जो मधेसवादी दलमा टिकेनन् धरापमा मधेसवादी दल



 

बीपी साह, काठमाडौं
नेपाली कांग्रेसको विभाजन भई २००८ सालमा गठन भएको तराई कांग्रेसले मधेसवादी राजनीतिको थालनी गर्यो। तर उक्त दल पनि केही वर्षमै समाप्त भयो। लामो समयको अन्तरालपछि २०४६ सालबाट मधेस केन्द्रित दल नेपाल सद्भावना पार्टीको विस्तार भयो। तर अहिले सद्भावना पनि समाप्त भएर सद्भावनाका नेताहरू राष्ट्रिय राजनीतिको दौडमा लागेका छन्।

पहिलो मधेस आन्दोलनबाट ‘मधेस’ शब्द राखेरै उपेन्द्र यादवसहितले राजनीति शुरु गरे पनि पछिल्लो समय यादव पनि राष्ट्रिय राजनीतिको दौडमा छन्। मधेसवादी मानिएका प्रमुख दुई दलले पार्टीको नामबाट मधेस शब्द हटाउनका साथै विधानमा पनि राष्ट्रिय पार्टीका रूपमा आफूलाई चित्रण गरेका छन्। मधेसवादी राजनीतिक दलमा परिवर्तनसँगै मधेसवादी दलका नेताहरू पनि ‘वाद’ र संगठन परिवर्तनमा होमिएका छन्। जसले गर्दा मधेसवादी राजनीतिसँगै मधेसवादी नेताहरू पनि धरापमा परेका छन्।

पहिलो र दोस्रो मधेस आन्दोलनपश्चात् मधेसवादी राजनीतिले सिंगो नेपालकै राजनीतिलाई डोहोर्याउन थालेको थियो। जसमा दर्जनौंको संख्यामा नयाँ अनुहारका नेता देखा परेका थिए।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी र राप्रपाबाट कयौं मधेसी मूलका नेताहरू मधेसवादी राजनीतिमा आए। तर संविधान निर्माणदेखि कार्यान्वयनसम्ममा आउँदा अधिकांश नेताले मधेसवादी राजनीतिलाई त्यागेका छन्।

पहिलो मधेस आन्दोलनमै उदय भएको मधेसी जनअधिकार फोरम नेपालमा नेपाली कांग्रेस परित्याग गरी विजयकुमार गच्छदार प्रवेश गरेका थिए। उनी ठूलै हैंसियतमा थिए। पार्टी अध्यक्ष उपेन्द्र यादवसँग सरकारमा सहभागिताको विषयमा विवाद हुँदा गच्छदारले फोरम विभाजन गरेर मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) गठन गरेका थिए। दोस्रो संविधानसभाको निर्वाचनमा उनले सम्मानजनक मत पाए पनि संविधान कार्यान्वयनको संसदीय निर्वाचनसम्म आउँदा उनी पुनः कांग्रेसमै फर्किएका छन्।

फोरमको उदयसँगै मधेसवादी राजनीतिबाट मधेसवादी राजनीतिमै आएका रामेश्वर राय यादव पनि माओवादी केन्द्रमा गएका छन्। मधेसवादी राजनीतिबाट उनी मन्त्रीसमेत भएका थिए।

मधेसवादी राजनीतिकै महत्त्वपूर्ण नेता हृदयेश त्रिपाठी पनि एमालेमा समाहित भएका छन्। तराई–मधेस लोकतान्त्रिक पार्टीमा दोस्रो ठूलो हैंसियत राख्ने त्रिपाठी राजपा निर्माणमा असन्तुष्टि जनाइ एमालेमा गएका छन्। मधेसवादी राजनीतिका अगुवा स्व.गजेन्द्रनारायण सिंहसँगै काम गर्ने नेतामध्येका एक त्रिपाठी थिए।

त्यस्तै, पहिलो मधेस आन्दोलनसँगै उदाएका अभिशेष प्रताप शाह पनि नेपाली कांग्रेसमा गएका छन्। मधेसी जनअधिकार फोरम नेपालबाट संविधानसभाको दुईवटै निर्वाचन जितेका शाह पार्टीको आन्तरिक विवादपछि कांग्रेसमा गएका हुन्।

त्यस्तै, कपिलवस्तुकै अर्का नेता बृजेश गुप्ता पनि एमालेमा समाहित भएका छन्। मधेस आन्दोलनबाट स्थापित गुप्ता पनि संविधानसभाको दुवै निर्वाचनमा जितेका थिए। एकताका कानुनमन्त्री भएर चर्चामा आएका गुप्ता राजपा गठनबाट असन्तुष्ट भई एमालेमा गएका हुन्।
त्यस्तै, दोस्रो संविधानसभाको निर्वाचनमा सर्लाहीबाट चुनाव जितेका जंगिलाल राय यादवले पनि मधेसवादी पार्टी छोडेका छन्। उनी पनि वाम गठबन्धनबाट चुनाव लड्दै छन्।

त्यस्तै, राजपाका उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारी पनि एमालेमा प्रवेश गरेका छन्। रूपन्देहीको मर्चवारमा आयोजित एक कार्यक्रमका बीच यादव एमालेमा प्रवेश गरेका हुन्। मधेस आन्दोलनबाट उदय भएका नेतामध्ये यादव पनि एक हुन्।

अन्य कैयौं केन्द्रीय नेताहरू मधेसवादी राजनीति त्यागेर अन्य दलमा गएका छन्। चुनाव जित्न र अन्य अवसरको खोजीमा नेताहरू विभिन्न पार्टीमा गएको राजपाका नेता लक्ष्मण लाल कर्ण बताउनुहुन्छ। उहाँका अनुसार एजेन्डाका आधारमा कुनै नेताले पार्टी त्यागेको छैन। अधिकांश नेताहरू व्यक्तिगत फाइदाका लागि मधेसवादी दल छोडेको कर्ण बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्