाको विकास निर्माणमा पहिलेदेखि लागि परेको दाबी गर्दै प्रदेश सभा सदस्य कठायतको तर्क छ। नेपाली कांग्रेस विभिन्न कालखण्डमा राणाहरु हुँदै कम्युनिस्टसँग लड्दै आएकाले अब वाम गठबन्धनसँगको वैचारिक लडाँइ जित्ने उहाँले दाबी गर्नुभयो। नयाँ आर्थिक अवसरको पहिचान गरी व्यापक उत्पादन वृद्धि, रोजगारी सिर्जना र समावेशी समृद्धिलाई अभियानका रूपमा अगाडि बढाउने र युवा, महिला उद्यमीको परिचालन, कृषिको आधुनिकीकरण, पर्यटनको विकास, उद्योगको द्रूत विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापक लगानी परिचालन गर्ने योजना बनाउने उम्मेदवार कठायतले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्